|

काठमाडौं : बाँकेमा २१८ जना बालबालिका दादुराबाट बिरामी भएका छन्। गत पुस दोस्रो सातादेखि बाँकेमा फैलिएको दादुरा संक्रमण पछिल्लो समय कोहलपुरसम्म पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। एकै दिनमा थप ९ जना दादुरा संक्रमित  बालबालिका भेटिएका छन्।

हाल भेटिएका दादुराका बिरामीमध्ये नेपालगञ्जका १९१ जना, खजुराका ३‚ कोहलपुरमा २ जना र नरैनापुरका १३ जना बालबालिका रहेको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ।

हालसम्म बिरामी भएकामध्ये १५८ जना निको भइसकेका र ५९ जना बिरामी बालबालिका होम आइसोलेशनमा‚ एकजना अस्पतालमा उपचार गराइरहेका र एकजना बालकको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ। 

साउन १२ गतेदेखि फैलिएको दादुरा संक्रमण नियन्त्रण गर्न हाल महामारीलक्षित खोप कार्यक्रम तीव्र पारिएको समेत जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।

समुदायस्तरमा दादुरा फैलिएपछि पुस २२ गतेदेखि दादुरा-रुबेलाविरुद्धको खोप अभियान शुरु गरिएको छ। हाल नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गत १, ४, ५, ७, ८, ११, १४, र १५ का ७ वटा वडाका १५ वटा खोप केन्द्र बनाइ ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरूलाई तीव्र रूपमा खोप लगाइएको छ।

बाँकेमा दादुरा संक्रमण फैलँदै गएको अवस्थामा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री र राज्यमन्त्री दुवै जना सक्रिय छन्।  

नेकपा एमालेका सांसद पदम गिरी मन्त्रीको जिम्मेवारीमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा तोसिमा कार्की राज्यमन्त्रीको जिम्मेवारीमा छिन्।

मन्त्रालयको जिम्मेवारी सम्हालेकै दिन कान्ति अस्पतालको निरीक्षण गर्न गएका मन्त्री गिरी बिहीबार राज्यमन्त्रीसहित वीर अस्पताल पुगेका थिए। तर मन्त्रीले हालसम्म बाँकेका फैलिएको दादुरा संक्रमणबारे हालसम्म केही बोलेका छैनन्। 

मन्त्रालयको जिम्मेवारी सम्हालेकै दिन स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित हुनु नपर्ने भन्दै भाषण गरेकी र स्वास्थ्य क्षेत्र राम्रोसँग बुझेकी राज्यमन्त्री डा कार्की पनि हालसम्म बाँकेको दादुरा संक्रमणबारे केही बोलेकी छैनन्। 

प्रकोपकै रुपमा फैलिएको दादुरा संक्रमणको विषयमा मन्त्री गिरी र राज्यमन्त्री कार्की दुवैलाई जानकारी दिइसकेको स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले बताए। 'हामीले बाँकेमा फैलिएको दादुराबारे जानकारी गराइसकेका छौँ, अब केही निर्देशन आउलाकि‚' मन्त्रालयका ती उच्च अधिकारीले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.