प्रअको दाबी : आत्महत्याको कारण शुल्क र प्रवेशपत्र होइन मानसिक तनाव

|

काठमाडौं : भनिन्छ, ‘धनभन्दा विद्या ठूलो हो’ तर पछिल्लो समय विद्याभन्दा धन ठूलो प्रमाणित हुँदै गएको छ। विद्यालयमा शुल्क तिर्न नसकेकै कारण अनेकन् अभिभावकहरू दुःख खेप्न बाध्य भएका छन्।

सरकारले निःशुल्क शिक्षाको गफ हाँकिरहे पनि त्यो कार्यान्वयन हालसम्म हुन सकेको छैन। जसकारण विद्यालय शुल्क बुझाउन नसकेकै कारण विद्यार्थीहरूले मानसिक समस्याको सामना गर्न परेको छ भने कसैले आत्महत्याको बाटो रोजेको घटना बाहिरिँदै छ। 

धादिङको ज्वालामुखी गाउँपालिका– ७ का १९ वर्षीय जितबहादुर बयलकाेटीले सालबास माविले कक्षा १२ को परीक्षाको लागि शुल्क नबुझाउँदा प्रवेशपत्र नदिएको भन्दै विष पिएर आत्महत्या गरेको भनी अहिले सामाजिक सञ्जालमा यो घटनाको चर्चा भइरहेको छ। 

विद्यालयले प्रवेशपत्र नदिएकै कारण छोराले आत्महत्या गरेको उनका बुबा कृष्णबहादुर सार्कीको आरोप छ। उनले विद्यालयका प्रधानाध्यापक बलराम इटनीविरुद्ध जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दिएका छन्।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक धर्मजंग थिङले कार्यालयमा हिजो(सोमबार) उजुरी परेको जानकारी दिए। उनका अनुसार मृतक जितबहादुरले वैशाख २१ गते घरमै विष पिएका थिए। त्यसपछि उनको उपचारको लागि चितवन अस्पताल लगियो। ‘२२ गते अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको रहेछ। हिजो उजुरी आइपुगेको छ’, उनले थाहाखबरसँग भने।

प्रअको दाबी : आत्महत्याको कारण शुल्क होइन मानसिक तनाव  

सालवास माविका प्रधानाध्यापक इटनीको भने प्रहरीले गरेको सर्जमिन मुचुल्का,स्थानीयवासीको कुरा तथा साथीभाइको भनाइ समेतलाई आधार मानेर हेर्दा मृतक जितबहादुर नेपालीको आत्महत्या प्रकरणमा विद्यालयको शुल्क तथा प्रवेशपत्र कारक नभई लामो समयको मानसिक तनाव देखिएको दाबी छ।

उनले विज्ञप्ति जारी गरी भनेका छन्, ‘मृतक जितबहादुर नेपाली घरायसी कारणबाट निकै तनाव रहेको सबैलाई जानकारी छ नै, घटना हुनुअघि मृतकको घरमा झगडा परेको तथा निजले साथीहरूसँग यो विषयमा पटक पटक कुरा गरेको सुनिएको थियो। यी सबै नजर अन्दाज गरी एकोहोरो विद्यालयलाई दोष दिनु दूषित मानसिकताको उपज मात्र हो।’

नेपालको संविधानको धारा (३१) को शिक्षासम्बन्धी हकको उपधारा (२) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हकको व्यवस्था छ।

अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन २०७५ मा पनि माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने व्यवस्था छ तर सामुदायिक विद्यालयहरूले विभिन्न नाममा पैसा असुल्छन्। उक्त विद्यालयले पनि कक्षा ११ र १२ मा स्थापना कालदेखि नै न्यूनतम शुल्क लिई अध्यापन गराउँदै आएको कुरा साँचो रहेको विद्यालयका प्रधानाध्यापक इटनी स्वीकार्छन्।

