|

बैतडी : बैतडीको पाटन बजारमा रहेका अनधिकृत संरचना नगरपालिकाले डोजर प्रयोग गरेर हटाउन थालेको छ। पाटन नमुना शहर क्षेत्रमा नयाँ सडक निर्माण गर्न अनधिकृत संरचना हटाउन शुरु गरिएको नगरप्रमुख गौरीसिंह रावलले जानकारी दिए।

नगरपालिकाले बजारबाट नयाँ बसपार्क जोड्ने सडक र विमानस्थल जोड्ने शाखा सडक निर्माण गर्न उक्त क्षेत्रमा बनेका संरचना हटाउन थालेको हो। उक्त क्षेत्र जोड्ने सडकको क्षेत्राधिकारभित्र पर्ने नगर विकासको जमिनमा बनेका अस्थायी संरचना हटाउन थालिएको नगरप्रमुख रावलले बताए।

उनले भने, ‘अनधिकृत रूपमा बनेका संरचना हटाउन नगरपालिकाले पुसमै ३५ दिने सूचना जारी गरेको थियो। उक्त सूचनाको अवज्ञा गरेपछि हामीले डोजर प्रयोग गरेका हौं। अब नयाँ शहरको कामले गति लिने विश्वास गरेका छौं।’ 

सडक ५ मिटरसम्मको चौडा बनाइन लागिएकाले अनधिकृत संरचना हटाउन थालिएको हो। पाटन नयाँ शहर आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर रोहितराज भण्डारीका अनुसार सडक चौडा गर्न ५ करोडको ठेक्का भइसकेको छ।

सरकारले आर्थिक वर्ष २०६७।०६८ सालमा मध्यपहाडी लोकमार्गअन्तर्गत १० शहरलाई नमुनाका रूपमा विकसित गर्ने निर्णय गरेको हो। तिनै १० नमुना शहरमध्ये १० औँ शहरको रूपमा बैतडीको पाटनलाई विकसित गर्ने निर्णय भएको थियो।

गत आर्थिक वर्षमा आधा बजेट समेत खर्च नभएपछि चालू आवमा बजेट घटेर आएको छ। चालू आवमा १२ करोड ९२ लाख बजेट आएको कार्यालयले जनाएको छ। 
जग्गा एकीकरणका लागि जग्गाधनीले जग्गा उपलब्ध नगराउँदा काम अघि बढ्न सकेको छैन।

जग्गा एकीकरण प्रक्रियामा स्थानीयले योजना सम्पन्न हुँदासम्म नयाँ शहरी विकासको कार्यालयलाई लालपुर्जा सहित जग्गा हस्तान्तरण गर्नुपर्ने हुन्छ। त्यस ठाउँमा नयाँ शहरी विकासको कार्यालयले उपयुक्त बसोवासका लागि घर, खानेपानी, खेल्ने चौर, विद्युतीकरणदेखि सुविधासम्पन्न भौतिक संरचना बनाएर त्यसपछि ती जग्गाधनीलाई नै हस्तान्तरण गर्ने कार्यक्रम हो।

पाटन बजार क्षेत्र आसपासका क्षेत्रमा जग्गा छनौट गरिए पनि कृषियोज्ञ जमिन नदिने बताएपछि उक्त काम रोकिएको छ।

एक लाखभन्दा बढी मानिसको बसोवास गराउने र आधुनिक सुविधासहित व्यवस्थित शहर बनाउने निर्णय हुँदा पाटनवासी निकै खुशी भएका थिए। १२ वर्ष बितिसक्दा समेत यो शहरमा विकास निर्माणका कामले खासै गति लिन नसकेकोमा निराशा छाउँदै गएको स्थानीय दिनेश बिष्टको भनाइ रहेको छ।

विभिन्न पर्यटकीय सम्भावना बोकेको पाटन शहरको विकास भएपछि यो क्षेत्रका युवालाई प्रशस्त रोजगारीका सम्भावना प्राप्त हुनेछ। अहिले बैतडीबाट हजारौँ मानिसले तराईतिर बसाइँसराइ गरिरहेको र हजारौँ युवा विदेश गइरहेका वेला पाटन नै नयाँ शहर बनिसकेपछि यस अवस्थाको अन्त्य हुनेछ।

पाटनलाई वि.सं. २०८८ भित्र नयाँ शहरका रूपमा विकास गरिसक्ने लक्ष्य राखिए पनि उक्त अवधिमा सम्पन्न हुनेमा आशंका गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.