|

इलाम : प्रदेश १ खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले खेलकुद क्षेत्रलाई सरकारले प्राथमिकता नदिएको गुनासो गरेका छन्।

उनले खेलकुद मन्त्रालय लिने चाहना राजनीतिक दलहरुमा नहुँदा खेल क्षेत्रमा समस्या बढ्दै गएको गुनासो गरे। इलामको सूर्योदय नगरपालिकामा पत्रकारहरूसँग प्रदेश १ को खेलकुदको वर्तमान अवस्थाबारे उनले सरकारसँग खेलकुद विकास योजना नामकै मात्र भएको बताए।

उनले विस २००७ सालको मोडलअनुरुप नै अहिले पनि खेलकुद क्षेत्र चलेको बताउँदै संघीय संरचनाअनुरुप अघि बढ्नुपर्ने जिकिर गरे। उनी अहिले खेलकुदका कर्मचारीहरू जागिर पकाउने काम मात्र गर्दै आएको बताउँछन्।

राष्ट्रपति रनिङ शिल्ड आयोजनाको अन्योलबारे पत्रकारहरूको प्रश्नमा वाग्लेले भने‚ ‘अहिले राष्ट्रपति रनिङ शिल्ड आयोजनाको लागि १ लाख रूपैयाँ बजेट विनियोजन हुन्छ। पालिकाहरूले इज्जत नधान्न हो भने नेपाली खेलकुदको वास्तविक अवस्था झल्कन्छ। १ लाख रूपैयाँले टेन्ट व्यवस्थापन गर्न समेत पुग्दैन।’

उनले खेलाडी उत्पादनको थलो राष्ट्रपति रनिङ शिल्ड भए पनि कार्ययोजनाअनुसार बजेट सरकारबाट नपाएको गुनासो गरे। ‘प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिवको रुपमा आउँदा ८४ करोड रूपैयाँको कार्ययोजना पेश गरिएको थियो। जसमा १९ करोड पूर्वाधार निर्माणका लागि थियो‚’ उनले भने‚ ‘तर कुल बजेट १३ करोडमात्र प्राप्त भयो। त्यसमा पनि ३ करोड मन्त्रिपरिषदको निर्णय भन्दै बोर्डको बजेट पालिकाहरुलाई आफूखुशी वितरण गरिएको रहेछ।’

उनी राष्ट्रिय खेलकुद परिषद संघीयताको मोडलअनुसार अघि बढ्न नसकेको बताउँछन्।

‘अहिले १२५ जना कर्मचारी राखेपका छन् जिल्ला अध्यक्ष प्रदेशले नियुक्त गर्नुपरेको छ। फरक फरक अस्तित्व भएको कारण कर्मचारी र अध्यक्षबीच नै अन्तरद्वन्द्वको अवस्था सृजना भएको छ‚’ उनले भने‚ ‘अझै पनि पूर्वाञ्चल खेलकुद विकास समितिको नाममा पत्राचार हुने गरेको छ। ७ वटै प्रदेशका सदस्यसचिवहरुले ध्यानाकर्षण गराएका छौं। राखेपका कर्मचारीले प्रदेशमातहत नहुने हो भने राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्न सक्ने अवस्था छैन।’

उनी पर्याप्त बजेट नहुँदा जिल्लाका खेलकुद गतिविधिहरुलाई चलायमान बनाउन नसकेको बताउँछन्। उनले आफू चैतमा सदस्य सचिव नियुक्त हुँदा गरेको प्रतिबद्धता पूरा गर्न तयार रहेको बताए।

वाग्लेले खेलकुदमा राजनीतिक नियुक्तिका कारण सरकार परिर्वतनसँगै पदबाट हट्नुपर्ने अवस्थाका कारण सोचेअनुरुप काम गर्न समस्या रहेको बताउँछन्।

‘मैले प्रतिबद्धता गरेअनुसार अन्तरराष्ट्रिय खेलाडीले उपचारमा सहुलियत पाएका छन्। अहिले पनि नोवेल हस्पिटलमा पूर्व अन्तरराष्ट्रिय भलिबल खेलाडी वीरनारायण चौधरी उपचाररत हुनुहुन्छ। ३ सय खेलाडीको उपचार कार्ड बनाइएको छ‚ अहिलेसम्म १ सयभन्दा बढी खेलाडीले लगेका छन्‚’ उनले भने‚ ‘मसँग खेलकुद विकासका योजना छन् बजेट छैन। राजेन्द्र राई मुख्यमन्त्री नभएको भए निःशुल्क स्वास्थ्य उपचार र राष्ट्रिय खेलकुदमा प्रदेश १ को सहभागिता उत्साहप्रद हुने थिएन। उहाँले पूरक बजेटबाट ९ करोड विनियोजन गरेर ९ औं राष्ट्रिय खेलकुदमा सुधारिएको प्रर्दशन भएको छ।’

वाग्लेले राष्ट्रिय खेलकुदबाट बचत भएको करिब ९६ लाख रूपैयाँ मेडल ल्याउने खेलाडीलाई प्रोत्साहनस्वरुप वितरण गरिएको बताए।

‘स्वर्ण पदक विजेता खेलाडीलाई जनही नगद १ लाख, रजत पदक विजेतालाई ७५ हजार र कास्य पदक विजेतालाई ५० हजारसहित सम्मान गरिएको छ। प्रशिक्षकलाई नगद २५ हजार र व्यवस्थापकलाई २० हजार प्रदान गरेका छौं‚’ उनले भने‚ ‘पदक विजेतालाई मासिक तलबको व्यवस्था गरौं भनेर प्रस्ताव गरेको थिएँ तर कर्मचारीहरूले झन्झट मानेपछि एकमुष्ठ नै वितरण गर्नुपर्‍यो।’

राष्ट्रिय खेलकुदमा सहभागी प्रदेश १ का ८०२ जना खेलाडी र अफिसियलहरूलाई छुटमा उपचारका लागि विराट नर्सिङ होमसँग सहकार्यको प्रक्रिया अघि बढेको उनले बताए। अन्तरराष्ट्रिय खेलाडीहरूका लागि नोबेल र काठमाडौं मेडिकल कलेज (केएमसी) सँग उपचारको सम्झौता भएको छ।

वाग्लेले ७ वटै प्रदेश खेलकुद विकास बोर्डले आगामी वर्षदेखि विभागीय टोलीबाहेक प्रदेशका खेलाडीहरूको प्रोत्साहनका लागि राष्ट्रिय खेलकुद आयोजना अघि बढाएको बताए।

‘विभागबाहेक आगामी वर्ष प्रदेशको मात्र सहभागितामा राष्ट्रिय खेल गर्ने तयारी छ। जसमा ७ वटा प्रदेश हुनेछन्। २०८० को संस्करण बागमतीले गर्ने सहमति भएको छ । २०८१ को संस्करण प्रदेश १ ले गर्छ‚’ उनले भने‚ ‘सरकार परिर्वतनका कारण बोर्डबाट बाहिरिनु परेन भने मैले नियुक्तस लिँदा घोषणा गरेका कार्यक्रम पूरा गर्छु तर त्यसका लागि सरकारले आवश्यक कार्ययोजनाअनुसार बजेट विनियोजनको वातावरण तयार गर्नुपर्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.