|

दैलेख : सरकारले पेट्रोलियम पदार्थ अन्वेषणका लागि दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गर्ने भएको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले जग्गा प्राप्तिका लागि स्वीकृति दिने निर्णय गरेको हो। 

पेट्रोलियम पदार्थ अन्वेषणका लागि दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गर्ने निर्णय भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताएकी छन्।

दैलेखमा २०७६ असोजदेखि सुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननअन्तर्गत पहिलो चरणको काम चिनियाँ प्राविधिक टोलीले यसअघि नै सम्पन्न गरिसकेको छ। 

सरकारले जग्गा अधिग्रहण जस्तै सडकको स्तरोन्नतिलगायत गर्नुपर्ने सम्पूर्ण प्रक्रिया पूरा गरेपछि चिनियाँ अन्वेषण टोली दैलेख आएर दोस्रो चरणमा ड्रिलिङको काम थाल्ने खानी तथा भूगर्भ विभागका भूगर्भविद् डा गणेशनाथ त्रिपाठीले बताए। 

यसअघि नेपालसँगको सम्झौता अनुसार चीनको प्राविधिक टोलीले पहिलो चरणअन्तर्गतको सिज्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे गरी ४ वटा सर्भेका काम तोकिएकै समयमा गरेको थियो। 

नेपालको संविधान २०७२ जारी भएपछि मधेशवादी दलहरूको समर्थनमा भारतले नेपालमा नाकाबन्दी लगाउँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा गएको बेला दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्ने सहमति चीनसँग सहमति भएको थियो । 

उक्त सहमतिअनुसार खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटा र चीनको जिओलोजिकल सर्वे कम्पनीबीच २ अर्ब ४० करोडको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा पेट्रोलियम खानी अन्वेषण उत्खनन गर्ने सम्झौता भएको थियो। 

दैलेखमा सदिऔँदेखि ज्वाला बल्दै आएका श्रीस्थान, नाभीस्थान, पादुका, तल्लो डुंगेश्वरलगायतका क्षेत्रहरूलाई आधार मानी चीनको पेट्रोलियम पदार्थ तथा अन्वेषण टोलीले पहिलो चरणको काम गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.