|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवानेतृत्वको  नवगठित मन्त्रिपरिषदमा प्रधानमन्त्रीसहित कांग्रेसका चार, माओवादी केन्द्रका तीन र फोरम लोकतान्त्रिकका एक मन्त्री  छन्। मन्त्रिपरिषदमा रहेका अाठै जना नयाँ अनुहार होइनन्। 

प्रधानमन्त्री देउवा र सात मन्त्रीले यसअघि विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्। २०४६ सालमा प्रजातन्त्र अाएपछिको पहिलो जननिर्वाचित सरकारका गृहमन्त्री देउवा अाफैं चौथो पटक प्रधानमन्त्री बनेका हुन्।  

लोकतन्त्रको स्थापना २०६२\०६३ पछि गठन भएका सरकारमा कृष्णबहादुर महरा र गच्छदार ६\६ पटक मन्त्री बनेका छन्।  २०४८ सालदेखिको गणना गर्ने हो भने गच्छदार १३ पटक मन्त्री भइसकेका छन्। उनी २०६६ सालमा माधवकुमार नेपालको नेतृत्वमा गठित सरकारमा पहिलो पटक उपप्रधानमन्त्री बनेका थिए।

हाल पनि उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री बनेका गच्छदारको उपप्रधानमन्त्री भएको यो पाँचौ पटक हो। गच्छदारपछि मन्त्रिपरिषदमा धेरै पटक सहभागी हुनेमा कृष्णबहादुर महरा पर्छन्।  उनी माओवादी केन्द्र सहभागी भएका दुईबाहेक सबै सरकारमा सहभागी भएका छन्।  उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री महरा २०६३  चैतमा पहिलो पटक मन्त्री बनेका थिए।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठन भएको अन्तरिम सरकारमा उनी सूचना तथा सञ्चार मन्त्री थिए।  माओवादी केन्द्रले २०६४ भदौमा सरकार छोड्यो र पुनः तीन महिनापछि फेरि सरकारमा फर्कियो त्यति बेला पनि महरा फेरि सञ्चार मन्त्री नै थिए।

२०६७ माघमा बनेको झलनाथ खनाल नेतृत्वको सरकारमा उनी पहिलोपटक उपप्रधानमन्त्रीका साथै चौथो पटक सञ्चारमन्त्री बनेका थिए।  बुधबार गठित कांग्रेस सभापति शेरबहादुर देउवाको सरकारमा उनी उपप्रधानमन्त्रीसहित र परराष्ट्रमन्त्री बनेका छन्।

नवगठिन सरकारमा गृहमन्त्रीको जिम्मेवारी पाएकामाओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रचण्डनेतृत्वको सरकारमा ऊर्जा मन्त्री थिए।  २०४८ सालमा गिरिजाप्रसाद कोइरालाको निर्वाचित सरकारमा नेपाली कांग्रेसका पूर्व उपसभापति गोपालमान श्रेष्ठले भौतिक योजना तथा निर्माण मन्त्री, वन तथा भूसंरक्षणमन्त्री र उद्योग मन्त्रीको रूपमा सहभागिता जनाएका थिए।

कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्की गिरिजाप्रसाद कोइरालाको पालामा २०६३ मा जलस्रोत मन्त्री बनेका थिए।  यसपटक उनले अर्थमन्त्रालयको जिम्मेवारी पाएका छन् । 

नेपाली कांग्रेसकै केन्द्रीय सदस्य फरमुल्लाह मन्सुर गिरिजाप्रसाद कोइरालाको पालामा वातावरण, विज्ञान तथा प्रविधि मन्त्री बनेका थिए।  उनी अहिले श्रम तथा रोजगार मन्त्री बनेका छन्। 

यस्तै, प्रधानमन्त्री देउवाको नेतृत्वमा विनाविभागीयमन्त्री भएका प्रभु साह २०६७ मा झलनाथ खनालनेतृत्वको सरकारमा पहिलो पटक कानुन तथा न्याय मन्त्री बनेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.