|

इलाम : प्रदेश १ को एकमात्र रात्रिकालीन फुटबल प्रतियोगिता विराट गोल्डकपको पुरस्कार राशि बढ्ने भएको छ।

आयोजक समितिले प्रेस वक्तव्य जारी गर्दै सातौ संस्करणमा पुरस्कार राशि वृद्धि हुने जनाएको हो। ‘विराट गोल्डकपलाई अझ स्तरीय बनाउने तयारीका साथ पुरस्कारको राशि पनि बढाउने सोच बनाएका छौं,’ विराट गोल्डकपका कार्यकारी निर्देशक सुवाशीस कोइरालाले भने।

छैटौं संस्करणको उपाधि विजेता एपिएफले नगद १५ लाख १५ हजार पाएको थियो। यसैगरी उपविजेता हुने टिम पञ्जाब पुलिसले ७ लाख ५१ हजार प्राप्त गरेको थियो।

यस पटक कम्तिमा विगतको तुलनामा ४/५ लाख रूपैयाँ पुरस्कार राशिमा वृद्धि हुनेछ। उपविजेता हुने टिमले पनि कम्तिमा ३ लाख बढी पुरस्कार पाउनेछ। पुरस्कार राशिबारे चाँडै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने पनि कोइरालाले बताए।

प्रत्येक खेलको विजेता टिमले नगद २५ हजार प्राप्त गर्ने पनि बताइएको छ। उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्ड, सर्वाधिक गोलकर्ता खेलाडी र फेयर प्ले टिमलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ।

विराट गोल्डकप चैत ९ गतेदेखि १७ गतेसम्म विराटनगरको शहीद रंगशालामा हुँदै छ। खेलहरू राति फ्लडलाइट बालेर सञ्चालन हुनेछन्। ८ टिमले सहभागिता जनाउने प्रतियोगितामा ७ खेलबाट उपाधिको छिनोफानो हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.