|

काठमाडौं : तपाई कतै टाढा जाँदा घरमा ताल्चा लगाएकै त छु नि भनेर ढुक्क हुनुहुन्छ? ताल्चा नै लगाएपछि के को चिन्ता भन्ने सोच्नु पो भएको छ कि?  तर ताल्चा लगाउँदैमा ढुक्क नहुनुस्। काठमाडौंमा मानिस घरमा नभएको समय पारेर दिउँसो चोरी गर्ने समूह निकै सक्रिय छ।

बिहान ११ बजेदेखि दुई बजेको समयमा सुनचाँदीका गरगहना र नगद चोरी गर्ने चार जनालाई प्रहरीले पक्रेको छ। काठमाडौं र ललितपुरका बिभिन्न सात ठाउँमा चोरी गर्ने गिरोहका चार जनालाई प्रहरीले आइतबार पक्राउ गरेको हो। उनीहरुबाट प्रहरीले २५ लाख बराबरको धनमाल बरामद गरेको छ।

घटनाको मुख्य योजनाकार गणेश तामाङ, चोरीमा संलग्न दोलखा शैलेश्वरीका वीरबहादुर श्रेष्ठ, चोरीको सामान बिक्री गर्ने सिन्धुपाल्चोक मेलाम्चीका दीपक माझी र सामान किन्ने ललितपुर बस्ने भारतीय नागरिक धनन्जय सेण्डीलाई प्रहरीले पक्राउ गरेको हो। अन्य दुई जना फरार रहेका छन्।

महानगरीय प्रहरी वृत्त स्वयम्भूको प्रहरी टोलीले उनीहरुबाट ३७ तोला सुनका गरगहना, साढे तीन किलो चाँदीका गरगहना, दुई लाख रुपैयाँ र तीन सय १५ डलर बरामद गरेको छ। ‘उनीहरुले ताल्चा लगाएको घर देख्नासाथ रडहरु प्रयोग गरेर चोर्ने गरेका छन्’ स्वयम्भू वृत्तका प्रमुख डिएसपी कोमल शाहले भने ‘उनीहरुले गरगहना र नगद मात्र चोरी गर्ने गरेका छन्। चोरी गरेपछि उनीहरुले चोरीको सामान सिन्धुपाल्चोक लाने र त्यहाँबाट बिक्री गर्ने गरेका रहेछन्।’

घटनामा संलग्न वीरबहादुर श्रेष्ठ यसभन्दा अघि पनि पाँच वर्ष जेलसजाय भुक्तान गरेका व्यक्ति हुन्। उनी लागूऔषध मुद्दामा जेल परेर गत मंसिरमा मात्र छुटेको डिएसपी शाहले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.