बजेटबारे अर्थ मन्त्रालयसँग छलफल भइरहेको छ : मन्त्रालय

|

काठमाडौं : मेलम्ची खानेपानी आयोजना शुरू भएको २ दशकपछि काठमाडौं उपत्यकाभित्र पानी आएसँगै उपभोक्ताहरू यतिखेर पानी खान पाइरहेका छन्। उपत्यकाभित्र पहिलो पटक विसं २०७७ चैत १५ गते पानी वितरण थालिएको थियो। तर कहिले प्राकृतिक प्रकोप त कहिले सरकारी संयन्त्रको लापरबाहीले नियमित पानी उपभोग गर्न पाइरहेका छैनन्।

०७८ सालको असार र साउनमा मेलम्ची र इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुगेको थियो। वर्षातमा भएको क्षति मर्मतपश्चात् गत मंसिर २३ गतेबाट पानी वितरण भइरहेको छ। पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकाको चक्रपथ भित्रका क्षेत्रहरूमा मात्रै अहिले वितरण गरिएको छ।

त्यसो त यो पानी चक्रपथ बाहिरका क्षेत्रमा पनि वितरण गरिनुपर्ने माग उठिरहेको छ। मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)ले उपत्यकाको चक्रपथबाहिरका क्षेत्रहरूमा पनि मेलम्चीको पानी वितरण गर्न अत्यधिक माग आउने गरेको र सो माग सम्बोधन गर्न अनुमानित २४ अर्ब वित्तीय श्रोत आवश्यक देखिएको जनाएको छ। यसका लागि सरकारले समयमै बजेट व्यवस्थापन गर्न रूरी रहेको पिआइडीको सुझाव छ।

चक्रपथ बाहिरका २० हजारलाई मात्रै पानी वितरण

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का अनुसार उसका २ लाख ३० हजारभन्दा बढी ग्राहक छन्। उपत्यकामा पानीको माग भने दैनिक ४३ करोड लिटर छ।

मागअनुसार पानी दिन केयुकेएलले अझै सकेको छैन। केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले अहिले चक्रपथ बाहिरका करिब २० हजारभन्दा बढी ग्राहकहरूलाई मात्रै मेलम्चीको पानी वितरण गरिरहेको जानकारी दिए।

उनका अनुसार खुमलटार क्षेत्र, चाबहिलमा रहेको पानी ट्यांकीबाट, कपन क्षेत्रमा, बालाजु पोखरीबाट दिने वरिपरीका क्षेत्र र कीर्तिपुरबाट मेलम्चीकै पानी वितरण गरिएको छ। ‘सबै ग्राहकलाई दिन त पहिला संरचनाको विकास हुनुपर्छ,’ उनले भने, ‘हामीले अहिले चक्रपथबाहिर क्षेत्रका सक्ने जतिलाई समेटेर पानी वितरण गरिरहेका छौँ।’

पिआइडीका अनुसार हालसम्म सुन्दरीजलदेखि चक्रपथ वरिपरी निर्माण भएका पानी पोखरीसम्म पानी पुर्‍याउन करिब ७६ किलोमिटर थोक वितरण प्रणाली (प्रतिदिन २२ करोड लिटर क्षमता) र कुल ७४ हजार ५ सय घन मिटर क्षमताका  १० वटा पानी पोखरीहरूको निर्माण भइसकेको छ। निर्माण भएका थोक वितरण प्रणाली र पानी पोखरीहरूको सफलतापूर्वक परीक्षण तथा सञ्चालनपश्चात मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण भइरहेको छ। 

‘चक्रपथ बाहिरको क्षेत्रमा मेलम्चीको पानी आवश्यक छ’

केयुकेएलका प्रवक्ता राईले चक्रपथ बाहिरको क्षेत्रहरूमा पनि मेलम्चीको खाने पानी वितरण गर्न आवश्यक रहेको बताए। उनले भने, ‘पानीको माग धेरै गरिरहेका छन्, तै पनि स्रोत साधनले पुगेसम्म दिइरहेका छौँ,थप संरचना विस्तार गरि उनीहरूलाई पनि दिनुपर्छ।’ उनले यसका लागि केयुकेएलबाट पनि पहल गरिरहेको बताए। चक्रपथबाहिरको क्षेत्रहरूमा कति ग्राहक छन भनी यकिन तथ्यांक नरहेको बताए। 

सडक खन्दा पाइपमा क्षति

अहिले केही सडकमा मेलम्ची खानेपानी चुहिइरहेको देखिन्छ। मेलम्चीकाे कथा : वर्षामा मुहान, हिउँदमा पाइप टाल्दै ठिक्क छ। पिआइडीले नयाँ वितरण प्रणाली परीक्षण गर्ने क्रममा विभिन्न स्थानहरूमा तेस्रो पक्षबाट सडक तथा ढल निर्माण/मर्मत र विद्युतलाइन तथा टेलिफोनका तार भूमिगत गर्ने क्रममा निर्देशनालयबाट बिछ्याइएका थोक तथा वितरण सञ्जालका पाइपलाइनमा क्षति भएको पाइएको जनाएको छ।

पानी परीक्षण तथा वितरण हुँदा यस्ता पाइपहरूबाट पानी चुहावट हुने गरेकाले त्यसरी क्षति भएका खानेपानी पाइपलाइनको मर्मत सम्पन्न गर्न अतिरिक्त समय र श्रोत परिचालन गर्नुपर्ने अवस्था आएको भन्दै यसको व्यवस्थापन गर्न पिआइडीले सरकारलाई सुझाव दिएको छ।

त्यस्तै, हाल नेपाल विद्युत प्राधिकरणले विद्युतका तार भूमिगत गरिरहेको र कतिपय स्थानमा सडक साँघुरो रहेको कारणले बिछ्याइसकेको खानेपानीको पाइप तथा विद्युतको तार भूमिगत गर्ने क्रममा आवश्यक सुरक्षित दूरी कायम हुन सकेको नपाइएको पिआइडीको निष्कर्ष छ। त्यसैले भविष्यमा त्यस्ता स्थानमा आवश्यक मर्मतसम्भार गर्दा पिआइडीले सम्बन्धित पक्षलाई समन्वय तथा सावधानी अपनाउनु भनेको छ। 

बजेटबारे अर्थ मन्त्रालयसँग छलफल भइरहेको छ : मन्त्रालय

खानेपानी मन्त्रालयले पनि उपत्यकाको चक्रपथ बाहिरका क्षेत्रहरूमा मेलम्चीको पानी वितरण गर्नुपर्ने आवश्यकता औंल्याएको छ। यसका लागि योजना बनाएको र बजेटको विषयमा अर्थ मन्त्रालयसँग छलफल तथा समन्वय गरिरहेको मन्त्रालयका प्रवक्ता शोभाकान्त पौडेलले जानकारी दिए।

उनले थाहाखबरसँग भने, ‘उपत्यकाको चक्रपथ बाहिरका क्षेत्रमा पनि पानी वितरण गर्नुपर्छ, यसका बजेट आवश्यक छ, मन्त्रालयसँग हामी छलफलमा छौँ।’ बजेट विनियोजनका लागि अर्थ मन्त्रालयसँग माग गरिएको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.