|
फाइल तस्बिर

काठमाडौं : नयाँ पाठ्यपुस्तकबिनै हिमाली जिल्लाहरूमा २०८० को नयाँ शैक्षिक सत्र सुरु भएको छ।

जुम्लाको गुठीचौर गाउँपालिका शिक्षा शाखाका शिक्षा प्रास सिंहमात रावतका अनुसार यतिखेर हिमाली जिल्लाका अधिकांश सामुदायिक विद्यालयहरूमा नयाँ भर्ना भइरहेको छ। 

‘नयाँ भर्ना कार्यक्रम भइरहेको छ,’ उनले भने। उनका अनुसार यही महिनाबाट नै पठनपाठन सुरु हुनेछ तर पुस्तक भने छैन। यसका लागि पहल गरिरहेको उनले बताए। ‘पुस्तक पसललगायत सम्बन्धित निकायमा हामी सम्पर्क गरिरहेका छौँ,’ उनले भने।

हिमाली जिल्लाहरूमा नयाँ शैक्षिक सत्र सुरु भइसकेकाले तत्काल पुस्तक उपलब्ध गराउन संसदमा पनि माग उठेको छ। सांसद कान्तिका सेजुवालले बुधबार भएको प्रतिनिधिसभा बैठकमा हिमाली जिल्लाहरूमा तत्काल नयाँ पुस्तक उपलब्ध गराउन माग गरिन्।

उनका अनुसार जुम्ला जिल्लामा मात्रै यतिखेर ४२ हजार २१७ विद्यार्थी पुस्तकबिनै विद्यालय आउन बाध्य छन्। ‘हिमाली जिल्लाहरूमा फागुन १ गतेबाट शैक्षिक सत्र सुरु भइ हाल पढाइ सञ्चालन भएको छ तर पुस्तक बिना नै, त्यसैले त्यहाँ समयमा पुस्तक पुर्‍याउन आग्रह गर्छु,’ उनले भनिन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले माघ १५ गते नयाँ शैक्षिक सत्र वैशाख १ गते सुरू हुने सूचना जारी गरेको थियो। मन्त्रालयको माघ ६ को मन्त्रीस्तरीय निर्णयअनुसार देशभरि नै वैशाख १ गते शैक्षिक सत्र सुरू भइ चैत मसान्तसम्म कायम गरिएको छ।

तर यो निर्णय संशोधन गर्नुपर्ने माग सांसद सेजुवालको छ। कर्णाली प्रदेशको शिक्षा विकास निर्देशनालयकी निर्देशक दीपा हमालका अनुसार हिमाली जिल्लाहरूमा फागुन पहिलो साता नयाँ शैक्षिक सत्र सुरू भइ मंसिरमा सकिने बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.