|

सल्यान : सबै नागरिकको घरघरमा बिजुली पुर्‍याउने सरकारको लक्ष्य भए पनि सल्यानका ग्रामीण बस्तीहरु अझै दियालो र सोलारकै भरमा छन्।

बिजुली नपुगेका र विकट गाउँबस्तीका नागरिक दियालो र सोलारको भरमा जीवन गुजार्न बाध्य भएका हुन्। १० स्थानीय तह रहेको सल्यानमा पालिका केन्द्रहरूसम्म मात्रै विद्युत पुगेको छ।

पालिकाभित्रका केही वडा विद्युतीकरण भए पनि अधिकांश ग्रामीण बस्तीहरूमा बिजुली पुग्न नसक्दा सोलारकै भर पर्ने गरेको कुमाख गाउँपालिका-७ तुरतुरेका स्थानीय रामबहादुर चलाउनेले बताए।

विद्युतीय पहुँचबाहिर रहेका बस्तीमा अहिले उज्यालो बस्ती तथा सौर्य ऊर्जा कार्यक्रममार्फत सोलार टुकी प्राप्त गरेको उनले बताए। उनले भने‚ ‘गाउँमा सहजै बिजुली आउने सम्भावना नभएपछि आफूहरुलाई दियालोभन्दा सोलार नै उपयुक्त लाग्छ।’

लामो समय दियालोको भरमा रात काट्दै आएका स्थानीयले अहिले उज्यालो बस्ती तथा सौर्य ऊर्जा कार्यक्रममार्फत सोलार पाएपछि सहज भएको अर्का स्थानीय सोभीकुमारी वलीले बताइन्। 

उनले आफूहरुले सोलारबाट उज्यालो भए पनि विद्युत विस्तार नभएकै कारण गाउँमा पठनपाठनमा समस्या हुनुका साथै कुटानी पिसानीको समस्या भएको बताइन्।

सल्यानका कतिपय स्थानीय तहका वडामा त विद्युत नहुँदा नागरिकलाई दैनिकी चलाउन मात्रै समस्या नभई प्रशासनिक काममा पनि बाधा पुग्ने गरेको छ। 

ग्रामीण विद्युतीकरणका लागि यहाँका स्थानीय तहले काम त गरिरहेका छन् तर छरिएर रहेका बस्तीमा विद्युतीकरण गर्न समस्या भएको कुमाख गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष डम्बर शाहीले बताए। 

उनले तत्कालै विद्युत पुर्‍याउन नसकिने बस्तीहरुमा सोलार बिजुली उपलब्ध गराइएको बताए। उनले यस वर्ष मात्र २ सय घर परिवारलाई सोलार वितरण गरेको बताए। 

पालिकाका सबै बासिन्दालाई विद्युत उपलब्ध गराउन आगामी आर्थिक वर्षभित्रै काम सुरु गरिने कुमाख गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्रकुमार चन्दले बताए। उनले केही ठाउँमा टेण्डर भइसकेको र केहीमा सुरुवाती चरणमा रहेको बताए।

सल्यानका ६९ प्रतिशत बासिन्दा मात्र बिजुलीको पहुँचमा छन्। ग्रामीण विद्युतीकरणका लागि भन्दै सरकारले वर्षेनि बजेट विनियोजन गर्दै आइरहेको छ। 

विद्युत विस्तारका लागि ठेक्का सम्झौता भएका ठाउँमा ठेकेदारले काम नगर्दा पनि विद्युतीकरणमा ढिलाइ हुने गरेको छ। जसका कारण दुर्गम बस्तीहरु अझै पनि दियालो र टुकीको भरमा अँध्यारो छल्न बाध्य छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.