|

म्याग्दी : बागलुङको अमलाचौरका टिका सुदारा काठको काममा सिपालु छन्। उमेरले ६० वसन्त पार गरिसकेका उनी दार (राम्रो काठ) का ठेकीलगायत अन्य घरायसी सामान बनाउँछन्।

आफूले बनाएका कलात्मक तिनै ठेकाठेकी बिक्री गर्न उनी माघेसंक्रान्ति मेला एवम् सातौँ म्याग्दी महोत्सवमा म्याग्दीको सदरमुकाम बेनीमा आए। तीनचार दिनसम्म पनि दुई जोडी ठेकाठेकी बाहेक अरु केही बिक्री नभएपछि उनी गाउँ फर्किए।

यता म्याग्दीको बेनी नगरपालिका ३ भकिम्लीका सम्मरबहादुर विक बाँस र निगालाको चोयाबाट बन्ने कृषि घरेलु सामान बनाउन सिपालु छन्। डोका, डाला, थुन्से, भकारी, मान्द्रा लगायत सामग्री बनाएर र बिक्री गरेर उनले जीवनको ६५ वर्ष बिताए। परिवारका ६ सदस्यको पालनपोषण गरे।

समय फेरियो। रैथाने सीपमा आधारित प्रविधि बजारमा बिक्नै छोडे। डोका, डाला, थुन्से र भकारी तथा ठेकाठेकीको ठाउँ बजारमा पाइने आयातित प्लाष्टिकका सामग्रीले लिन थाले। रैथाने सीपमा आधारित हस्तकलाका सामग्री बिक्न छाडेपछि यहाँका कैयौँ मानिस बेरोजगार भएका छन्।

‘हामीसँग सीप छ,तर सीपको सम्मान हुने र सीप प्रयोग गरेर बनाएका सामग्री बिक्री गर्ने ठाउँ छैन’ विकले भने, ‘पाँच वर्षअघिसम्म आफूले बनाएका सामग्री बेचेर भएको आम्दानीले उनको घरायसी व्यवहार टर्थ्यो। अहिले ऋण गर्नुको विकल्प छैन। आम्दानीको स्रोत केही नभएपछि ऋणको भारी बोकेर भए पनि व्यवहार धान्नुपरेको छ।’

डोका, डाला, ठेका, ठेकी, थुन्से र भकारी लगायत सामान बिक्री हुन छोडेका विकले बताए। ‘पछिल्लो समय प्लास्टिकका सामग्री प्रयोग गर्ने चलन बढेपछि हाम्रो सीप थला परेको हो’ उनले भने।

जंगलमा खेर गइरहेका काठ र बाँसको चोयाकम आफ्नो सीपको प्रयोग गरी कृषि र घरायसी सामग्री बनाउँदै आएका कैयौँको पेशा संकटमा परेको बेनी नगरपालिका २ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताए।

जिल्लाका स्थानीय तहहरुले स्थानीय उत्पादन र सीप लाई प्रोत्साहन गर्ने बताए पनि व्यवहारमा लागु हुन नसकेको स्थानीयवासीको गुनासो छ। ‘काम गर भनेर थोरै रकम सहयोग गरेर मात्र हुँदैन,हामीले उत्पादन गरेका कृषि उपज र स्थानीय सीपबाट निर्माण गरेका सामग्री बजार पुर्‍याउने जिम्मा पनि स्थानीय सरकारले लिनुपर्छ’, तरकारी खेतीसँगै चोयाका सामग्री बनाउने काम गर्ने मालिका गाउँपालिका ५ का सुनबहादुर बूढाले भने।

हातमा अन्य काम गर्ने  सीप नभएका र उमेरले पनि बाहिर गएर काम खोज्ने अवस्था नभएका पाका उमेरका व्यक्ति आफ्नो सीप उपेक्षित हुन थालेपछि चिन्तित छन्। ‘आफूले जानेको सीपबाट जनतन गुजारा गरियो। अब सीपको पनि हेँला हुन थाल्यो। बुढ्यौली पनि लाग्यो,गाह्रो हुने भयो’, भकिम्लीका ६४ वर्षीय तेजबहादुर पुनले भने।

पाँच वर्ष अघिसम्म बनबाट निगालो ल्याएर चोया निकाली दिनमा २ वटासम्म डोका बुन्ने पुन अहिले एक सातामा मुस्किलले २–३ वटा मात्र डोका बुन्ने गरेको बताउँछन्। ‘दुख गरेर बुनेर मात्रै के गर्नु। बिक्री नै हुँदैन’, उनले सुनाए।

केही वर्ष अघिसम्म हस्तकलाका सामग्री बेचेर मासिक १० देखि १५ हजार रुपैयाँसम्म आम्दानी गर्ने यहाँका पाका उमेरका केही व्यक्ति अहिले आफूले बुनेका सामग्री सिकुवा वा गोठमा थन्काएको बताउँछन्।

सीप पुस्तान्तरण भएन भनेर चिन्ता गरिए पनि यही अवस्था रहिरहने हो भने त्यो चिन्ता पनि निरर्थक हुने उनीहरूको भनाइ छ। “हामीले जानेको सीप छोरा नातिले सिकेर के गर्नु ? सामान  नै बिक्री नभएपछि सीप छ भनेर मात्रै खान पाइँदैन’, बेनी नगरपालिका २ का भीमबहादुर विकले भने ‘बरु छोरा नातिलाई खाडीतिरै पठाए सुख।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.