|

आम्दानीका लागि देशमा अवसर र सम्भावना नदेखेपछि बिदेसिने महिला तथा पुरुषको सङ्ख्या बढ्दो छ। घरको आर्थिक जिम्मेवारी पुरुषले मात्र हेर्नुपर्ने सोचमा पनि परिवर्तन हुनथालेसँगै रोजगारका लागि ससाना बालबच्चालाई छाडेर बिदेसिने महिलाको सङ्ख्यामा पनि वृद्धि हुन थालेको हो।

रोजगारको मुख्य गन्तव्यमध्येको एक दुबईमा पनि नेपाली कामदारको सङ्ख्या उल्लेख्य छ। अन्तर्राष्ट्रिय ट्रान्जिटका रूपमा रहेको अबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली महिलाको सङ्ख्या झन्डै तीनसयभन्दा बढी छ। 

कतिले आफ्ना काखेबच्चालाई छोडेर, कतिले आफ्नो अध्ययनलाई पूरा नगरी परिवारको आर्थिक अवस्था सुधार्न अनि कतिले भने आफ्नो सुन्दर भविष्यका लागि परदेश आएको बताउँछन्। सुकिला पोसाक, हँसिलो अनुहार लिएर काममा खटिएका यी महिलालाई देख्दा नेपाली नै हुन् भनेर ठम्याउन मुस्किल पर्छ।

पार्लरमा काम गर्ने रहरले पाँच महिनाअघि विदेसिएकी बुटवल मुर्गियाकी निरु परियार एयरपोर्टको सफाइ गर्ने काममा दुबई आएकी थिइन्। एयरपोर्टको शौचालयमा भेटिएकी हँसिली निरु नेपाली गीत गुनगुनाउँदै सफाइ गर्दै थिइन्। किन विदेसिएको भनी सोध्दा उनले हाँस्दै भनिन् “दुबई आई ब्युटीपार्लरमा काम गर्ने रहर पहिलेदेखि थियो। त्यसका लागि भिसा लागेन अनि अर्को कामका लागि एकपल्ट छिरेपछि पार्लरतिर जानुपर्ला भनेर आएँ। यो काम अलिअलि गाह्रो छ, पहिला यस्तो गरेको थिइनँ।”

निरुमात्र होइन परिवार र बच्चाको उज्ज्वल भविष्यको सपना बोकेर छ वर्षअघि दुबई छिरेकी संगीता पनि सुरुमा यहाँ काम सिक्दाका दुःख बिर्सन नसकिने रहेछ भन्छिन्। “बाध्यता सबैको उस्तै हो विदेश आउनुपर्ने। बच्चा र परिवारको यादले कति भक्कानो फुट्छ हामीलाई मात्र थाहा छ तर पनि काम गर्नैपर्छ। नत्र पेट पाल्न सकिन्न”, उनले भनिन्।

हालैको भेटीएकी उनी शरीर पोल्ने, झमझमाउने, टाउको दुख्ने समस्या भए पनि परदेशको ठाउँमा आरामको कुनै गुञ्जायस नभएकाले दैनिक १२ घन्टा काममा खटिएकी थिइन्। “आराम गरे तलब आउँदैन घर फर्कौँ भने आएको वर्षदिन पुगेको छैन। विदा पाइँदैन। ओभरटाइम पनि गर्नैपर्‍यो। धन्य यहाँ भित्रका अरू नेपाली दिदीबहिनीले सहयोग गर्छन्, ३६ वर्षीया सङ्गीताले बाध्यता सुनाइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.