रोकिएको क्याम्पसमा १२ गतेभित्र निर्वाचन गर्न निर्देशन

|

काठमाडौं : आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। १४ वर्षदेखि नियमित हुन नसकेको निर्वाचन भएर कतिपय क्याम्पसहरूको मत परिणाम आइसकेको पनि छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय क्याम्पसको सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का उम्मेदवार श्याम ओझा विजयी भएका छन्।

नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका विष्णु ढुंगेल निर्वाचित भएका छन्। काठमाडौं उपत्यका भित्र र बाहिरका अधिकांश क्याम्पसहरूको पनि अन्तिम मतपरिणाम आइसकेको छ। तर कतिपय क्याम्पसमा भने विवादका कारण निर्वाचन रोकिएको छ।

त्रिविका अनुसार ६२ आङ्गिक क्याम्पसमध्ये १३ क्याम्पसमा निर्वाचन रोकिएको छ। उपत्यकामा त्रिचन्द्र‚ आरआर क्याम्पस, अमृत साइन्स क्याम्पस, पाटन संयुक्त क्याम्पस, नेपाल कमर्श क्याम्पस र विश्वभाषा क्याम्पसमा निर्वाचन प्रक्रिया अवरूद्ध छ।

सबभन्दा धेरै विद्यार्थी भएको पोखराको पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, पोखरा वन क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्ज, वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, धौलागिरि बहुमुखी क्याम्पस बागलुङ र सिद्धनाथ साइन्स बहुमुखी क्याम्पस पनि निर्वाचन प्रक्रिया रोकिएको छ।

स्ववियु विद्यार्थीहरूको मतदानबाट क्याम्पस/कलेजमा चुनिने वैधानिक संस्था हो। यो निर्वाचनमा विद्यार्थीहरूले आ–आफ्नो अधिकार प्रयोग गर्छन् र निर्वाचनबाट योग्य नेतृत्व छानिन्छ। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार दुई चरणमा निर्वाचन हुनेछ।

‘यो मिश्रित प्रणाली हो, मिश्रित प्रणाली भएकाले प्रत्यक्षबाट ३ जना पदाधिकारी र ५० प्रतिशत सदस्यहरूको नाम क्याम्पसमा आउँछ। समानुपातिक प्रणालीबाट ५० प्रतिशत सदस्य संख्या र २ पदाधिकारी हुन्छ, यो भएकाले हिजो भएको मितिले एक हप्ताभित्र समानुपातिकको नाम विद्यार्थी संगठनले दिनुपर्छ, त्यसपछि त्यहाँको निर्वाचन समितिले दोस्रो निर्वाचन गर्छ,’ उनले भने।

त्यसपछि बल्ल कति क्याम्पसका को-को निर्वाचित भए भन्ने औपचारिक जानकारी त्रिविमा आउने उनले बताए।

स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनसम्बन्धी निर्देशिका, २०७९ को मतपत्रसम्बन्धी व्यवस्थामा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फको लागि अलग अलग मतपत्र हुन्छ र समानुपातिक मतपत्रमा संख्या, संगठन वा समूहको नाम राखिने व्यवस्था छ। प्रत्यक्षतर्फका मतपत्रमा संघ, संगठन वा समूह र उम्मेदवारको नाम राखिने व्यवस्था छ।

प्रत्यक्ष निर्वाचनतर्फको मतगणनामा मत बराबर भएमा गोला प्रथाबाट निर्णय गरिन्छ। समानुपातिकतर्फ खसेको सदर मतलाई समानुपातिकतर्फ निर्वाचन हुने सदस्य संख्याले भाग गरी आएको भागफललाई निर्वाचित हुने मत कोटा मानिनेछ।

यो मत कोटाको अनुपातमा संघ, संगठन वा समूहको सदस्य निर्वाचित हुने छन्। निर्वाचित हुने आवश्यक संख्या पूरा नभएमा अधिकतम शेषफलको क्रमअनुसार निर्वाचित हुने सदस्य संख्या वितरण गरिनेछ। 

उपाध्यक्ष पद १ र सहायक पद १ मा निर्वाचन गर्दा प्रत्यक्षतर्फबाट निर्वाचित पदाधिकारीहरू र सदस्यहरू तथा समानुपातिकतर्फबाट निर्वाचित भएका सदस्यसहितको स्ववियु कार्य समितिले समानुपातिकबाट आएका सदस्यमध्येबाट सर्वसम्मत वा बहुमतको आधारमा निर्वाचित गर्नेछ।

जस्तै, उदाहरणको लागि १ सदस्यीय स्ववियु कार्य समितिमा अध्यक्ष, सचिव, कोषाध्यक्ष र ३ जना सदस्य प्रत्यक्षबाट आउनेछन् भने ५ जना समानुपातिक सदस्यमध्येबाट उपाध्यक्ष १, सहायक सचिव १ र ३ जना सदस्य चुनिने निर्देशिकामा उल्लेख छ।

मतगणना सकिएको ७ दिनभित्र समानुपातिकतर्फ निर्वाचित घोषणा गर्नुपर्ने

निर्देशिकाअनुसार स्ववियु निर्वाचनको मतगणना सम्पन्न भएको ७ दिनभित्रमा निर्वाचनमा समानुपातिकतर्फ संघ, संगठन वा समूहले प्राप्त गरेको मतको आधारमा सदस्यमा निर्वाचित हुने संख्या तोकी संघ, संगठन वा समूहले पेश गरेको सूचीभित्रका नाममध्येबाट संघ, संगठन समूहबाट नाम सिफारिस मागी निर्वाचित भएको घोषणा गर्नुपर्नेछ।

‘७ दिनभित्र नाम सिफारिस भइ नआएमा संघ‚ संगठन‚ समूहले पेस गरेको सूचीको क्रम संख्याको क्रमांक १ बाट क्रमशः सदस्य छनोट गरिनेछ,’ निर्देशिकामा भनिएको छ, ‘मतगणना सकिनासाथ विजयी उम्मेदवारहरूले पाएको मतको संख्या र समानुपातिकतर्फ प्राप्त सिट संख्यासमेत उल्लेख गरी परिणाम घोषणा गर्नुपर्नेछ।’

रोकिएका क्याम्पसमा १२ गतेभित्र निर्वाचन गराउन निर्देशन 

त्रिभुवन विश्वविद्यालयले विभिन्न विवादका कारण चुनाव रोकिएका क्याम्पसमा यही चैत १२ गतेभित्र स्ववियु निर्वाचन गर्न निर्देशन दिएको छ। त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले चैत १२ गतेदेखि परीक्षा सञ्चालन हुने भएकाले सोभन्दा अगाडि नै रोकिएका क्याम्पसमा स्ववियु निर्वाचन गराउन निर्देशन दिएका हुन्। रोकिएका क्याम्पसमा आपसी सहमति गरी निर्वाचन प्रक्रिया अगाडि बढाउन उनको आग्रह छ। 

बास्कोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्थगन भएका क्याम्पस कलेजमा पनि आगामी चैत १२ गतेदेखि सञ्चालन हुन गइरहेको परीक्षालाई मध्यनजर गरी सोअगावै आपसी समझदारी कायम गर्दै कसैको हारजित नसम्झी विद्यार्थी युनियनको जितलाई केन्द्रबिन्दुमा राखी स्थगन भएका निर्वाचन प्रक्रियालाई सम्पन्न गर्न सबै क्याम्पस, राजनीतिक दल, विद्यार्थी संगठन, स्थानीय प्रशासनलाई अनुरोध गर्दछु।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.