|

काठमाडौं : चालू आर्थिक वर्षको १० महिनामा कूल रु १० खर्ब पाँच अर्ब रेमिट्यान्स मुलुकभित्र भित्रिएको छ ।

वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा बढोत्तरी भएको तथा वैधानिक तवरबाटै विप्रेषण भित्रन थालेकाकले आप्रवाहमा सुधार देखिएको हो । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्षको १० महिनासम्मको विवरणअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २३ दशमलव चार प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह शून्य दशमलव पाँच प्रतिशतले बढेको थियो ।  अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ दशमलव चार प्रतिशतले वृद्धि भई सात अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह एक दशमलव दुई प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या ५१ दशमलव चार प्रतिशतले वृद्धि भई चार लाख २१ हजार दुई सय ७९ पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा तीन दशमलव सात प्रतिशतले वृद्धि भई दुई लाख ३८ हजार नौ सय ७६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या एक सय ८५ दशमलब  पाँच प्रतिशतले बढेको थियो ।

केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा खुद ट्रान्सफर २२ दशमलव  पाँच प्रतिशतले वृद्धि भई रु ११ खर्ब १० अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर शून्य दशमलव तीन  प्रतिशतले बढेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.