|

विराटनगर : समय र परिस्थिति एकसाथ नहुँदा कहिलेकाहीँ मानिसको यात्राले अनपेक्षित हुने बाध्यता आइलाग्छ। त्यसो त उनी हिँडेको पथ र प्राप्त गर्न खोजेको गन्तव्य यो थिएन तर परिस्थितिले उनलाई नचाहेको ठाउँमा पुर्‍यायो।

कार्यालयको समयमा धरान उपमहानगरको कार्यकक्षमा भेटिनुपर्ने मेयर हर्क साम्पाङ विराटनगरस्थित उच्च अदालतको एउटा कुनामा भेटिए। हातमा मोबाइल फोन, सानो डायरीका साथमा उनी निर्भीकताका साथ प्रतीक्षामा थिए।

अदालतमा आउनेजाने धेरै सेवाग्राहीको नजरमा उनी परे। जतिका नजरमा परे, सबैका अनुहारमा उनका लागि कुतुहलका भाव छर्लङ्ग देख्न सकिन्थ्यो। कतिपय व्यक्ति नजिकिएर बोल्न खोज्दा नजिकिन चाहेनन् या भनौँ अपरिचित रहन चाहे।

नजिकिन खोज्दै छेवैमा पुग्नेलाई उनले हाँस्दै भने, ‘मत यहाँ पो आइपुगेको छु त हौ, अदालतमा मुद्दा लगाइदिएको छ। त्यही मुद्दाको प्रतिवाद गर्न आएको हुँ।’ 

उच्च अदालत विराटनगरले मेयर साम्पाङविरुद्ध दायर रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। अध्यक्षविहीन रहेको धरान खानेपानी बोर्डको सदस्यमात्र रहेका साम्पाङले नियमविपरीत अध्यक्षसरह काम गर्दै आएको भन्दै दायर रिटमा उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। 

अदालतका न्यायाधीश मुरारिबाबु श्रेष्ठको इजलासले उच्च अदालतमा छलफलका लागि दुवै पक्षलाई ३२ गते बोलाएको थियो तर इजलासमा परेको बेन्चले हेर्न नमिल्ने भएपछि पेसी स्थगित भयो।

मेयर हर्क मुद्दाले साह्रै झमेला दिइरहेको सुनाउँछन्। ‘मुद्दाले झमेला छ, सेवाग्राहीको कुरा सुन्नुपर्नेमा अदालतमा छु’, उनी भन्छन्, ‘चित्त नबुझे सिंगल—सिंगल भिडुम्। साह्रै चित्त बुझेन भने खेलौँ। हप्तामा तीनवटा मुद्दा आउँछ। मेरो कार्यकाल मुद्दा प्रतिवाद गर्दै बस्ने हो ? देशका लागि सोचिरहेको मान्छेलाई मुद्दा लगाएको छ।’

जीवन काडैकाँडा रहेको बताउँदै उनी थप्छन्, ‘कति मुद्दा लड्नु हो। मैले चाहेको विकास हो, मुद्दा होइन।’ 

 बोर्डका अध्यक्ष नै नगर प्रमुख हुने निर्णय भएपछि...

२०७४ अघि अर्थात् स्थानीय तहको निर्वाचन हुनुभन्दा पहिलेदेखि नै बोर्डको अध्यक्ष नगरपालिकाका प्रमुख बन्ने निर्णय गरेपछि त्यसैअनुसार आफू खानेपानी बोर्डको अध्यक्ष रहेको हर्कले बताए।

उनले सोही निर्णयअनुसार नै बोर्डको अध्यक्ष नगरपालिकाको प्रमुख हुने भएकाले तत्कालीन मेयर स्वर्गीय तारा सुब्बा बोर्डका अध्यक्ष भएका थिए। उनको मृत्युपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी उपप्रमुख मञ्जु भण्डारीले सम्हालेकी थिइन्। उपनिर्वाचनपछि तिलक राईले बोर्ड अध्यक्ष सम्हालेका थिए।

अहिले अहिले मेयर साम्पाङ बोर्डको अध्यक्ष रहेर कार्यभार सम्हालिरहेका छन्। उनले २०७४ को निर्णयअनुसार आफूले काम गरिरहेको बताए।

‘नगरप्रमुख जो हुन्छ ऊ नै खानेपानी बोर्डको अध्यक्ष बन्ने भनेर पहिले नै निर्णय गरिएको रहेछ। त्यहीअनुसार मैले शपथ ग्रहण गरेपछि काम सुरु भयो’, उनले भने, ‘अहिले बैठकमा बोलाएन भनेर मुद्दा लगाएको छ।’

नियममा ६ पटक बैठक बोलाउनुपर्ने भन्ने छ नि होइन भन्ने प्रश्नमा उनले फर्जी कागजपत्र देखाएर संस्थाको सदस्य भएकाको संस्थाहरू नै नभएको उनले दाबी गरे। 
फर्जी डकुमेन्ट पेस गरेर सदस्य भएको दाबी गर्दै उनलदे सूर्यबहादुर भट्टराईको संस्था र कार्यालय नभएको साथै साधारणसभा भएको कुनै आधिकारिक प्रमाण पनि नभएको उनले बताए।

