|

म्याग्दी : केही दिनयता म्याग्दी र छिमेकी जिल्ला पर्वतको जलजला क्षेत्रको जंगलमा लागेको डढेलोले  वायुमण्डल धुँवामय बनेको छ। डढेलोले एकातिर वन विनाश गरेको छ भने अर्कोतिर वातावरणलाई नै प्रदूषित गरेको छ।

केही दिनयता लागेको डढेलोले म्याग्दीको सदरमुकाम बेनी र आसपास क्षेत्रमा बाक्लो तुवाँलोले ढाकेको छ। धुवाँ र धुलोका कारण वातावरण प्रदूषित भएकाले जिल्ल्लामा श्वासप्रश्वास र आँखाका बिरामीहरू बढेका चिकित्सकहरूले बताएका छन्।

जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले विभिन्न वन क्षेत्रमा लागेको डढेलोका कारण आकाशमा धुँवाले ढाक्दा आँखा पोल्ने समस्या भएको र श्वासप्रश्वासका बिरामीहरू बढेका बताए। धुँवाका कारण आँखा पोल्ने, श्वासप्रश्वासमा समेत समस्या उत्पन्न भएको उनको भनाइ छ।

बेनी अस्पतालमा साविकभन्दा बढी श्वासप्रश्वास, आँखाका समस्या र रुघाखोकी, ज्वरोलगायत मौसमजन्य रोगका बिरामीहरू आउन थालेका बेनी अस्पतालले जनाएको छ।

फागुनसम्म दैनिक सरदर एक सयको हाराहारीमा बिरामीहरू आउने गरेकामा चैत दोस्रो सातायता डेढ सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका र तीमध्ये अधिकांश बिरामीहरू रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र आँखा पोल्ने रोगका हुने गरेका अस्पताल विकास समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताए।

त्यसैगरी ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाहरूमा पनि मौसम परिवर्तन र वायु प्रदूषणका कारण बिरामीहरूको संख्या बढेको छ। बेनी नगरपालिका-२ ज्यामरुककोटको स्वास्थ्य संस्थामा दैनिक ४० जनाभन्दा बढी श्वासप्रस्वास र मौसमी रुघाखोकीका बिरामीहरू उपचारका लागि आउने गरेका स्वास्थ्यकर्मी चन्द्रबहादुर मल्लले जानकारी दिए।

मानिसहरूको आफ्नै लापरबाहीका कारण डढेलोका घटनाहरू भएका पाइएको छ।

‘चरिचरन वा बाली लगाउन जमिन तयार गर्न स्थानीयले सुक्खा मौसममा जंगल आसपास डढेलो लगाउने प्रचलनले आगलागीका घटना बढिरहेका हुन्‚’ जिल्ला वन डिभिजन कार्यालय म्याग्दीका नि.प्रमुख चन्द्रमणि सापकोटाले भने, ‘डढेलोले गर्ने असरबारे जनचेतना नहुँदा सानो फाइदाका लागि पनि डढेलो लगाउने र जसले गर्दा मानव स्वास्थ्यमा असर पर्नुका साथै वातावरणीय क्षति भइरहेको छ।’ 

अहिले धेरैजसो वनमा डढेलो लागेको छ। पहाडी क्षेत्रमा लागेको आगो नियन्त्रण गर्न मुस्किल देखिएको छ। सामुदायिक वन क्षेत्रमा लागेको आगो नियन्त्रणका लागि वन समूहले प्रयास गरे पनि डढेलोबाट वन जोगाउन भने सकेका छैनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.