|

हेटौंडा : बागमती प्रदेशको पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश दुग्ध पाउडर प्लान्टको शिलान्यास गरेको २ वर्ष पूरा भयो। एक वर्षभित्र निर्माण सक्ने सम्झौता गर्दै पूर्वमुख्यमन्त्री पौडेलले ०७७ पुस १६ गते दुग्ध पाउडर प्लान्टको शिलान्यास गरेका थिए।

आर्थिक वर्ष ०७७/७८ को पुस १ गतेदेखि निर्माण गर्ने सम्झौता गरेको काठमाडौं इजी इन्फा प्रालिले १ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम थालेको थियो। तर सम्झौता भएर काम सुरु गरेको २ वर्ष पूरा भएर दोस्रो महिना लागिसक्दा पनि पाउडर प्लान्ट निर्माणले पूर्णता पाउन सकेको छैन।

बागमतीसहित ४ वटा प्रदेशका किसानलाई लक्षित गर्दै हेटौंडामा पाउडर दूध प्लान्ट निर्माण थालिएको थियो। बागमती प्रदेश दुग्ध विकास बोर्डले नियमित रुपमा किसानहरुले बेहोर्दै आएको मिल्क होलिडेसहित दूध बिक्रीमा भोग्दै आएको समस्या समाधान गर्न हेटौंडामा पाउडर प्लान्ट निर्माणको तयारी थालेको थियो।

सरकारले बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशलाई लक्षित गर्दै हेटौंडा–१० न्युरेनीमा प्लान्ट निर्माण थालेको थियो। पूर्वमुख्यमन्त्री पौडेलले पाउडर प्लान्टलाई सरकारको गौरवको आयोजनामा समेत राख्दै आएका थिए।

प्लान्टको शिलान्यास गर्दै पौडेलले सरकारले किसान लक्षित कार्यक्रममा बढी मात्रामा ध्यान दिएको बताएका थिए। सडकमा दूध पोख्नुपर्ने किसानको बाध्यता हटाउन पाउडर प्लान्ट निर्माण गर्न लागेको उनको भनाइ थियो तर हालसम्म सो पाउडर प्लान्ट निर्माण सकिएको छैन।

दैनिक ६० हजार लिटर दूधबाट ५ मेट्रिक टन पाउडर उत्पादन गर्ने लक्ष्यसहित सरकारले निर्माण सुरु गरेको पाउडर प्लान्ट काठमाडौं इजी इन्फा प्रालिले १ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ४१ करोड २२ लाख ७१ हजारमा सम्झौता गरेको थियो।

तर हालसम्म प्लान्ट निर्माण सम्पन्न भएपछि बागमती प्रदेश सरकारले प्लान्ट र सोको भवन सम्पन्न गर्न निर्माण कम्पनीलाई वैशाखसम्मको अन्तिम म्याद दिएको छ। २ पटकसम्म म्याद थपिएको उक्त प्लान्ट निर्माण सम्पन्न गर्न प्रदेश दुग्ध विकास बोर्डले वैशाखसम्मको समय दिएको हो।

गत आर्थिक वर्ष ०७७/७८ को पुस १ गते निर्माण सम्झौता गरेको काठमाडौं इजी इन्फ्रा प्रालिले एक वर्षभित्र निर्माण सक्ने गरी काम थाले पनि कोभिडको कारण देखाउँदै २ पटकसम्म म्याद थप गरेको थियो।

एक वर्षमै सम्पन्न गर्ने भनिए पनि पटक–पटक म्याद थप गरेको निर्माण कम्पनीलाई वैशाखसम्मको अन्तिम म्याद दिइएको प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष टीकाबल्लभ सापकोटाले जानकारी दिए। उनका अनुसार निर्माण अन्तिम चरणमा पुगेको र रंगरोगन गर्ने काम मात्रै बाँकी रहेको छ।

सबै मेशिनहरु फिट भइसकेको भन्दै उनले अब रंगरोगनमात्रै बाँकी रहेको हुँदा कम्पनीलाई वैशाखसम्म उक्त भवनको हस्तान्तरण गर्ने अन्तिम म्याद दिएको बताए। वैशाख अन्तिमसम्म प्लान्ट र भवन निर्माण कम्पनीले हस्तान्तरण नगरे कम्पनीलाई कारवाही गर्ने उनी दावी गर्छन्।

अब कम्पनीले थप म्याद मागे कुनै पनि हालतमा नथपिने उपाध्यक्ष सापकोटाको भनाई छ। उनले हाल बागमती प्रदेशमा दूध उत्पादन पनि घट्दै गएको बताए। उनका अनुसार प्रदेशमा दैनिक ८ लाख लिटर दूध उत्पादन हुने हुँदा पाउडर दूध बनाउन समस्या हुने गुनासोसमेत गरे।

बागमती प्रदेशका १३ वटै जिल्लामध्ये सबैभन्दा धेरै दूध उत्पादन चितवन, काभ्रे र मकवानपुरमा हुने जानकारी उनले दिए। उनले हाल पशुपालनमा कमी आएको हुँदा प्रदेश सरकारले पनि किसानहरुलाई प्रोत्साहित गर्न विभिन्न कार्यक्रम दिनुपर्ने बताए।

त्यसो गरेमात्र किसानले धेरै गाई, भैँसी पालेर रोजगारी पनि सिर्जना हुने निश्चित रहेको उनले बताए। सो प्लान्टबाट बागमती प्रदेशसहित मधेश प्रदेशका बारा, पर्सा, रौतहट र बागमती प्रदेशको चितवन र मकवानपुरका करिब २२ हजार कृषकको दैनिक ६० हजार लिटर दूध खरिद गरी दैनिक ५ मेट्रिकटन धुलो दूधको उत्पादन गरी प्याकिङ गर्ने लक्ष्य रहेको प्रदेश दुग्ध बोर्डले जनाएको छ।

कम्पनीले ४५ करोड १२ लाख ७० हजार रूपैयाँ लागत अनुमान गरिएको प्लान्टको निर्माण ४१ करोड २२ लाख ७१ हजार रूपैयाँमा सम्पन्न गर्ने गरी सम्झौता गरेको छ।

निर्माण सम्झौता गरेको काठमाडौं इजी इन्फ्रा प्रालिका उत्तम पौडेल भने सरकारकै कारण काममा ढिलाइ भएको आरोप लगाउँछन्। दुग्ध पाउडर प्लान्ट निर्माणको ठाउँ पछि स्थानान्तरण गरिनु र पूर्वानुमान नगरिएका समस्याहरु आउनाले प्लान्ट निर्माणमा ढिलाइ भएको भन्दै सरकारले समयमा निर्णय नगरिदिँदा समयमा काम सक्न नपाएको उनको भनाई छ।

‘पूर्वानुमान नगरिएका केही समस्या त्यहाँ आएका छन्‚ ती समस्या समाधान सरकारले निर्णय गरेर गर्नुपर्नेछ। हामीले चाँडो निर्णय गरिदिनुहोस् हामी काम छिटो सकेर हस्तान्तरण गर्न चाहन्छौं भन्दा पनि उहाँहरूले गर्नु भएको छैन’, उनले भने।

पौडेलले हालसम्म ९० प्रतिशत काम सकिइसकेको भन्दै बाँकी काम सक्न सरकार पक्षबाटै ढिलाई भएको बताए। उनले सरकारले समयमा निर्णय नगर्दा ३ महिनादेखि आफूहरू कामविहीन भएर बस्नुपरेको समेत बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.