कर्णालीका जिल्लामा भर्ना शुरु तर पुस्तक अभाव

|

काठमाडौं : सरकारको स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई यतिखेर नयाँ पुस्तक र प्रश्नपत्र छाप्न भ्याइनभ्याई भएको छ। २०८० सालको नयाँ शैक्षिक सत्रका लागि पुस्तक छाप्दै आइरहेका वेला यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को प्रश्नपत्र पनि अहिले छापिँदै आएको छ।

जनक शिक्षाका अनुसार नेपाली सेनासहित तीन सुरक्षानिकायको घेराभित्र गत आइतवारदेखि प्रश्नपत्र छपाइ शुरु भएको छ। यो वर्ष ५ लाख १६ हजार विद्यार्थीका लागि प्रश्नपत्र छपाइ भइरहेको छ। 

नयाँ शैक्षिक सत्र पनि नजिकिदै छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले माघ १५ गते आगामी २०८० को नयाँ शैक्षिक सत्र वैशाख १ गतेदेखि देशभर शुरु गर्ने गरी परिपत्र गरेको छ। मन्त्रालयको माघ ६ को मन्त्रिस्तरीय निर्णयानुसार वैशाख १ गते शैक्षिक सत्र शुरु भई चैत मसान्तसम्म कायम गरिएको छ।

यही कारण छिटो पुस्तक छपाइ सक्नुपर्ने र सम्बन्धित ठाउँमा पुस्तक पुर्‍याउनुपर्ने हुन्छ। यही वेला फेरि एसइई परीक्षाको प्रश्नपत्र छपाइले पुस्तक छाप्न रोकिने कि भन्ने छ। पुस्तक छपाइ नरोकिएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका सूचना अधिकारी चित्रकुमार आचार्यले जानकारी दिए।

‘प्रश्नपत्र छपाइका लागि छुट्टै प्रिन्टर मेसिन छ। त्यहाँ छापिँदै छ। बुक छपाइका लागि अर्को मेसिन छ। त्यही भएर धमाधम पुस्तक छापिरहेका छौँ,कुनै काम रोकिँदैन’‚ उनले भने। 

कर्णालीका जिल्लामा भर्ना शुरु‚ पुस्तक अभाव

वैशाखबाट नयाँ शैक्षिक सत्र थाल्ने सरकारकाे निर्णय कर्णाली प्रदेश सरकार र स्थानीय तहले नमान्ने भएको छ। कर्णालीका जिल्लामा भने यही फागुनबाट शैक्षिक सत्र शुरु हुनेछ।

जुम्लाको गुठीचौर गाउँपालिका शिक्षा शाखाका शिक्षा प्रास सिंहमात रावतका अनुसार यतिखेर हिमाली जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा नयाँ भर्ना कार्यक्रम भइरहेको छ तर नयाँ पुस्तक भने त्यहाँ पुगेको छैन। यसका लागि पहल भइरहेको उनको भनाइ छ।

कर्णाली प्रदेशको शिक्षा विकास निर्देशनालयकी निर्देशक दीपा हमाल फागुन पहिलो साता नयाँ शैक्षिक सत्र शुरु भई मंसिरमा सकिने बताउँछन्। पछि हिमपातका कारण पढाइमा असर पुग्ने कारण पहिलादेखि नै हिमाली क्षेत्रमा शैक्षिक सत्र शुरु भएको उनी बताउँछन्। 

तत्काल उपलब्ध गराउन सांसदहरूको माग

वर्षेनि समयमा विद्यार्थीको हातमा पुस्तक नपुगेकाले यो वर्ष भने समयमा सम्बन्धित ठाउँमा पुस्तक पुर्‍याउन माग गर्दै सांसदले सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले गत आइतबार प्रतिनिधिसभाको बैठकमा तत्काल हिमाली जिल्लामा नयाँ किताब उपलब्ध गराउन सरकारसँग माग गरेका थिए। उनले समयमा मतपत्र छाप्ने सरकारले किताब छाप्न किन सक्दैन भन्दै प्रश्न पनि गरे। 

त्यसैगरी बुधबार सांसद कान्तिका सेजुवालले प्रतिनिधिसभा बैठकमा हिमाली जिल्लामा तत्काल नयाँ पुस्तक उपलब्ध गराउन माग गरिन्। उनका अनुसार जुम्लामा मात्रै यतिखेर ४२ हजार २१७ विद्यार्थी पुस्तकबिनै विद्यालय आउन बाध्य छन्।

उनले भनिन्,‘हिमाली जिल्लामा फागुन १ गतेबाट शैक्षिक सत्र शुरु भई पढाइ सञ्चालन भएको छ तर पुस्तकबिना नै। त्यसैले त्यहाँ समयमा पुस्तक पुर्‍याउन आग्रह गर्छु।’ 

सकियाे ९० लाख थान पुस्तक छपाइ

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका सूचना अधिकारी आचार्यले अहिलेसम्म ९० लाख थान नयाँ पुस्तक छपाइ सकिएको जानकारी दिए। उनका अनुसार दैनिक एक लाख थानभन्दा बढी नयाँ पुस्तक छापिँदै आएको छ।

यो शैक्षिक सत्रका लागि २ करोड १२ लाख थान नयाँ पुस्तक छाप्नुपर्ने छ। बाँकी सबै पुस्तक चैत्र मसान्तभित्र छपाइसक्ने बताए। नियमित छाप्दै सम्बन्धित निकायमा पठाउने भएकाले पुस्तक अभाव नहुने उनको भनाइ छ। 

उनका अनुसार जनक शिक्षाका केन्द्रीय कार्यालय बजार व्यवस्था विभाग, प्रदेश १ कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय जनकपुर, बागमती प्रदेश कार्यालय भरतपुर, गण्डकी प्रदेश कार्यालय पोखरामा पठाइन्छ। यसैगरी लुम्बिनी प्रदेश कार्यालय सुर्खेत, सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी र प्रादेशिक प्रेस नेपालगञ्जमा पुस्तक पठाइने र त्यहाँ बाट लिन सकिने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.