धेरैमा पेट तथा मानसिक स्वास्थ्य समस्या

|

काठमाडौं : रोजगारका क्रममा विभिन्न देश पुगेका नेपाली कामदारले वीर अस्पतालमा स्थापित निःशुल्क टेलिमेडिसिन सेवा लिनेको दैनिक संख्या बढ्न थालेको छ।

अस्पतालको टेलिमेडिसिन विभागका प्रमुख मेडिकल अधिकृत डा. सञ्जय धरेलका अनुसार सेवा शुरु भएदेखि अहिलेसम्म २१२ जनाले सेवा लिइसकेका छन् ।

वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिक कामदारलाई लक्षित गरेर टेलिमेडिसिन सेवा सञ्चालन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत वर्ष फागुन २ गते टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरेर वैदेशिक रोजगार बोर्डले वीर अस्पतालसँग सहकार्य गरी चैत १५ गतेदेखि टेलिमेडिसिन सेवा सञ्चालन गरेको थियो।

पछिल्लो समय वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकका लगायत विभिन्न देशमा पुग्ने नेपाली श्रमिकमा विभिन्न खालका स्वास्थ्य समस्या देखिन थालेपछि यो सेवा शुरु गरिएको हो।

मुख्य गरी रोजगारको सिलसिलामा मलेशिया, साउदी, यूएई, कतार, कुवेत लगायतका देशमा पुगेका नेपाली श्रमिकहरूले विभिन्न खालका स्वास्थ्य समस्या लिएर धेरै फोन गर्ने गरेको डा. धरेलले बताए।

‘मलेशिया‚साउदी, यूएई, कतार, कुवेत लगायतका १६ देशबाट स्वास्थ्य समस्या लिएर फोन गर्नुहुन्छ। हामीले अपेक्षा गरेभन्दा धेरैले सेवा लिने गर्नुभएको छ’‚ डा.धरेलले भने।

सेवा लिने धेरैमा  पेट र मानसिक स्वास्थ्य समस्या

प्राय धेरै जनाले पेट तथा खानपान सम्बन्धी समस्या लिएर फोन गर्ने डा. धरेलको भनाइ छ। उनका अनुसार खानपानसँग जोडिने पेटसम्बन्धी समस्या बाहेक मानसिक, कलेजो, टाउको दुखाइ, छाला, आँखा, नाक, कान घाँटी, हड्डी लगायतका समस्या लिएर फोन गर्ने गरेका छन्।

डा.धरेलले भने‚ ‘प्रायः यहाँबाट बाहिर गएपछि खानपानको शैली नमिल्दा देखिने पेट सम्बन्धी समस्या लिएर फोन गर्नुहुन्छ भने निद्रा नपुग्ने तथा अन्य विविध कारणले गर्दा मानसिक स्वास्थ्यसँग जोडिएका समस्या लिएर पनि धैरै फोन आउँछन्।’

सेवा लिनेमा धेरैजसोमा यहाँबाट जाँदा स्वस्थ भएर गए पनि उता गएपछि स्वास्थ्य समस्या देखिएको बताउने गरेको समेत डा. धरेलले बताए।

टेलिमेडिसिन सेवा लिने धेरैलाई औषधि सिफारिस गर्नु परेको र त्यसरी सिफारिस गरिएको औषधि खाए नखाएको बारेमा समेत बुझ्ने गरेको समेत डा. धरेलले बताए।

डा.धरेलका अनुसार श्रमिकलाई परामर्शमा लेखिएको औषधि किनेर खान सम्भव नभए वैदेशिक बोर्डले सम्बन्धित देशको राजदूतसँग समन्वय गरिदिने गरेको छ।

‘ल्याब परीक्षणका लागि हामीले यहाँबाट लेखेर पठाउछौँ विरामीले त्यहाँ परीक्षण गरेर हामीलाई रिपोर्ट पठाउनु हुन्छ र हामीले सोहीअनुसारको सुझावका साथै औषधि सिफारिस गर्छौँ, कहिलेकाहीँ हामीले सिफारिस गरेको औषधि त्यहाँ नपाइएको भन्नु हुन्छ। त्यस्ता वेला हामीले सम्बन्धित देशको राजदूतवाससँग समन्वय गर्न भन्छौँ’‚ डा. धरेलले भने।

के हो टेलिमेडिसिन सेवा ?

मोबाइलमा गरिने परामर्शदेखि लिएर, भिडिओ कन्फ्रेन्स आदि प्रविधिमार्फत एक ठाउँको विरामीलाई अर्को ठाउँको चिकित्सक वा स्वास्थ्यकर्मीसँग परामर्श लिएर उपचार गर्नु नै टेलिमेडिसिन सेवा हो।

टेलिमेडिसिन दुर्गम क्षेत्रमा मात्र होइन विकसित देशमा पनि एक ठाउँको विज्ञता तथा प्रविधिलाई अर्को ठाउँमा प्रयोग गर्न प्रयोग गरिन्छ।

पछिल्लो समय वैदेशिक रोजगारीमा जाने धेरै श्रमिकमा स्वास्थ्य समस्या देखिने गरेपछि उनीहरूको सेवाका लागि वीर अस्पतालमा टेलिमेडिसिन सेवा सञ्चालन गरिएको हो। जसको सेवा लिन चाहने नेपाली श्रमिकले  मोबाइल नम्बर ९८५१३४५७०१ र ९८५१३४५७०२ को भाइबर, ह्वाट्सएप वा इमो लगायतका सामाजिक सञ्जालमा फोन गर्न सक्ने व्यवस्था गरिएको छ। सार्वजनिक बिदाको दिन बाहेक सबै दिन वीर अस्पतालमा यो सेवा दिन पाइन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.