|

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले भारतका मोन्टी देसाईलाई राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त गर्ने तयारी गरेको छ।

क्यानको प्रशिक्षक छनोट समितिले देसाईलाई मुख्य प्रशिक्षक नियुक्त गर्ने निर्णय गरिसकेको र व्यवस्थापनले समेत मुख्य प्रशिक्षकमा उनको नाम पारित गरिसकेको र छिट्टै यसको घोषणा गरिने क्यान स्रोतले जनाएको छ। 

क्यानले औपचारिक तवरबाट मुख्य प्रशिक्षकको नियुक्ति गरेको घोषणा गरिसकेको छैन तर देसाईलाई मुख्य प्रशिक्षकमा चयन गरिसकेको स्रोतले बतायो। केही दिनभित्रै उनलाई मुख्य प्रशिक्षकमा नियुक्त गर्ने क्यानको तयारी रहेको पनि स्रोतले जनाएको छ।

मुख्य प्रशिक्षकका लागि २४ जनाको आवेदन परेको भए पनि अन्तिम चरणमा ५ जना मात्र छानिएका थिए। क्यानले तिनै ५ जनासँग अन्तरवार्ता लिएको थियो। 

यसअघि पनि देसाई सन् २०१७ मा नेपाली यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टिमको ब्याटिङ कन्सल्ट्यान्टका रुपमा काम गरिसकेका छन्। त्यसअघि उनले सन् २०१५ को आइसिसी टी–२० विश्वकप छनोटमा नेपाली राष्ट्रिय क्रिकेट टिमसँग पनि काम गरेका थिए।

उनले अफगानिस्तानका लागि ब्याटिङ प्रशिक्षकका साथै क्यानडाको मुख्य प्रशिक्षक भएर पनि काम गरिसकेका छन्। उनले वेस्ट इन्डिजका लागि पनि ब्याटिङ प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका छन्। भारतीय शहर मुम्बईमा क्रिकेट प्रशिक्षण दिने उनका दुईवटा एकेडेमी पनि छन्।

यसअघिका मुख्य प्रशिक्षक मनोज प्रभाकरले १ वर्षको सम्झौता अवधि पूरा नगरि पदबाट राजीनामा दिएपछि राष्ट्रिय क्रिकेट टिममा मुख्य प्रशिक्षक छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.