|

सर्लाही : सर्लाहीका विभिन्न शिवालयमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ।

महाशिवरात्रिका अवसरमा जिल्लाको हरिपुर चितायनसहित विभिन्न शिवालयमा दर्शनार्थीको भीड लागेको हो। हरिपुर नगरपालिका–७ मा पर्ने लक्ष्मीनाथ चितायन महादेव मन्दिर चितायनमा जिल्लाभरमा सबैभन्दा धेरै दर्शनार्थीको भीड लागेको छ।

बिहान ३ बजेदेखि नै दर्शनार्थीको अत्यधिक घुइँचो रहेको हरिपुर ७ चितायनका वडाध्यक्ष मनोजकुमार चौधरीले बताए।

पौराणिक तथा ऐतिहासिक चितायन मन्दिरमा दर्शनका लागि जिल्ला तथा जिल्ला बाहिरका दर्शनार्थी समेत आउने गरेका छन्। चितायनमा भान्टाको भार चढाउने पनि उत्तिकै हुन्छन्। त्यहाँ भान्टाको भार चढाए छालासम्बन्धी रोग निको हुने जनविश्वास छ।

चितायनमा वर्षौंदेखि लाग्दै आएको ऐतिहासिक मेलासमेत आजबाट सुरु भएको छ। मन्दिर तथा मेलामा मानिसको अत्यधिक भीड हुने भएकाले चितायनमा आवश्यक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ।

यसैगरी लालबन्दीस्थित डुमडुमे महादेव मन्दिर, हरिवनमा रहेका चतुर्भुजेश्वर महादेव मन्दिर सुखेपोखरी र कैलासपुरी महादेव मन्दिर, मूर्तियास्थित मुक्तेश्वर बाबाधाम, ईश्वरपुरस्थित सागरनाथ महादेव मन्दिर र फूलजोर बाबा मन्दिर, फरहदथवास्थित शिवमन्दिर सहित प्रत्येकजसो गाउँमा रहेका शिवमन्दिरमा दर्शनार्थीको घुइँचो रहेको स्थानीयले जनाएका छन्। दर्शनार्थीले लाइनमा बसेर पालैपालो पूजा गरिरहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.