|

विराटनगर : राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको मोरङ खण्डमा ठेकेदारले काम रोकेपछि राजमार्गले छोएका ६ मध्ये ५ वटा स्थानीय तह, संघ र प्रदेश सांसदले आन्दोलन गर्ने चेतावनी दिएका छन्।

७ दिनभित्र अलपत्र पारिएको सडक निर्माण सुरु नगरे जनतासँगै सडकमा उत्रिने सांसदले चेतावनी दिएका हुन्। ठेकेदारले आर्थिक कारण देखाउँदै काम रोकेका हुन्।

मोरङ क्षेत्र-२ का प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेल, क्षेत्र-५ का सांसद योगेन्द्र मण्डल, प्रदेश सांसद गणेश उप्रेती, लिलाबल्लभ अधिकारी, जयप्रकाश चौधरी, भीम पराजुली, गयानन्द मण्डल, अमृत अर्याल, रतुवामाई नगरपालिका प्रमुख नागेश्वर सिंह, सुनवर्षीका प्रमुख श्याम राजवंशी, रंगेली नगरपालिका प्रमुख दिलिप बगडिया, धनपालथान गाउँपालिका अध्यक्ष जिवछ गच्छदार, कटहरीका अध्यक्ष देवराज चौधरीले आज (बिहीबार) संयुक्त पत्रकार सम्मेलन गर्दै ७ दिनभित्र काम सुरु नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन्।

राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गमा मोरङको ४४ किलोमिटर क्षेत्र पर्छ। जसमा रंगेली क्षेत्रको साढे ७ किलोमिटर सडक निर्माण भएको छ।

हुलाकी मार्गमा पर्ने विराटनगर बजार क्षेत्रका सडक पहिले नै कालोपत्रे भइसकेको थियो। अन्य क्षेत्रको करिब ३० किलोमिटर खण्डमा काम रोकिएको हो।

आफूहरुले उक्त विषय प्रदेश, केन्द्रका सबै ठाउँमा उठाएको साथै सिडिओ कार्यालयमा पटक पटक छलफल गरिएको भए पनि पछिल्लो एक महिनादेखि काम ठप्प भएको मोरङ क्षेत्र-२ का सांसद ऋषिकेश पोखरेलले बताए।

काम रोकिएको सडकमा धुलोका कारण हिँड्न सक्ने अवस्थासमेत नरहेको उनले बताए। रंगेली पश्चिमको बेतौनादेखि विराटनगर जोड्ने सिंघिया खोलाको पुलसम्मको काम ठप्प रहेको  हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीका इन्जिनियर प्रमोद खतिवडाले बताए।

दुई वटा प्याकेजको यो क्षेत्रको काम गर्न पिएस गजुरमुखी मोतिदाम जेभी र श्रेष्ठ कन्स्ट्रक्सनले ठेक्का पाएका छन्।

काम नहुनुमा निर्माण व्यवसायी जिम्मेवार रहेको र कार्यालयका कारणले कुनै अवरोध नभएको बताउँदै उनले भुक्तानीमा पनि समस्या नरहेको बताए। मौखिक रुपमा भने पनि र पत्राचार नै गर्दा पनि काम गरेपछि कारवाही प्रकृयामा अगाडि बढेको उनको भनाई थियो।

३ वर्षअघि ठेक्का लिएका ठेकेदारले बजार मूल्य र आर्थिक कारण देखाएर काम रोकेको उनले बताए। ​रतुवामाईदेखि रंगेलीको भूमि टोलसम्म १६ किलोमिटर निर्माणको ठेक्का पिएस गजुरमुखी मोतीदाम जेभीले लिएको छ।

भूमि टोलदेखि बेतौनासम्म साढे ७ किलोमिटर निर्माणको ठेक्का कालिका मैनाचुली वेदाङ्सी जेभीले पाएको थियो। यो खण्डको काम भने ठेकेदारले कम्पनीले समयमा नै पूरा गरेको थियो।

बेतौना-नयाँ बजार-कटहरीसम्म १२ किलोमिटर निर्माणको ठेक्का पिएस गजुरमुखी मोतीराम जेभीले लिएको छ। नयाँ बजारदेखि विराटनगर हाटखोलासम्म ६ किलोमिटरको ठेक्का श्रेष्ठ कन्ट्रक्सनले लिएको छ।

विराटनगर बजार क्षेत्रमा सडक विस्तारको योजना छैन। विराटनगरको बरगाछीदेखि केसलिया खोलासम्म ४ किलोमिटर देवएण्ड सायर भूमि जेभीले ठेक्का लिएको छ।

बरगाछी–केसलीया खण्ड निर्माणको जिम्मा पाएको भूमि कन्ट्रक्सनका सञ्चालक फरार भएपछि रोकिएको काम देव एण्ड सायरले सुरु गरेको छ।

बेतौनादेखि विराटनगरको खण्डमा ठेकेदारले साइड वाल निर्माण र माटो भर्ने काम सुरु गरेर एक महिनादेखि अलपत्र पारेका हुन्।अलपत्र सडकको दायाँबायाँका जनतालाई बस्न मुस्किल भएको सांसद पोखरेलले बताए।

हुलाकी राजमार्गले विराटनगर महानगरपालिकासहित मोरङका रतुवामाई नगरपालिका, सुनवर्षी नगरपालिका, रंगेली नगरपालिका, धनपालथान र कहटरी गाउँपालिका क्षेत्र समेटेको छ। ६ वटै पालिकाका सर्वसाधारण हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे सडकका यात्रा गर्न बाध्य छन्।

सडक नबनेपछि विराटनगर जामुनगाछीका सर्वसाधारणले भने बस्तीमा नेता निषेध अभियान नै सञ्चालन गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.