|

पर्वत : पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परेकामध्ये २० जनाको शव मंगलबार दिउँसोसम्म परिवारलाई हस्तान्तरण गर्ने बताइएको छ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका अनुसार सोमबार साँझ सबैभन्दा पहिले सदाकत अलि मियाँको शव परिवारलाई हस्तान्तरण गरिएपछि शव हस्तान्तरण शुरु भएको छ।

सरकारी पक्षबाट शवको पहिचान गरे पनि परिवार वा आफन्तजनको तर्फबाट समेत शवको पहिचान भएको पुष्टि भएपछि पोस्टमार्टम गरिएअनुसार मंगलबार दिउँसोसम्म २० जनाको शव परिवारलाई हस्तान्तरण गर्ने कार्यतालिका तयार गरिएको छ।

सबै परीक्षण पूरा भइ परिवार वा आफन्तका तर्फबाट समेत पहिचान भएको यकिन गरिएका २० वटा शवको पोस्टमार्टम सोमबार अपराह्नसम्म पूरा गरेर परिवारको जिम्मा लगाउने गरी काम भइरहेको आचार्यको भनाइ छ।

एउटा शवको पोस्टमार्टमका लागि आधा घण्टादेखि डेढ घण्टासम्मको समय लागेको अवस्था छ भने सरकारी पक्षले पहिचान गरेकै आधारमा पोस्टमार्टम गरिएको छैन।

सरकारी निकायको तर्फबाट पहिचान पत्ता लगाए पनि सम्बन्धित परिवारका सदस्य वा आफन्तजनको उपस्थितिमा व्यक्ति प्रमाणित गरेर मात्रै पोस्टमार्टम गर्ने गरिएकाले पहिचान भएका शवको हस्तान्तरण पनि छोटो अवधिमा हुने अवस्था छैन।

‘७२ जनामध्ये ७० जनाको शव प्राप्त भएको छ। प्राप्त शवहरूको सम्पूर्ण परीक्षण एवं आफन्तहरूबाट शव पहिचान भएका २० जनाको अहिले साँझबाट पोस्टमार्टम शुरु गरी भोलि माघ ३ गते दिउँसोसम्म क्रमशः परिवारजनमा हस्तान्तरण गर्ने कुरा तय भएको छ’, महानगर प्रमुख आचार्यले भने, ‘बाँकी ५२ जनाको पहिचान पूरै नखुलेको हकमा हवाई दुर्घटनाको अन्तरराष्ट्रिय प्रोटोकलअनुसार शव पहिचान नभएको तथा विदेशी नागरिक, चालक दलका सदस्यहरू सहितको शवको भिसेरा परीक्षण, डिएनए परीक्षण लगायतका अन्य आवश्यक प्रक्रिया पूरा गरेर मात्र हस्तान्तरण गर्न सकिने राय काठमाडौंबाट आउनुभएका फरेन्सिक विभागका डाक्टर शाबहरूबाट जानकारी प्राप्त भएको छ।’

पोखराबाट यकिन गर्न नसकिएका शवलाई नेपाली सेनाको हेलिकप्टरमार्फत मंगलबार बिहान ८ बजे काठमाडौं पठाउने तय भएको पनि उनले बताएका छन्।

आचार्यले पोखरा क्षेत्रमा सञ्चालनमा रहेका एम्बुलेन्स तथा शव वाहनहरूलाई मंगलबार बिहान साढे ७ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट शवलाई विमानस्थलसम्म लैजान सघाउन पनि अनुरोध गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.