|

काठमाडौं : अमेरिकी सहयोग नियोग (यूएसएआईडी)की प्रमुख प्रशासक सामन्था पावर आगामी साता नेपाल आउने भएकी छिन्। 

यूएसएआईडीले बुधबार विज्ञप्ति जारी गर्दै सामन्थाले फेब्रुअरीको पहिलो साता नेपालको भ्रमण गर्ने जनाएको हो।

सामन्था क्याबिनेट स्तरकी उच्च अधिकारी हुन्। उनी राष्ट्रिय सुरक्षा परिषद्की सदस्यसमेत हुन्।

सन् २००२ मा तत्कालीन विदेशमन्त्री कोलिन पावेलले नेपालको औपचारिक भ्रमण गरेपछि अमेरिकाबाट हुन लागेको यो उच्च तहको भ्रमण हो। 

नेपाल भ्रमणका क्रममा उनले नागरिक समाजका अगुवा, सामुदायिक समूह, विद्यार्थी, व्यवसायी र सरकारी अधिकारीसँग भेटघाट गर्ने कार्यक्रम छ। भ्रमणका क्रममा उनले नेपालको प्रजातान्त्रिक अभ्यास, समृद्धि, समावेशीलगायत विषयमा छलफल गर्नेछिन्।

सामन्थाले भ्रमणका क्रममा युएसएआईडीको नेपालमा थप सहयोग वृद्धिका लागि प्रतिबद्धता जाहेर गर्नेछिन्। नेपालको प्रजातान्त्रिक अभ्यास, संघीयता, सामाजिक समावेशीता, नागरिक समाज र प्रेस स्वतन्त्रतालगायतका विषयमा नयाँ कार्यक्रम घोषणा गर्ने यूएसएआईडीले जनाएको छ।

गत मे महिनामा युएसएआईडी र नेपाल सरकारले आगामी पाँच वर्षका लागि ६५ करोड ९० लाख डलरको अनुदानसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए। यो सहयोग नेपाललाई अतिकम विकसित देशबाट मध्यमस्तरको विकासशील देशको स्तरोन्नतिका लागिसमेत खर्च गरिनेछ।

अमेरिका र नेपालबीच दौत्य सम्बन्ध स्थापना भएको ७५ वर्ष पूरा हुँदैछ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.