|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय तहमा नै योग शिक्षाको अध्ययन–अध्यापन गराउन सरकारले भूमिका खेल्ने बताएका छन्।

आइतबार आठौँ राष्ट्रिय योग दिवसका अवसरमा भक्तपुरमा आयोजित कार्यक्रममा उनले मानिसलाई मानसिक रूपले तन्दुरुस्त बनाउन विद्यालय तहमा नै योग शिक्षाको अध्ययन गराउनुपर्ने बताए। 

विद्यालय र विश्वविद्यालय तहमै योग शिक्षालाई प्राथमिकता दिएर अघि बढाउन सके नेपालबाट संसारभर योग प्रशिक्षक दिन र नेपाललाई नयाँ पहिचान दिन सक्ने उनले उल्लेख गरे।

भौतिक विकासले मात्र मानिस सम्पन्न बन्न नसक्ने भन्दै उनले योग शिक्षाबाट नै आध्यात्मिक, मनोवैज्ञानिक चेतनाको विकास अपरिहार्य भएको बताए। 

भौतिक रूपले सम्पन्न देशहरूमा धेरै डिप्रेसन र आत्महत्याका घटनाहरू भएको भन्दै उनले मानसिक रूपमा पनि चुस्त रहन आवश्यक रहेको उल्लेख गरे। 

मानिसको आध्यात्मिक चिन्तन, मनोविज्ञान, ध्यान, योगको कमीका कारण आइरहेका समस्या समाधान गर्न योग, ध्यान र साधनाको आवश्यक रहेको उनको भनाइ छ। अहिले सारा विश्व, योग, ध्यान र साधनातिर केन्द्रित रहेको भन्दै योग र साधना नेपालको संस्कृति, सम्पदा र पहिचानको आधार भएको उनले बताए। 

उनले भने,  ‘पूर्वीय सभ्यताको आधारशीला योग र ध्यान, आध्यात्मिक चिन्तनलाई मानिन्छ। अहिले पूरै संसार नै योग र ध्यानतिर आकर्षित र केन्द्रित छ। पूर्वीय सभ्यताको पनि नेपाल त्यसको धरोहर हो भन्न पाउँदा हामी सबै नेपालीलाई गर्वको महसुस हुन्छ। हाम्रो इतिहास, संस्कृति, परम्परामा योग र ध्यानसँगै नै अन्तर्निहित रहेका छन्। हाम्रो सांस्कृतिक धरोहरहरू हेर्‍यो भने मठ, मन्दिर, गुम्बा सबैमा पनि योग आधारित भएर बनेका थिए। त्यसकारण नेपालमा योग, ध्यान र आध्यात्मिक चिन्तनको परम्परा धेरै पुरानो परम्परा हो। हाम्रो संस्कृति, सम्पदा र पहिचानको आधार हो।’ 

प्रधानमन्त्री प्रचण्डले योग शिक्षालाई जनस्तरमा पुर्‍याउन सरकारका तर्फबाट संस्थागत व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।  उनले संस्कृति, पहिचान र परम्पराको जगेर्ना गर्न र आफू चुस्त रहन योग शिक्षालाई संरक्षण गर्न आवश्यक भएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.