|

दाङ :  ६ वर्षदेखि मौरीपालन व्यवसाय गरिरहेका तुलसीपुर उपमहानगरपालिका– १५ का आशिष अधिकारी पछिल्लो समय उत्पादन भएको मह बिक्री नहुँदा निराश छन्।

उनीसँग अहिले ३०० घारबाट उत्पादित साढे ३ हजार किलो मह मौज्दात छ।  आफूले उत्पादन गरेको महको बिक्री नहुँदा घरमै थन्क्याएर राख्नुपरेको उनले बताए। ‘भारतबाट आएको महका कारण हामीहरूले उत्पादन गरेको मह बिक्री हुँदैन’, उनले भने, ‘मसँग अहिले ३५ सय किलो मह घरमा थन्किएको छ।’ 

उनका अनुसार भारतबाट सस्तो मूल्यमा मह आउँदा आफूहरूले उत्पादन गरेको महले प्रतिस्पर्धा गर्न नसक्दा बिक्री हुन नसकेको हो। ‘हामीले घरेलु विधिबाट सानो डिब्बामा प्याक गरेर पठाउँदा मह जम्छ । महको गुण भनेको नै जम्ने हो। तर, उपभोक्ताले त्यो कुरा नबुझ्दा हाम्रो मह बिक्री हुँदैन’, उनी भन्छन्, ‘यस्तो अवस्थामा अब अरु घार बिस्तार गर्ने कि नगर्ने भन्ने  दोधारमा छु।’ 

उनका अनुसार उत्पादन भएको मह राम्रोसँग राखेमा एक वर्षसम्म मात्र खान मिल्छ। अब बिक्री नभएमा केही मौरीलाई खुवाउने र केही खाडलमा हाल्नेबाहेकको उपाय नै छैन। राज्यले आफूहरूले उत्पादन गरेको वस्तुको बजारीकरण नगरिदिँदा समस्या आएको उनले बताए।

उनले सबै लागत खर्च जोडेर आफूहरू प्रतिकिलो ४ देखि साढे ४ सयमा मूल्यमा बिक्री गर्ने गरेको पनि बताए। उनले यसरी दिँदा पनि कमाउनु भन्दा नि दैनिकी कसरी चलाउने भन्नेमा चिन्ता  हुने गरेको पनि उल्लेख गरे। पछिल्लो समय जिल्लामा महको बिक्री नभएपछि उत्पादनमा पनि घट्दै गएको  उनको भनाइ छ। ,

तुलसीपुर उपमहानगरपालिका– ६  का  माधव शर्मासँग पनि अहिले ११० घार मौरी छ। उनले  यस वर्ष २ टन मह उत्पादन  गरेका थिए। तर, त्यो मह बिक्री भएको छैन। मह बिक्री नभएपछि त्यतिकै थन्काएर राख्नु पर्ने बाध्यता रहेको बताए। उनका अनुसार विगत २ वर्षदेखि जिल्लामा  उत्पादन भएको महले बजार नपाउँदा किसान निराश बनेका छन्। ‘ भारतबाट आउने महले बजार पाउने गरेको छ। भारतबाट मह ल्याउँदा राज्यले भन्सार लगाउँदैन’, उनले भने, ‘यसले गर्दा यहाँ सस्तोमा बिक्री हुन्छ। तर, हामीहरूले आफ्नो लगानी अनुसार न्यूनतम मूल्यमा दिँदा पनि बिक्री हुँदैन।’ 

उनले आफूहरू लागत करिब ३ सय भन्दा माथि पर्ने जाने भएकाले न्यूनतम मूल्यमा दिने गरे पनि भारतबाट आएको मह सस्तो पाइने भएकाले व्यापारीहरूले त्यही बेच्ने गरेको बताए। उनका अनुसार विगतमा मौरीबाट राम्रै आम्दानी गर्ने गरेका किसानले पनि पछिल्लो समय यसप्रति भविष्य देख्न छाडेका छन्।

‘मह धेरै उत्पादन गन मौरीलाई बाहिर लैजानु पर्छ। तर, बजारको अवस्था देखेर यो पटक मैले बाहिर लगिनँ। घाटा लागेर मह बिक्री  गर्नु भन्दा उत्पादन नै कम गर्ने सोच थियो’, उनले भने। राज्यले नीति बनाए मात्र  किसानहरू बच्न सक्ने भन्दै उनले यस्तै अवस्था रहेमा सबै पलायन हुने उनको भनाइ छ। ‘ राज्यले प्रत्येक क्षेत्रमा लगाउन गर भनेर सिकाउने। तर, बजार व्यवस्थापन ध्यान नदिए सबै पेशाबाट पलायन हुने  अवस्था हुन्छ’,  उनले भने।

जिल्लामा हाल ५०० सय हाराहारी किसानहरूले मौरीपालन  छन्। तर, किसानको संख्या बढे पनि उत्पादित मह बजारीकरणमा ध्यान नदिनु सरकारको पनि कमजोरी रहेको उनीहरूको भनाइ छ।  यो वर्ष जिल्लामा करिब ३ सय टन मह उत्पादन भएको छ। गत वर्ष जिल्लामा करिब ४५० टन मह उत्पादन भएको थियो।

उपमहानगरपालिका कृषि महाशाखा प्रमुख धनराज गौतमले उपभोक्ताले पनि स्थानीय उत्पादन नचिन्दा जिल्लामा उत्पादन भएको महले बजार पाउन नसकेको  बताए।  उनका अनुसार भारतबाट आउने महको गुणस्तर यहाँ उत्पादन भएको भन्दा कम हुने भए पनि बजारमा त्यही बिक्री वितरण भएको पाइन्छ। 

यस्तै उनले बाहिरबाट आएको मह भन्दा यहाँ बनेको मह धेरै राम्रो हुने भएकाले उपभोक्ताहरू पनि  सचेत हुनु पर्ने उनको धारणा छ। यस्तै उनले स्थानीय उत्पादनलाई पहिचान गर्न अहिले ठूलो चुनौती भएको पनि बताए। 

‘ बाहिरबाट आएको मह प्रशोधन भएर आएको हुँदा त्यो जम्दैन। यहाँ उत्पादन भएको राम्रो कच्चा पदार्थ मह जमेको हुन्छ। त्यो भएर उपभोक्ताहरू पनि नजम्ने मह त्यो पनि सस्तोमा पाएपछि किनेका हुन्छन्’, उनले भने, ‘तर, अब यहाँ उत्पादन भएको महको बारेमा उपभोक्तालाई जानकारी गराउन जरुरी छ।’ यस्तै तुलसीपुरमा करिब ५०० क्विन्टल मह बिक्री नभएको भन्ने किसानहरूबाट आफूले जानकारी पाएको पनि उनको भनाइ छ। 

यस्तै उपमहानगरले पनि यहाँ उत्पादन भएको महलाई कसरी बजारीकरण गर्न  सकिन्छ भनेर छलफल चलाइरहेको उनले बताए।  यस्तै यहाँ उत्पादन भएको महलाई नामसहित प्याकिङ गरेर बजारमा ल्याउनको लागि मौरी पकेट अन्तर्गत काम गर्न लागेको पनि उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.