|

दाङ : निकै भीडभाड हुने सरकारी कार्यालयहरू हिजोआज सुनसान हुन थालेका छन्। कुनै पनि काम गर्दा २-३ दिनसम्म लाग्ने मालपोत कार्यालय तुलसीपुरमा भने सेवाग्राही सेवा लिन कमै मात्रामा आउने गरेका छन्।

पछिल्लो समय देशमा भएका आर्थिक मन्दीका कारण सेवाग्राही सेवा लिन आउने क्रम घटिरहेको कार्यालयले जनाएको छ। करिब एक महिनादेखि मालपोत कार्यालय सुनसान हुँदै आएको कार्यालयका प्रमुख कर्णबहादुर नेपालीले बताए।

उनका अनुसार आर्थिक मन्दीका कारण सुनसान भएको हुनसक्छ। आर्थिक मन्दीका कारण अहिले जग्गा खरिद बिक्रीको कारोबार खासै नभएको पनि उनको भनाइ छ। उनले भने, ‘अहिले सेवाग्राहीहरू जग्गा खरिद बिक्रीका लागि भन्दा पनि रोक्का र फुकुवाको काम गर्न आउने गरेका छन्। अहिले खरिद बिक्रीको काम न्यून भएको छ।’

उनका अनुसार अन्य समयमा दैनिक एक सयसम्म जग्गाको रजिष्ट्रेशन हुने भए पनि अहिले दिनमा १५-२० वटा जति हुने गरेको छ। आर्थिक मन्दीका कारण जग्गाको कारोबार हुन नसक्दा राजस्व पनि एकदमै कम मात्रामा उठिरहेको उनले बताए। उनले भने, ‘विगतका समयमा दैनिक १५-२० लाख राजस्व संकलन हुन्थ्यो। अहिले  दैनिक  १-२ लाख राजस्व संकलन हुन्छ।’

 कार्यालयमा दर्ता स्रेस्ता र जग्गाधनी प्रमाण पुर्जा दिने कागजको अभाव

केही दिनदेखि  कार्यालयमा राख्ने स्रेस्ता र जग्गाधनी पुर्जा दिन कागज अभाव भएको कार्यालयले जनाएको छ। कार्यालय प्रमुख नेपालीका अनुसार यो कागज विभागले उपलब्ध गराउने भए पनि आफूले पटक पटक माग गरे पनि अहिलेसम्म आएको छैन।

उनले भने, ‘मैले माघ महिनामा १० हजार प्रति मगाएको थिएँ। ५ हजार प्रति मात्र आएको थियो। त्यो पनि अहिले सकिएको छ। असारसम्मका लागि अहिले ५ हजार प्रति माग गरेका  छौँ। अहिलेसम्म आएको छैन। विभागमा बुझ्दा ठेकेदारमार्फत कागजको छपाइ हुने र ठेकेदारले विभागमा नबुझाएको र अहिले विभागमा स्टक नभएको हुँदा २-४ दिनमा पठाउने कुरा आएको छ।’

कागज नहुँदा सेवाग्राहीलाई समस्या भइरहेको समेत उनको भनाइ छ।

उनका अनुसार कुनै सेवाग्राहीले जग्गा पास गरेर बैंकमा पुर्जा राख्न खोज्छन् तर बैंकमा राख्नका लागि पुर्जा चाहिन्छ, कागज नहुँदा सेवाग्राहीले समस्या पाएको उनको भनाइ छ।

उनले अहिले जग्गा पास गर्नेबित्तिकै लालपुर्जा लिएर जाने सेवाग्राही कागज नहुँदा फेरि अर्को पटक लिन आउनुपर्ने बाध्यता रहेको पनि बताए। उनले भने, ‘अहिले जग्गा पास गरेका सेवाग्राहीले हातमा लालपुर्जा लिन पाएका छैनन्।’

कागज  नहुँदा सेवाग्राही समस्यामा
तुलसीपुर-१९ का पदम वलीले जग्गा नामसारी गर्न मालपोत कार्यालयमा आएको बताए। उनले कार्यालयमा जग्गाको पुर्जा दिन स्रेस्ता कागज नहुँदा समस्या भएको बताए। उनले भने, ‘हामीलाई मालपोतमा स्रेस्ता कागज सकिएको थाहा थिएन। सबै काम पूरा भयो तर लालपुर्जा भने कागज अभावका कारण पाउन सकिएन।’

यस्तै उनले यस्तो जनतासँग प्रत्यक्ष जोडिएको कार्यालयमा कागज अभाव हुँदा नागरिकले समस्या पाएको भन्दै कसले र कहाँबाट आउने कागज हो ? त्यो तुरुन्त व्यवस्थापन हुनु पर्ने बताए।

‘आज जग्गाको नामसारी भएको छ तर लालपुर्जा ल्याउन अर्को दिन आउनुपर्ने भयो’, उनले भने, ‘यस्तो कामले नागरिकले सास्ती पाउने भए। सहज रूपमा सेवा पाए पनि लालपुर्जा लिन फेरि आउनुपर्ने भयो। यसतर्फ राज्यले ध्यान दिन जरुरी छ।’ यस्तै हिजोका दिनहरूमा जस्तो अहिले भीडभाड नहुँदा सेवा सहज रूपमा पाइएको समेत उनले बताए।

यसैगरी लेखापढी व्यवसायी वसन्त केसीले अहिले मन्दीका कारण जग्गाको कारोबार नहुँदा मालपोत कार्यालय सुनसान हुने गरेको बताए। एकातिर आर्थिक मन्दी र अर्कोतर्फ बैंकले पनि ऋण दिन रोकेका कारण पहिलाको तुलनामा अहिले जग्गाको कारोबार धेरै घटेको उनको भनाइ छ। पहिला हुने कामको तुलनामा अहिले आधा काम घटेको पनि उनले बताए।

