|

काठमाडौं : नेपाल मजदुर किसान पार्टीको जनवर्गीय संगठन नेपाल क्रान्तिकारी किसान संघले किसानलाई समयमै रासायनिक मल दिन माग गर्दै विरोध प्रदर्शन गरेको छ।

शुक्रवार संगठनले काठमाडौंको रत्नपार्कमा किसानलाई समयमै रासायनिक मल दिन माग गर्दै विरोध प्रदर्शन गरेको हो।

उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले किसानलाई उपलब्ध हुने सरकारी अनुदान रकम युरिया मलमा प्रतिकेजी ८० रुपैयाँलाई ६४ रुपैयाँमा घटाएको, डिएपी मलमा प्रतिकेजी ५९ रुपैयाँलाई ५२ रुपैयाँमा घटाएको, पोटासमा ५८ रुपैयाँलाई ४६ रुपैयाँमा घटाएको भन्दै विरोध जनाएका छन्।

रासायनिक मलमा गरिएको मूल्यवृद्धि र अनुदान कटौतीको विरोधमा देशभरका किसानले संघर्ष गरेपछि वर्तमान सरकार यथास्थितिमा राख्न बाध्य भएको भन्दै समयमा सुपथ मूल्यमा मल उपलब्ध गराउन नसक्ने नेपाली काँग्रेसको समर्थन प्राप्त सरकारलाई सिंहदरबार कब्जा गरेर बस्ने अधिकार नरहेको बताएको छ।

उनीहरूले निजी बैंक र स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने, नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई हदैसम्मको कारबाही गर्नुपर्ने लगायतका माग राखेर विरोध जनाएका हुन्।

नेमकिपाले नेपालमै रासायनिक मल कारखाना स्थापना गर, तीन प्रतिशतको मत सीमा खारेज गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद, देशघाती नागरिकता विधेयक खारेज गर लगायतका प्लाकार्ड बोकी विरोध जनाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.