|

काठमाडौं : चीन सरकारले अनुदानस्वरुप दिएको कोरोनाविरुद्धका ४० लाख मात्रा खोप लगभग खेर जाने अवस्थामा पुगेको छ। चीनमा उत्पादित सिनोभ्याक खोप नेपालमा प्रयोग गर्न नमिल्ने रहेको पाइएको छ।

पहिलो र दोस्रो डोज लगाउन मिल्ने भए पनि उक्त सिनोभ्याक खोपको बुस्टर मात्रा लगाउन नमिल्ने खालको भएपछि नेपालमा आएर थन्किएको एक वर्षभन्दा बढी समय भइसक्दा पनि उक्त खोप कहाँ पठाउने भन्ने अझैसम्म टुंगो नलागेपछि खेर जाने अवस्थामा पुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका अनुसार २०७८ साल चैतमा आएको उक्त खोपको ४० लाख मात्राको म्याद सकिन ८ महिनामात्र बाँकी रहे पनि अझैसम्म कहाँ पठाउने भन्ने टुंगो लागेको छैन।

बुस्टर मात्राका रूपमा प्रयोग गर्न नमिल्ने र प्राथमिक मात्रा लगाउने नागरिक नभएकाले अन्य देशलाई पठाउन वा चीन नै फिर्ता गर्न गत कात्तिकमै सल्लाहकार समितिले निर्णय गरे पनि हालसम्म कुनै टुंगो नलागेपछि खोप खेर जाने अवस्थामा पुगेको हो।

व्यवस्थापन महाशाखाअन्तर्गतको आपूर्ति शाखा प्रमुख डा सुरेन्द्र चौरसियाका अनुसार उक्त खोप हाल टेकुस्थित केन्द्रीय भण्डार कक्षमा त्यसै थन्किएर बसेको छ अब केही महिनामा नै प्रयोग गर्न नेपाल बाहेक अन्य देशमा नलगे खेर जाने भएको हो।

‘खोप ल्याएर भण्डार कक्षमा राखिएको छ अब डिसेम्बरसम्म लगाइएन भने ४० लाख मात्रा खोप खेर जान्छ‚’ डा चौरसियाले भने।

बुस्टरका रूपमा एकभन्दा बढी भाइरसको स्ट्रेनसँग जुध्न सक्ने बाइभेलेन्ट खोप प्रयोगमा आइसकेकाले सिनोभ्याक बुस्टरका रूपमा प्रयोग नगर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र खोप सल्लाहकार समितिको निर्देशन दिएको थियो।

निर्देशनसँगै खोप स्टोरमा थन्किएर खोर जाने भएपछि मन्त्रालयले विभिन्न देशलाई खोप दिन पत्र पठाए पनि कसैले लैजाने चाहना नदेखाएकाले अहिलेसम्म कहाँ पठाउने भन्ने टुंगो लागेको छैन।

विज्ञहरुले उक्त खोप नल्याउन सुझाव दिए पनि शेरबहादुर देउवा प्रधानमन्त्री भएलगत्तै चीन सरकारले सहयोग खोप अनुदान दिने घोषणा गरेको हुँदा उक्त खोप नेपालले स्वीकारेर ल्याउन दबाब दिएपछि उक्त खोप २०७८ चैतमा नेपाल ल्याइएको थियो।

हाल उक्त खोप टेकुस्थित केन्द्रीय भण्डार कक्षमा राखिएको छ। ‘ हामीले सुरुमै सिनोफार्म खोप नल्याउँदा राम्रो हुन्छ भनेको हो तर विभिन्न दबाबले गर्दा खोप ल्याइयो। अहिले अन्य देशमा प्रयोग गर्न पठाउन खोज्दा पनि कसैले रुचि देखाएको पाइएको छैन‚’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले भने।

नेपालमा हाल कोभ्याक्स सुविधामार्फत् उपलब्ध भएको १५ लाख मात्रा फाइजरको वाईभ्यालेन्ट खोप बुस्टर मात्रा लगाउन प्रयोग भइरहेको छ। अब छिट्टै फेरि १५ लाख मात्रा यही खोप आउने प्रकृयामा रहेको समेत डा चौरासियाले बताए।

हुन त पछिल्लो समय नेपालमा कोभिड संक्रमणको दर घट्दै गएको छ भने ८३ प्रतिशत जनसंख्याले पूर्ण मात्रा खोप लगाइसकेका छन्।

यता विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिड– १९ ले निम्त्याएको विश्वव्यापी स्वास्थ्य संकटकाल अन्त्य भएको घोषणासमेत गरिसकेको छ ।

डब्लुएचओको आपतकालीन समितिको बैठकले ३ वर्षअघि कोभिड– १९ लाई ‘अन्तरराष्ट्रिय सरोकारको जनस्वास्थ्य संकटकाल (पिएचइआइसी)’ को वर्गीकरण अन्त्य गर्ने निर्णय गरेको हो।

कोरोना भाइरस विश्वव्यापी रूपमा फैलिरहेको समय सन् २०२० मार्चमा डब्लुएचओले कोभिड– १९ लाई महामारीको रूपमा घोषणा गरेको थियो।

महामारी अन्त्य भएको घोषणा गरिए पनि संक्रमणको जोखिम कायम नै रहिरहेकाले जनस्वास्थ्यका मापदण्ड भने पालना गर्न छाड्न नहुने विज्ञको सुझाव छ।

अब कोरोना भाइरस पनि रैथाने रोगका रूपमा परिणत भएर बेला–बेला बढ्न सक्ने हुँदा सतर्कता भने अपनाउनुपर्ने चिकित्सकहरुले बताउँदै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.