यस्तै उनले पनि केन्द्रले कार्यालयमा स्रेस्ता नपठाउँदा सेवाग्राहीलाई लालपुर्जा दिन समस्या भएको बताए। उनले भने, ‘कुनै मानिसले पुर्जा निकालेर तत्काल कुनै काम गर्न खोजमा उसले पुर्जा नपाएर समस्या पाएको छ तर यसका लागि केन्द्रले ध्यान दिनुपर्छ। हामीले यो समस्याबारे कार्यालय प्रमुखलाई भन्दै आएको छौँ। दुई-चार दिनमा आउने भने पनि अहिलेसम्म आएको छैन।’ 

यातायात कार्यालय पनि सुनसान बन्दै, नयाँ दर्ता न्यून

यस्तै तुलसीपुर रहेको यातायात व्यवस्था कार्यालयमा पनि सेवाग्राही आउने क्रम घट्दो रहेको कार्यालयले जनाएको छ। कार्यालयका निमित्त प्रमुख कालिदास बस्यालका अनुसार विगत ३-४ महिनादेखि कार्यालयमा नयाँ गाडी दर्ता अत्यन्त न्यून मात्रामा हुने गरेका छन्।

उनले भने, ‘म जता जान्छु अहिले उतै सुनसान देख्छु। अहिले बजार पनि सुनसान अवस्थामा देख्छु। हाम्रो कार्यालयमा पनि सेवाग्राही आउने क्रम घट्दो छ। ३-४ महिना भयो। नयाँ ठूला गाडी दर्ता भएका छैनन्। साना मोटरसाइकल मात्र केही मात्रामा दर्ता भएका छन्। यो सबै आर्थिक मन्दीका कारण हुनसक्छ।’

अहिले कार्यालयमा नामसारी, ठाउँसारी, कर तिर्न मात्र सेवाग्राही आउने गरेको पनि उनको भनाइ छ। उनका अनुसार कार्यालयमा दैनिक एक हजारभन्दा बढी सेवाग्राहीले सेवा लिने गरेका थिए। अहिलेको अवस्था हेर्दा दिनदिनै घट्दै गएको हुँदा सुनसान बन्दै गएको छ।

यस्तै उनले सेवाग्राही घट्दै गएकाले राजस्व सङ्कलनमा पनि प्रत्यक्ष असर पार्ने समेत बताए। अहिले नयाँ दर्ता गर्नेको राजस्व पूरै बन्द रहेको भन्दै यस्तै अवस्था रहे प्रदेशको विकास निर्माणमा समेत असर पुग्नसक्ने उनको भनाइ छ। उनले भने, ‘नयाँ गाडीहरू ल्याउने भनेको शोरुमले हो तर उनीहरू बैंकसँग जोडिएका हुन्छन्। बैंकको ऋण प्रवाह अहिले बन्द भएको र ब्याज पनि धेरै भएको अवस्थामा आर्थिक चलायमान  नहुँदा सबै कारोबार बन्द भएको जस्तो मलाई लागेको छ।’

दिनप्रतिदिन सटर बन्द हुँदै :  उद्योगी व्यवसायी

तुलसीपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेतले अहिले देशमा भएको आर्थिक मन्दीका कारण दिनप्रतिदिन बजारका सटर  बन्द हुँदै गएको बताए। पछिल्लो समय युवाहरू विदेश जाने क्रम बढिरहेको र देशमा कृषि क्षेत्रमा उत्साहपूर्ण उत्पादन नहुँदासम्म देशको अर्थतन्त्र चलायमान नहुने पनि उनको भनाइ छ। राज्यले कृषि क्षेत्रमा राम्रो दृष्टि पुर्‍याउन नसक्दा अहिले देशमा यस्तो समस्या आएको पनि उनको आरोप छ। 

उनले भने, ‘आर्थिक क्षेत्रको चलायमान गराउने भनेको कृषि क्षेत्र हो। यहाँ किसानले समयमा मल र सिँचाइ पाउँदैनन्। आफ्नो तरिकाले खेती गरे पनि प्रकृतिले पनि नोक्सान गरिदिन्छ। राज्यको ध्यान यतातिर पुगेको देखिँदैन। किसानले उत्पादन भएको बस्तुबाट सबै कुरा चलायमान हुने हो। अन्नपात उत्पादन नभएपछि कसरी उद्योग सञ्चालन हुन्छ। जसले गर्दा अहिले सबै क्षेत्र बन्द हुने अवस्थामा पुगेका छन्।’​

बैंकहरूमा पैसा छैन। त्यसमा पनि मानिसहरूमा पैसा नहुँदा अहिले दिनप्रतिदिन बजार सुनसान भइरहेको अवस्था छ। यस्तै देशबाट निर्यातभन्दा आयात धेरै हुँदा र अहिलेको ३  तहको सरकार हुँदा पनि राज्यलाई खर्च चलाउन धौ भएको उनको भनाइ छ।

उनका अनुसार बैंकहरूको ब्याजदर महँगो हुँदा समान पनि महँगो हुन्छ अनि व्यवसायीहरूले जहाँ सस्तो पाउँछन्। त्यहीबाट लैजान्छन्। जसले गर्दा पनि ठूला उद्योगी व्यवसायीलाई समस्या हुने गरेको छ। राज्यले अहिले बैंकहरूमा बढेको ब्याजदरका बारेमा सोचेर सबैलाई सहज हुने गरी बनाउनु पर्ने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.