|

काठमाडौं : प्रतिनिधिसभाको बैठक बसेको छ। संसद् बैठकमा सांसदहरू उपस्थित नहुने र भए पनि बैठक नसकिँदै बाहिरिने परम्परा नै बनिसकेको छ। 

संसद बैठकमा विधेयक पास गर्न खोज्दा गणपुरक संख्या पनि नपुगेका इतिहास ताजै छन्। आजको प्रतिनिधिसभा बैठकमा पनि त्यस्तै दृश्य देखियो। बैठकमा शीर्ष नेताहरू उपस्थित नै भएनन् भने गएका सांसदहरू पनि पूरा समय बसेनन्।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, विपक्षी दलका नेता केपी शर्मा अ‍ोली लगायतका शीर्ष नेताहरू आजको बैठकमा देखिएनन्। 

उपसभामुख इन्दीरा रानाले बैठक चलाइरहँदा अधिकांश सांसदहरू हलबाट बाहिरिरहेका थिए। 

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले आफूहरूले सदनमा अझै कति समय, कति चोटी खाली मेचहरूलाई सम्बोधन गर्दै बस्ने हो? भन्दै प्रश्न गरीन्। 

‘प्रतिनिधि सभा नियमावली मस्यौदा समिति २०७९ को प्रतिवेदन’ माथिको दफावार छलफलका क्रममा आफ्नो संशोधन प्रस्तावलाई उल्लेख गर्दै सांसद श्रेष्ठले बैठकको व्यवस्थापन समय नतोकिएकाले खाली मेचलाई सम्बोधन गर्नुपर्ने अवस्था आएको बताइन्।

‘सांसदहरू बैठक चलिरहेको समयमा आवतजावत गरिराख्नुहुन्छ। अनि घण्टौँसम्म बिना कुनै विश्राम बैठक चलिरहँदा सबैलाई त गाह्रो हुन्छ नै नि, होइन र? त्यो त एक जना मान्छे वा दुई जना मान्छेलाई मात्रै होइन,’ उनले भनिन्, ‘समयलाई तोकौँ। समय व्यवस्थापन गरौँ। खाजाको समय तोकौँ भनेर मैले त्यसैकारण संशोधन प्रस्ताव राखेको हो।’ 

रास्वपाका अर्का सांसद विराजभक्त श्रेष्ठले मर्यादा पालकसँगै पाँच छ जना माइक्रोबसका खलासी राखेर संसदका सिटहरू सिटहरू भरिदिने बताए। उनले बैठकमा सांसदहरू उपस्थित नहुने र क्याबिनेटमा नेतृत्व गर्ने मन्त्री नै उपस्थित नहुँदा आफूहरूले उठाएका आवाज क्याबिनेटमा कसरी पुग्छ भन्दै प्रश्न गरे। 

‘मर्यादा पालकसँगै पाँच छ जना खलासी साथीहरू पनि राख्नुपर्छ। उनीहरूले कोचि कोचि सिटहरू भरिदिन्छ। यो संसद्को सिट पनि खलासी र मर्यादापालक साथीहरू राख्नुपर्छ। एउटा सिटमा दुई दुई जना बसेर सांसदहरू उपस्थित हुन्छ जस्तो लाग्छ,’ उनले भने, ‘नत्र यत्रो खर्च गरेर खाली संसद चलाएर के काम?’

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.