|

काठमाडौँ : पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्वका लागि सबै तयारी पूरा भएको जनाएको छ। आज शुक्रवार कोषका कोषाध्यक्ष नारायण सुवेदीले शिवरात्रिका लागि सबै तयारी पूरा भइसकेको बताए।

उनले महाशिवरात्रिमा भक्तजनलाई पूजा आराधनाका लागि शनिवार बिहान ३ बजेदेखि ४ वटै ढोका खुला गर्ने बताए। उनले वृद्धवृद्धाका लागि लाइनमा बस्नु नपर्ने व्यवस्था मिलाएको र एकजना आफन्तले वृद्धवृद्धालाई मन्दिरमा दर्शनका लागि लैजान पाउने व्यवस्था गरेको पनि बताए।

पर्वलाई व्यवस्थित बनाउन भकुण्डोलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको मूल शिविर रहनेछ। मूल शिविरसँगै खोजखबर कक्षको व्यवस्थापन गरिनेछ। मेला क्षेत्र र दर्शनमार्गलाई लक्षित गरी सिसी क्यामेराको जडान गर्ने, दर्शनमार्गमा ब्यारिकेड जडान लगायतको कार्यमा र मन्दिरभित्र भीड व्यवस्थापनका लागि नेपाली सेनाको विशेष सहयोग हुनेछ। मन्दिर परिसरमा स्वयंसेवकका लागि नेपाल स्काउट लगायतका ४ हजार स्वयंसेवक रहनेछन्।

पशुपतिनाथ मन्दिर नजिकै कोर क्षेत्रमा डाक्टर, नर्स, औषधि र बेडसहितको नेपाली सेनाको मूल स्वास्थ्य शिविर रहनेछ भने सशस्त्र प्रहरी, नेपाल प्रहरी समेतका गरी करिब ५० वटा स्वास्थ्य शिविर रहेनछन्। आपत्कालीन अवस्थाका लागि एम्बुलेन्स र अग्निनियन्त्रक साधन उपलब्ध हुनेछ।

त्यस्तै जुत्ता, चप्पल व्यवस्थापन दर्शन लाइनलाई पायक बनाएर भुवनेश्वरीमा दक्षिणामूर्ति रुद्रगाडेश्वर दर्शनमार्ग १, भुवनेश्वरी नजिक शंकराचार्य मठ पछाडि १, बज्रघर दक्षिणतर्फ १, राममन्दिर नजिक वागमती पारी १ गरी पाँच ठाउँमा व्यवस्थापन गरिने कोषले जनाएको छ।

त्यस्तै चन्दन वितरण दर्शन गरेर निस्किने कोर क्षेत्रभित्र, जयबागेश्वरी, बज्रघर अगाडि दक्षिण ढोका र तिलगंगामा समेत रहनेछ। त्यस्तै कोषले प्लाष्टिक, काँच, सिसा जस्ता फुट्ने प्रकृतिको कप प्लेट र सामग्रीको प्रयोगमा रोक लगाएको छ।

दर्शन मार्गको रूपमा गुह्येश्वरी—गौरीघाट, उमाकुण्ड—दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट—१ लाइन, मित्रपार्क—जयवागेश्वरी—इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोकाबाट—१ लाइन, बत्तीसपुतली—गौशाला, एयरपोर्ट—तिलगंगा भएर पिंगलास्थान—सुमार्गी भवन अघिबाट चार शिवालय—पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट १ प्लस १ लाइन गरी बाहिरी रूपमा तीन ठाउँबाट दर्शन लाइन रहनेछन्। तिलगंगा राममन्दिरतर्फ समेत आवश्यकताअनुसार एक लाइन हुनेछ भने नित्य दर्शनार्थीका लागि बिहान ७ बजेभित्र भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था हुनेछ।

त्यस्तै पार्किङ तथा ट्राफिक व्यवस्थापनका लागि : तिलगंगा करिडोरको उपलब्ध ठाउँ, पशुपति क्षेत्र विकास कोषको कार्यालय, प्रहरीवृत्त ट्राफिक प्रहरी विभाग गौशाला, सिफल चौरको उपलब्ध ठाउँ, गुह्येश्वरी पारी गरी पाँच स्थानमा व्यवस्थापन गरिएको छ। त्यस्तै एयरपोर्ट, गौशाला, चाबहिलको रिङरोडमा यात्रुको चापलाई ध्यानमा राखी सडकको आधा भागमा सार्वजनिक सवारी गुड्न दिने र आवश्यकताअनुसार डाइभर्सनको समेत व्यवस्था मिलाइनेछ।

सडक छेउमा फुटपाथका कुनै पनि पसल राख्न नदिने कोषले जनाएको छ। कोषले मन्दिर परिसरमा मांस, मदिरा तथा कुनै पनि प्रकारका नशालु पदार्थ निषेधित क्षेत्र भएकाले गाँजा, भाङ, जाँडरक्सी जस्ता पदार्थको बिक्रीवितरण, ओसारपसार, भण्डारण एवं सेवन नगर्न आग्रह गरेको छ।

कोषले योपटकको महाशिवरात्रिमा करिब २० लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अभिलाषा राखेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.