|

काठमाडौं : डिल्लीबजारस्थित भोजनगृह रेष्टुरेन्ट थप विशेषतासहित पुनः सञ्चालनमा आएको छ। २०५७ सालमा खुलेको भोजनगृह कोरोना महामारीको समयमा बन्द थियो।

भोजनगृह रहेको भवन तत्कालीन राजाका बडागुरुज्यूको भएकाले ऐतिहासिक महत्त्व रहेको सञ्चालक भरत बस्नेतले बताए। उनका अनुसार १०० वर्ष पुरानो भवनमा मौलिक, परम्परागत जातीय वेशभूषासहितको नृत्य र नेपाली खाना भोजनगृहको प्रमुख विशेषता हुन्।

भोजनगृह रहेको भवन जति पुरानो र ऐतिहासिक छ, भोजन गर्ने कक्ष पनि पुराना तथा ऐतिहासिक कलाकृतिबाट सजाइएको छ।भोजनगृहमा साँझ ७ देखि ९ बजेसम्म नेवारी, तामाङ सेलो, संगीनीलगायत नृत्य हेर्न र गीतबाट आनन्द लिन सकिन्छ।

नयाँ सोच र जाँगरका साथ भोजनगृह पुनः सञ्चालनमा ल्याएको उनले बताए। ‘पारिवारिक वातावरणमा नेपाली खाना र मनोरञ्जन एकैसाथ पाइन्छ’,  उनले भने ‘नेपालीपनको वैज्ञानिक र स्वास्थ्यवर्धक खाना खुवाउने उद्देश्य हो।’

यहाँ बिहानको खाना र दिउँसो खाजा पनि खुवाइन्छ। तर बेलुकाको खानाको विशेष महत्व छ। एक पटकमा २०० जना बसेर खान र रमाइलो गर्न सकिन्छ। खाना खाइरहँदा छेवैमा आएर कलाकारले प्रस्तुति दिन्छन्। 

बस्नेतका अनुसार भोजनगृह वातावरणमैत्री पनि छ। प्लाष्टिकका सामान केही पनि प्रयोग नगरेको र यहाँबाट उत्पादन भएका सामग्रीलाई सकेसम्म पुनःप्रयोग गर्ने गरेको उनले बताए।

कोरोनाअघि अतिथिलाई बस्न भ्याइनभ्याइ हुने गरेको बस्नेत सम्झन्छन्। फेरि सञ्चालनमा आएको भोजनगृहलाई सोही लयमा फर्काउन प्रयास गरेको उनको भनाइ छ।

पाँच रोपनी क्षेत्रफलमा फैलिएको जमिनमा रहेको भवनको तीन तल्लामध्ये एक तल्लामा खान बस्न मिल्छ। अन्य तलामा जिर्णोद्धारको काम चलिरहेको छ।भोजनगृहमा सेमिनार, विवाहभोज, गुन्यूचोली, व्रतबन्ध पनि गर्न सकिने व्यवस्था रहेको सञ्चालक बस्नेतले जनाए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.