|

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा सच्चा कम्युनिस्टहरू फेरि ध्रुवीकरण र एकताको प्रक्रियामा आउने बताएका छन्।

आइतबार बेलुका विभिन्न देशका कम्युनिस्ट, वामपन्थी तथा समाजवादी पार्टीका प्रतिनिधिहरूसँगको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्। भेटमा उनले नेपालको कम्युनिस्ट आन्दोलन उतारचढावबीच अगाडि बढेको बताउँदै सच्चा कम्युनिस्टहरूको एकताका निम्ति आफूले पहल गरिरहेको दावी गरे।

फेब्रुअरी १ देखि ५ गतेसम्म विभिन्न देशका कम्युनिस्ट, क्रान्तिकारी, वामपन्थी र समाजवादी पार्टीका प्रतिनिधिहरूको नेपालमा भएको अन्तरराष्ट्रिय जनसभापछि उनीहरूले प्रधानमन्त्रीसँग भेट गरेका थिए।

भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको क्रान्ति र शान्ति प्रक्रिया विश्वकै लागि नयाँ र मौलिक भएकोमा जोड दिँदै जनताका प्रतिनिधिहरूले निर्माण गरेको नयाँ संविधानले क्रान्तिका महत्वपूर्ण कार्यभार सम्वोधन गरेको बताए।

नेपालमा भएको क्रान्ति, शान्ति प्रक्रियाको विश्वव्यापी महत्व रहेकोमा जोड दिँदै उनले आफ्नो नेतृत्वको सरकार जनताका अपेक्षा सम्वोधन गर्न प्रयत्नशील रहेको बताए।

उनले आफूहरूकै पहलमा नेपालका कम्युनिस्टहरूको एउटै केन्द्र बनेको स्मरण गर्दै कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्न, समाजवादको आधार तयार पार्न र जनअपेक्षा सम्वोधन गर्न निरन्तर प्रयत्न हुने प्रतिबद्धता व्यक्त गरे।

उनले नेपालको रूपान्तरणकारी आन्दोलनको नेतृत्व गर्ने ऐतिहासिक अवसर पाएको र सो कुरा विश्वभरिकै परिवर्तनका पक्षधर शक्तिहरूका निम्ति प्रेरणा हुनेसमेत उल्लेख गरे।

भेटमा क्युबा, भेनेजुएला, ब्राजिल, चीन, घाना, दक्षिण अफ्रिका, मोरक्को, बंगलादेश, इटली, स्पेनलगायत देशका कम्युनिस्ट एवं वामपन्थी पार्टीका प्रतिनिधिहरू उपस्थित थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.