|

काठमाडौं : नेपाल विद्यालय कर्मचारी परिषद्ले आगामी आव २०८०/०८१ को बजेटमा आफ्ना मागहरू सम्बोधन नभएको भन्दै खाली थाल ठटाएर विरोध प्रदर्शन गरेका छन्। आइतबार नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म थाल ठटाउँदै विद्यालय कर्मचारीहरूले विरोध प्रदर्शन गरेका हुन्।

बजेट मार्फत मागहरू पूरा गर्नुपर्ने उनीहरूको माग छ। तत्काल माग पूरा नभए आगामी असार २ गतेदेखि देशभरका सरकारी (सामुदायिक) विद्यालय अनिश्चितकालीन बन्द गर्नेसमेत उनीहरूको चेतावनी छ।

नेपाल विद्यालय कर्मचारी परिषद्का महासचिव महासचिव शान्तिनाथ योगीका अनुसार विद्यालय कर्मचारी सहायक (लेखापाल)हरूका लागि ३४ हजार ७३० रूपैयाँ तलब कायम हुनुपर्ने, विद्यालय सहयोगीका लागि २४ हजार २१० तलब रूपैयाँ कायम हुनुपर्ने माग छ।

अहिले विद्यालयका लेखापालले मासिक १३ हजार ५०० तथा कार्यालय सहयोगीले ८ हजार रूपैयाँ पाउँदै आएका छन्।

सरकारी विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूलाई दरबन्दीमा समायोजन गरी एक पटकका लागि प्रक्रिया पुर्‍याइ स्वतः स्थायी प्रक्रियामा लग्नुपर्ने पनि उनीहरूको माग छ।

यस्तै, विद्यालय कर्मचारीहरूले तत्कालै पूर्ण सेवा सुविधाको ग्यारेन्टी गर्नुपर्ने, सङ्घीय शिक्षा ऐन जारी हुँदाका बखतसम्म अविच्छिन्न सेवामा कार्यरत विद्यालय कर्मचारीहरूलाई एक पटकका लागि उमेर हद नलाग्ने प्रबन्ध गर्नुपर्ने, ६० वर्ष उमेर पुगेका कर्मचारीहरूलाई प्रचलित कानुन बमोजिम शिक्षक सरहको सेवा सुविधा उपलब्ध गराई ससम्मान अवकाशको व्यवस्था गर्नुपर्ने, विद्यालय कर्मचारीलाई उच्च शिक्षा अध्ययनका लागि बिदा, सन्तति वृत्ति आदिको प्रबन्ध गरिनुपर्ने उनीहरूको माग छ।

उनीहरूले यसअघि पनि विद्यालयका चाबी प्रधानाध्यापकहरूलाई बुझाएर शिक्षा विकास तथा समन्वय इकाईको मूल गेटमा पुगेर धर्नामा बसेका थिए। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.