|

तनहुँ : केही दिनदेखि आएको हावाहुरीसहितको वर्षाले व्यास नगरपालिका–१३ आशापानीमा कृषकले लगाएको कागती खेतीमा नोक्सानी पुर्‍याएको छ। स्थानीय राजु रेग्मीले गरेको व्यावसायिक कागती खेतीमा हावाहुरीले नोक्सानी गरेको हो। 

२६ रोपनी क्षेत्रफलमा एक हजार बोट लगाएकोमा हावाहुरीले ३०० बोट नष्ट गरेको उनले बताए। ‘हावाहुरीले धेरै ठूलो क्षति पुगेको छ, ३०० भन्दा बढी बोट भाँचिएको छ। बगैँचा ध्वस्त बनाएको छ’, उनले भने, ‘कृषिमा केही गर्छु भन्ने सोच राखेर अगाडि बढ्दा प्रकृतिबाट ठगिएको गुनासो उनले गरे।’

हालसम्म ३५ लाख लगानी भएको उनले बताए। अघिल्लो वर्ष पाँच लाख रुपैयाँको कागती बिक्री गरेकोमा यो वर्ष  २५ लाखको बिक्री गर्ने लक्ष्य थियो। ‘कागती राम्रो फलिरहेको थियो, यो वर्ष विस्तार पनि गरेको थिएँ, तर हावाहुरीले बोटहरू जरैदेखि भाँचिएको छ’, उनले गुनासो गरे।

कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले हावाहुरीले जिल्लाका विभिन्न ठाउँमा तरकारी बालीमा क्षति पुगेको जानकारी दिए। उनका अनुसार जिल्लाभर क्षतिको विवरण संकलन भइरहेको छ। कृषिमा पुगेको क्षतिको मूल्यांकन गरेर कृषकलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने उनले बताए। ‘हामी सम्बन्धित निकायमा यसबारेमा जानकारी गराउँछौँ’, उनले भने, ‘क्षतिपूर्तिको व्यवस्था नगर्ने हो भने कृषक कृषि पेशाबाटै विमुख हुनुपर्ने अवस्था आउन सक्छ।’ 

आशापानीका कागती खेती कृषकको बगैँचामा पुगेर अवलोकन गर्दा धेरै ठूलो क्षति भएको जानकारी पाएको उनले बताए। ‘कृषकले राम्रो व्यवस्थापनका साथ कागती खेती गर्नुभएको थियो’, उनले भने, ‘बगैँचा व्यवस्थापन आकर्षण छ, तर हावाहुरीले एकतिहाइ बोट जरैदेखि नष्ट गरिदियो।’ पछिल्लो समय कृषिमा युवाहरूको आकर्षण बढिरहेकाले युवालाई कृषि क्षेत्रमा टिकाइराख्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ। जिल्लाभरको हावाहुरीको क्षतिको विवरण आइनसकेको उनको भनाइ छ।

व्यास नगरपालिकाले हावाहुरी, असिनापानीका कारण भएको क्षतिको विवरण संकलन गर्न लागेको छ। केही दिन अगाडि आएको हावाहुरी, असिनापानीका कारणले नगरपालिका क्षेत्रका विभिन्न वडामा पारेको असरको विवरण संकलन गरी सात दिनभित्र वडा विपद् समितिबाट निर्णय गराई नगर विपद् समितिमा सिफारिस गर्न सबै वडा समितिलाई निर्देशन दिइएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.