|

काठमाडौं : सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएको छ। 

मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिने कार्यसूची भए पनि निर्णायक मानिएको नागरिक उन्मुक्तिले आफ्ना माग सम्बोधन नभएसम्म विश्वासको मत नदिने अडान लिएको हो। 

नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनाका दोषी रेशम चौधरी लगायतको रिहाइ मुख्य शर्त बनाएको छ। हिजो दिउँसो सुदूरपश्चिम प्रदेशसभाका नागरिक उन्मुक्ति पार्टीका सबै ७ जना सांसदसँग चौधरीले काठमाडौंको डिल्लीबजार स्थित जेलमै छलफल गरेका थिए। 

पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले आफूहरुले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने बताइन्। ‘हामीले समर्थन गरेर हेर्यौं‍, हाम्रा माग सुनुवाइमा कुनै पहल भएको छैन’, श्रेष्ठले भनिन्, ‘हाम्रा सांसदहरु आज तटस्थ बस्नुहुन्छ।’ 

श्रेष्ठले एमाले अध्यक्ष केपी ओलीसँग हिजो साँझ भएको छलफल पनि सकारात्मक नभएकाले विश्वासको मत नदिने निष्कर्षमा पुगेको बताइन्। उनले आफ्ना सांसद केही प्रदेशमा पुगिसकेको र केही आज विहान पुग्ने बताइन्। नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएमा सुदूरपश्चिम सरकार आजै ढल्नेछ। 

विश्वासको मतका लागि हिजै प्रदेशसभा बैठक बोलाइए पनि नागरिक उन्मुक्ति पार्टीका सांसदहरु काठमाडौंमा रहेका कारण सरकारको अनुरोधमा बैठक स्थगित गरिएको थियो। आज दिउँसो एक बजे प्रदेशसभा बैठक बोलाइएको सुदूरपश्चिम प्रदेशसभा सचिवालयले जनाएको छ।  एमालेका रावल गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। त्यसअनुसार आज उनले विश्वासको मत लिने अन्तिम दिन हो। 

एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ गरी कुल २९ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा एमालेका रावल नियुक्त भएका थिए।  

रावलले विश्वासको मत नपाए संविधानको धारा १६८ (३) बमोजिम १९ सांसदसहित ठूलो दल रहेको नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त हुनेछन्। उनले पनि ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.