|

जनकपुरधाम :  मिथिलाको बहुचर्चित सांस्कृतिक उत्सव ‘मिथिला माध्यमिकी परिक्रमा’मा सहभागी श्रद्धालु आज पाँचौं दिन महोत्तरीको जलेश्वर पुगेका छन्।

मटिहानीबाट आज शुक्रबार बिहानैदेखि परिक्रमा यात्री जलेश्वर पुगेर त्रेतायुगीन महादेव स्थलको रूपमा रहेको जलेश्वरनाथको पूजापाठ र दर्शन गर्नेछन्।

परिक्रमाका सहभागीलाई नगरपालिकावासी र स्थानीय युवा क्लबहरूले स्वागत समेत गरेका छन्। महोत्तरीको जलेश्वर नगरपालिकाले मिथिला माध्यमिकी परिक्रमा मेला (उत्सव, जात्रा) का लागि आज  सार्वजनिक बिदा पनि घोषणा गरेको छ।

जलेश्वर नगरपालिकाले आज परिक्रमा यात्रीलाई स्वागत गर्न सार्वजनिक बिदा दिएको जलेश्वर नगरपालिका नगरप्रमुख सुरेश साह सोनारले जानकारी दिए। 

मिथिला माध्यमिकी यात्राको पाँचौँ दिन आज राम-सीताको डोलासहितका यात्री रात्रिविश्रामका लागि जलेश्वर आउने क्रम एकाबिहानैदेखि शुरु भएको छ।

जलेश्वरमा आइपुग्ने यात्री श्रीजलेश्वरनाथ महादेवको दर्शन गरेर परिक्रमा पोखरी (यात्री बस्ने ठाउँको नाउँ) मा जम्मा हुन्छन्। रामसीताको डोला राखिनासाथ दर्शन गर्नेको भीड लागेको छ।

डोला आइपुगेपछि भोलिपल्ट अघिल्लो यात्रामा ननिस्कुनञ्जेल नाचगान, भजनकीर्तन र खेलतमासाको मेला उत्सव रहने रात्रिविश्रामस्थलको पुरानो परम्परा हो।

गत सोमबार फाल्गुन अमावास्याका दिन धनुषाको ठेराकचुरीबाट शुरु भएको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको टोली चौथो दिन मटिहानी पुगेको थियो। आज पाँचौँ दिन जलेश्वरमा रात्रिविश्रामपछि छैटौँ दिन भोलि मडै, सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवनको वासपछि महोत्तरीको यात्रा पूरा हुनेछ।

परिक्रमामा सहभागीहरू शुक्रबार महोत्तरी सदरमुकाम जलेश्वर, शनिबार मडै, आइतबार ध्रुवकुण्ड, सोमबार कञ्चनवन, मंगलबार पर्वता, बुधबार धनुषाधाम, बिहीबार औरही, शुक्रबार विशौल हुँदै शनिबार पुनः कल्याणेश्वर र त्यसपछि पूर्णिमाका दिन आइतबार जनकपुरधाम फर्कनेछन्।

कञ्चनवनमा अग्निकुण्ड मन्दिरको आयोजनमा परिक्रमामा सहभागीले एकापसमा होली खेलेपछि औपचारिकरूपमा होली सुरु भएको मानिन्छ। हरेक वर्ष हुने परिक्रमामा भक्तजनले १५ दिनमा नेपालको १०५ र भारतको २८ गरी कूल १३३ किलोमिटरको दूरीमा पैदल यात्रा गर्छन्।

पवित्र धार्मिक स्थलको परिक्रमा गर्दा पाप नाश हुनुका साथै पुण्य मिल्ने जनविश्वास छ। परिक्रमा अवधिभर सहभागीले झाँकी र भजनकीर्तन पनि गर्छन्। मिथिलाको महाकुम्भ भनेर चिनिने यो महोत्सवमा हजारौंको सहभागी हुने गरे पनि यो धार्मिक यात्रालाई व्यावसायिक रूप दिन नसक्नु सरकारको कमजोरी रहेको जानकीमन्दिरका महन्त तपेश्वर रामरोशन दास बताउँछन्।

परिक्रमामा सहभागीका लागि प्रत्येक वर्ष बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले १५ वटै विश्रामस्थलमा बिजुली, खानेपानीलगायतको व्यवस्था मिलाउने गरेको अध्यक्ष शीतल साह बताउँछन्।

परिक्रमा गर्नेहरू राति गाउँभन्दा टाढा खुला चौर, बगैंचा वा पोखरीको डिलमा विश्राम गर्छन्। स्थानीय बासिन्दाले पनि सहभागीका लागि अन्न, दाउराको प्रबन्ध समेत  मिलाउँछन्।

नेपाल र भारत दुवै मुलुकको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सद्भावको प्रतीक बनेको यो परिक्रमा यात्रामा नेपालका १३ र भारतका २ गरी जम्मा १५ वटा विश्रामस्थल छन्। मिथिला महात्म्यअनुसार १८औं शताब्दीदेखि यो धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाका रूपमा मनाइँदै आएको हो।

प्राचीन मिथिलाको राजधानी जनकपुरधामको चारवटै कुनामा स्थापना भएका चार शिवालय कल्याणेश्वर, जलेश्वर, क्षिरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा समेत रहेको जानकारहरू बताउँछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.