|

काठमाडौं : मनाङ मर्स्याङ्दी क्लब शहीद स्मारक ए डिभिजन लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ भएको खेलमा न्युरोड टिम एनआरटीलाई ३–१ गोल अन्तरले हराउँदै मनाङ ८ अंकसहित लिगको तेस्रो स्थानमा उक्लिएको हो।

खेलको ३९ औँ मिनेटमा रोशन राना मगरको गोलबाट अग्रता बनाएको मनाङका लागि ६८औं मिनेटमा सैदजामोल दाभ्लात जोनाभले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दोब्बर बनाएका थिए। खेलको ८६ औँ मिनेटमा कोफी टिमोथी कौडोले अर्को गोल थप्दै ३–१ को जित दिलाए।

एनआरटीका लागि इन्जुरी समयमा अशोक थापाले सान्त्वना गोल फर्काए। अहिलेसम्म जितविहीन रहेको एनआरटी पुछारबाट दोस्रो स्थानमा छ।

​बुधबार नै भएको पहिलो खेलमा त्रिभुवन आर्मीले लिगमा पहिलो हार बेहोरेको छ। ललितपुरको च्यासल खेल मैदानमा बुधबार भएको पहिलो खेलमा आर्मीले एपिएफ क्लबसंँग १-० को हार बेहोरेको हो।

एपिएफको जितमा खेलको ३६ औँ मिनेटमा मणि लामाले गरेको गोल नै निर्णायक रह्यो। जितसँगै ७ अंकसहित एपिएफ लिगको पाँचौं स्थानमा उक्लिएको छ।

जारी लिगमा १० अंकसहित चर्च ब्वाइज युनाइटेड शीर्ष स्थानमा छ। ९ अंकसहित सातदोबाटो दोस्रो तथा ८ अंकसहित मनाङ तेस्रो स्थानमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.