|

दोलखा : बैतेश्वर गाउँपालिकाले राज्यको स्रोतबाट तलब भत्ता बुझ्दै आएका सबैलाई  सामुदायिक विद्यालयमा भर्ना गर्न भनेको छ। 

आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले बैतेश्वर निजामती कर्मचारी, जनप्रतिनिधि, शिक्षक, विद्यालय कर्मचारी, बालविकास सहयोगी कार्यकर्ता, सामुदायिक सिकाइ केन्द्रका परिचालक लगायत राज्य स्रोतबाट तलब भत्ता बुझ्ने अन्य कर्मचारीका छोराछोरी अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पठनपाठन गराउनुपर्ने निर्णय गरेको अध्यक्ष छवि लामाले जानकारी दिए। 

शैक्षिक गुणस्तर सुधार्ने योजनासहित पालिकाले यो शैक्षिक सत्रदेखि आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमै पढाउन आह्वान तथा अभियान सुरु गरेको अध्यक्ष लामाले बताए। पछिल्लो समय राज्य स्रोतबाट तलब भत्ता बुझ्ने धेरैले आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पढाउने गरेको तथा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र विद्यार्थी संख्या खस्किँदै गएकाले अनिवार्य भर्ना अभियान सुरु गरेको उनको भनाइ छ। 

पालिकाभित्रका सामुदायिक विद्यालयमा केही वर्षयता विद्यार्थी संख्या चिन्ताजनक थियो। कतिपय सामुदायिक विद्यालयमा विद्यार्थी संख्या शून्य हुन पुगेको भन्दै सामुदायिक विद्यालयको सरक्षण तथा शिक्षाको गुणस्तरलाई विकास गर्न बैतेश्वर गाउँपालिकाले सामुदायिक विद्यालयमै  अनिवार्य विद्यार्थी भर्ना अभियान गर्ने निर्णय गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.