उनका अनुसार मृतक जितबहादुरले विद्यालयमा तिर्नुपर्ने रकम न्यून थियो। यसअघि पनि विद्यालयले शुल्क बाँकी राखेर प्रवेशपत्र दिने गरेको थियो। ‘यसपटक विद्यालयले २०८० वैशाख २० गते नतिजा प्रकाशन र फेरि भेटौला कार्यक्रम सञ्चालन गरेको थियो। कार्यक्रम समापन भएपछि सम्बन्धित छात्रलाई प्रवेशपत्र लिएर जान प्रअले १ जना स्टाफको रोहवरमा भनेको र हुन्छ सर भनेका हुन् विद्यार्थीले’‚विज्ञप्तिमा भनिएको छ,‘कार्यक्रमपछि उनी अफिसमा आएनन्।’

प्रवेशपत्र लिन छुटेका भएका छात्रछात्रालाई परीक्षा केन्द्रमा नै पुर्‍याउने गरिएको र हालसम्म प्रवेशपत्र लिन नपाएर कुनै पनि विद्यार्थीको परीक्षा नछुटेको विद्यालयको दाबी छ।

‘घटना भएको ३ दिनसम्म कहीँ कतै प्रवेशपत्रको कुरा उठेन,मृतकको सद्‌गत भयो। परिवारबाट विद्यालयलाई दोष दिने काम भएन तर अकस्मात् २४ गते बिहान ९ः३० बजे सामाजिक सञ्जालमा विद्यालय र प्रधानाध्यापकलाई जोडेर तल्लो स्तरको गाली गलौज गर्ने काम भयो’‚ विज्ञप्तिमा उल्लेख छ। 

प्रहरीमा जाहेरी परिसकेपछि त्यसमा निष्पक्ष छानबिन हुन्छ भन्नेमा विश्वस्त रहेको र प्रहरी प्रशासनको निष्कर्ष आउनुपूर्व नै सामाजिक सञ्जालमा अनावश्यक विष वमन गरी संस्था र व्यक्तिलाई बदनाम नगर्न प्रधानाध्यापक इटनीको आग्रह छ। 

शुल्क तिर्न तिलहरी धितो

कोही अभिभावक आर्थिक अभावमा शुल्क बुझाउनुपर्ने हुँदा गलामा लगाएको तिलहरी नै धितो राख्न बाध्य भएका छन्। गत चैतमा बाँके कोहलपुर–२ की ४० वर्षीया कस्तुरा बुढाले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने छोरा पृथीको शुल्क तिर्न कोहलपुरको एक सुनचाँदी पसलमा पाँच हजार रुपैयाँमा तिलहरी धितो राखेकी थिइन्।

उनका अनुसार समावेशी माविमा उनका छोरा पढ्छन्। उक्त विद्यालयमा छोराको शुल्कबापत ५ हजार ५ सय रुपैयाँ तिर्न बाँकी थियो। उनले घरमा पालेको खसी बेच्न कोहलपुर बजारमा लगे पनि नबिकेपछि तिलहरी धितो राखेको बताइन्। उनले भनेकी थिइन्, ‘खसी बिकेन अनि तिलहरी एकदुई दिनलाई धितो राखेकी हुँ।’ 

उक्त तस्बिर र खबरले पनि सामाजिक सञ्जालमा व्यापक चर्चा पायो। अधिकांशले शिक्षामा लुट भन्दै आक्रोश पोख्दै राज्यको विरोध गरिरहे। यो क्रम अझै रोकिएको छैन। 

आत्महत्या प्रकरणमा अनुसन्धान हुँदै 

जितबहादुरको आत्महत्या प्रकरणमा अहिले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक थिङले बताए। 

‘उजुरीमा शुल्क तिर्न नसकेर आत्महत्या गरेको भन्ने कुरा आएको छ तर विद्यालयबाट होइन भन्ने कुरा आएको छ। यो सब अब अनुसन्धानकै पाटो हो, अनुसन्धान भइरहेको छ’, उनले भने।

(याे पनि )


तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.