|

इटहरी : सुदूरपश्चिम प्रदेश र प्रदेश १ ले इटहरीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो खेल जितेका छन्।

इटहरीको जनता क्रिकेट पार्कमा सोमबार भएको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ९ विकेट तथा पहिलो खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशमाथि ९ रनको रोमाञ्चक जित हात पार्दा दुवै टोलीले जारी प्रतियोगितामा लगातार दोस्रो खेल जितेका हुन्।

यो जितसँगै समूह ‘ए’ को सुदूरपश्चिमले २ खेलमा ४ अंक जोड्दा गण्डकीले लगातार दोस्रो हार बेहोरेको छ। पहिलो खेलमा सुदूरपश्चिमले वागमती प्रदेशलाई ३३ रनले हराउँदा गण्डकी विभागीय टोली एपिएफसँग सात विकेटले पराजित भएको थियो।

सोमबार गण्डकीले दिएको ६१ रनको लक्ष्य सुदूरपश्चिमले ११ ओभरमै १ विकेटको क्षतिमा भेट्टायो। सुदूरपश्चिमका लागि  कप्तान विन्दु रावलले ४३ बलमा ८ चौकाको मद्दतमा अविजित ४६ रनको पारी खेलिन्। शोभा रोकाय ८ रनमा अविजित रहिन्।

गण्डकीका लागि एकमात्र विकेट निरुता जिटीले हात पारिन्।

यसअघि टस जितेर ब्याटिङ रोजेको गण्डकीले पूरै २० ओभरमा ९ विकेटको क्षतिमा ६० रनको योगफल बनाएको थियो। गण्डकीका लागि सिमान केसीले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

बलिङतर्फ सुदूरपश्चिमका लागि मनिषा चौधरीले ४ तथा स्नेहा महरा र ईश्वरी बिष्टले १/१ विकेट लिए।

लुम्बिनीलाई पराजित गर्‍यो प्रदेश १ ले

प्रतियोािगताअन्तर्गत सोमबार नै भएको पहिलो खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशमाथि ९ रनको रोमाञ्चक जित हात पार्न सफल भयो। इटहरीको जनता पार्कमा ढिलो शुरु भएको खेलमा लुम्बिनी प्रदेशलाई ९ रनले हराउँदै प्रदेश १ ले लगातार दोस्रो जित निकालेको हो।

मैदान ओसिलो भएपछि ९ ओभरमा झारिएको खेलमा प्रदेश १ ले लुम्बिनीलाई जितका लागि ६० रनको लक्ष्य दिएको थियो।

जवाफी ब्याटिङ गरेको लुम्बिनीले पूरै ९ ओभरको समाप्तिमा ७ विकेट गुमाएर ५० रनमात्र जोड्न सक्यो। लुम्बिनीका लागि ओपनर लक्ष्मी चौधरीले सर्वाधिक ३१ रन जोडेकी थिइन्। १७ बल सामना गरेकी लक्ष्मीले ४ चौका र १ छक्का प्रहार गरिन्। कप्तान सरस्वती जिएमले ६ रन जोड्नुबाहेक अन्य खेलाडीले राम्रो स्कोर बनाउन सकेनन्।

रोमाञ्चक जित निकाल्न कसिलो बलिङ गरेको प्रदेश १ का लागि संगीता राईले सर्वाधिक ३ विकेट लिँदा सबनम राई, ज्योती दनुवार र रुबिना क्षेत्रीले १/१ विकेट हात पारे।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश १ ले छोट्याइएको ९ ओभरमा ४ विकेट गुमाएर ५९ रन बनाएको थियो।

काजल श्रेष्ठले सर्वाधिक २१ रनको पारी खेल्दा कप्तान रुबिना क्षेत्रीले १७ रन जोडिन्। ​अप्सरी बेगमले १२ रन जोड्दा स्मृति कटुवाल र सबनम राई क्रमशः ४ र १ रनमा अविजित रहे।

प्रदेश १ को ४ विकेट निकाल्ने क्रममा लुम्बिनीकी कृतिका मरासिनी, सरस्वती पुन र विभष्णा बिसीले १/१ विकेट लिए। यस जितसँगै प्रदेश १ ले २ खेलमा ४ अंक जोडेको छ। प्रदेश १ समूह बी को शीर्ष स्थानमा रहेको छ।

प्रतियोगितामा मंगलबार पनि २ खेल हुनेछन्। दिनको पहिलो खेल कर्णाली र प्रदेश १ तथा दोस्रो खेल सुदूरपश्चिम र विभागीय टोली एपिएफबीच प्रतिष्पर्धा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.