|

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकबाट कर्जा लिएर कर्जा वा ब्याज तिर्नुको सट्टा सडक आन्दोलन गर्नु अराजकता भएको बताएका छन्।

शनिवार कृषि विकास बैंकको ५६ औं वार्षिक साधारण सभामा गभर्नर अधिकारीले बैंकबाट कर्जा लिने र कर्जा तिर्नुको सट्टा सडकमा उफ्रिएर नतिर्ने गरेको भन्दै संगठित रुपमा बैंकबाट लिएको कर्जा तिर्नुपर्दैन भन्नु अराजकताको माथिल्लो रुप भएको बताएका हुन्।

उनले बैंकबाट कर्जा लिएर बैंकको कर्जा वा ब्याज नतिर्ने भन्दै संगठनको नाममा समूह बनाएर सडकमा उफ्रिएर नतिर्ने भनि संगठित रुपमा दबाब दिन नमिल्ने बताए।

गभर्नर अधिकारीले पछिल्लो समय बैंक तथा समग्र वित्तीय प्रणालीमा नै यस्ता नयाँ किसिमका चुनौती देखिएको बताए। उनले बैंकको कर्जा सार्वजनिक सम्पत्ति, सर्वसाधारणको निक्षेप भएको बताए। उनले वाणिज्य बैंकहरूको अधिकांश कर्जा सर्वसाधारणको निक्षेप भएको भन्दै कर्जा नतिर्दा समग्र वित्तीय क्षेत्रको विश्वसनीयता तथा वित्तीय स्थायित्वमा समस्या आउने बताए।

उनले व्यवसायी वा उद्यमीले लिएको कर्जा निश्चित समयभित्र तिर्न स्वीकार गरेर लिएकाले कर्जा नतिर्नु वित्तीय अपराध हुने दाबी गरे। गभर्नर अधिकारीले यस्ता अराजक कुरालाई कसैले पनि प्रश्रय दिन नहुने भन्दै राष्ट्र बैंक यो विषयमा सतर्क र सजग रहेको उल्लेख गरे।

उनले यस्ता चुनौतीले समग्र बैंकिङ प्रणाली, अर्थतन्त्रमा ठूलो असन्तुलन र बेथिति ल्याउने बताए। उनले ऋण लिएर तिर्नुपर्दैन भनेर कहीँ कतै विकसित भयो भने बैंकिङ प्रणाली र अर्थतन्त्र कहाँ जान्छ भन्दै प्रश्न गरे। उनले राष्ट्र बैंक यो विषयमा सचेत र सतर्क रहेको भन्दै यस्ता अभियान र संघर्ष लामो समय नटिक्ने बताए।

उनले २०४५ सालमा सीमित बैंक हुँदा चेक साट्न जाँदा पासबुक बोकेर जानुपर्ने अवस्थाबाट अहिले डिजिटल आधुनिक प्रविधिमा आइपुगेको बताए। उनले बैंकहरूले अहिलेको आधुनिक प्रविधिमा कहाँ छन् आफैँले मूल्यांकन गर्नु आवश्यक रहेको बताए।

 उनले पछिल्लो समय क्युआरबाट मात्रै ५१ लाख कारोबारमा १९ अर्बको कारोबार हुने गरेको जानकारी दिए। गभर्नर अधिकारीले २५ अर्बको कारोबार कनेक्टआइपिएसबाट मात्रै भइरहेको उल्लेख गरे।

नेपाली समाज अहिले प्रविधिमैत्री बनिसकेको भन्दै बैंकहरूको चुनौती प्रविधिमैत्री नभइ कुनै उपाय नभएको उनले बताए। उनले बैंकहरूले डिम्याट, मेरो शेयरमा मात्रै सीमित रहन नहुने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.