श्याम पोखरेलको राष्ट्रिय उपभोक्ता मञ्च सुनसरी भन्ने संस्थाको पनि संस्था सूचीकृत दर्ता नभएको बताउँदै उनले भने, ‘त्यहाँबाट आएको भन्ने पत्र छ, यो संस्था नै छैन, उहाँहरूलाई कसरी सदस्य भन्ने ?’ सबै दलगत भागबण्डाबाट आएको बताउँदै जलस्रोत संरक्षण तथा प्रवर्धन संस्था धरान १७ का वर्तमान वडाध्यक्षको समेत कुनै संस्था नभएको बताए।

‘यस्तो खालको फर्जी कुरा दिएर संस्थाको सदस्य बन्नुभएको रहेछ। म त्यतिखेर जनताको पक्षमा आन्दोलन गरेर हिँडिरहेको थिएँ’, उनले भने, ‘उहाँहरूले बोर्ड गठन गर्नुभएको थियो। त्यो वेलादेखि हाम्रो असहमति हो।’

उनी थप्छन्, ‘देवराज श्रेष्ठ, श्याम पोखरेल, मनोज भट्टराई र सूर्य भट्टराईले मुद्दा लगाउनुभएको रहेछ तर उहाँहरूले देखाएको संस्थाको अस्तित्व नै छैन। अस्तित्वमा नभएको संस्थाको व्यक्तलाई कसरी प्रतिनिधि मान्नूँ ?’

आफैँ बहस गर्छु 
जनताको वकालत गर्ने भएको आफूलाई परेको समस्याका विषयमा समेत आफैँ बहस गर्ने गरेको उनी स्पष्ट पार्छन्। ‘म आफैं बहस गर्छु। मेरो लाइसेन्स छैन। आफूलाई परेको कुरामा बोल्ने हो नि, म पब्लिक आवाज हो नि।’ 

उनी खित्का छोडेर हाँस्दै भन्छन्, ‘उहाँहरूसँग कसरी बैठक बस्ने होला ? म त बगरमा पनि हाँस्छु, अदालतमा पनि हाँस्दै आइरहेको छु।’

पानीको प्रसंगमा उनले पुरानो संरचना र शहर विस्तारित हुँदै गइरहेकाले पनि धरानमा खानेपानी समस्या हुने गरेको उनले बताए। 

‘मनसुन हुँदा हामीले खानेपानी आपूर्ति गरिरहेका छौँ। सबै खाले कोसिस गरेका छौँ। मैले सबै कोसिस गरेको छु’, उनले भने, ‘पाइप नपुगेको कुनै खोलाखोल्सी छैन। सबैतिर पाइप पुगेको छ।’

कोकाह कहिल्यै नसुक्ने स्रोत भएकाले धरानसम्म कोकाहको पानी आउनु ठूलो प्लस पोइन्ट हुने उनी सुनाउँछन्। 

उनले भने, ‘हामीले थुप्रै सुधार गरेका छौँ। समाधानका लगि कोशीबाट नै पानी ल्याउनुपर्छ।’ 

भूमिगत स्रोतबाट पानी आपूर्ति गर्दा धेरै पैसा लाग्ने, लाइन जाँदा पानी नआउने जस्ता समस्या हुने उनी बताउँछन्।

सय दिन लाग्यो कोकाहको पानी ल्याउन

‘श्रमदान भनेको देशक्ति हो’, उनी मुस्काउँदै भन्छन्। श्रमदानको माध्मबाट नै एक सय दिन लगाएर कोकाहको पानी धरानको माटोसम्म ल्याएको सुनाउने उनी असारमा खडेरी लागेर पनि गाह्रो भएको बताउँछन्।

कोकाहको पानी लिन आफू धेरै ठाउँ भनेको पुगेको उनी सुनाउँछन्। पानी नल्याई घर नफर्किने प्रतिबद्धता जनाउँदै कार्यालयको समय सकेर घरबाट निस्किएका उनी पानी ल्याउन सफल भएको बताउँछन्।

‘म पुगेपछि पानी आयो, कोकाहको पानी धरानको भूमिमा झरेपछि पानी पनि पर्‍यो। म त छक्क परेँ हौ, के संयोग थियो ?’, भावुक हुँदै खुशी मिश्रित स्वर सुनाउँछन्, ‘हा हा हा मुद्दा लाग्छ कि? त्यो संयोग थियो।’ विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या पनि खडेरीकै कारण भएको उनी सुनाउँछन्।

आगामी दिनमा २५ लाख रूख रोप्ने घोषणा गरेको बताउँदै उनले ज्येष्ठ नागरिकका लागि अस्पताल बनाउने घोषणा समेत गरेका छन्।

‘आर्थिक अवस्था नाजुक हुनेको बिजोग देखेँ, बुढेसकालमा धेरै रोग लाग्ने रहेछ। ज्येष्ठ नागरिक उपचार केन्द्र बनाउने भनेर घोषणा गरेका छौँ’, उनले भने, ‘एकदिन बनाउँछौँ, श्रमदान भनेको अर्कै चिज हो, कुनै तुलना गर्नै सकिदैन।’

उनी धरानमा रहेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या फरक रहेको बताउँछन्। उनी भन्छन्, ‘श्रमदान भनेको योजना होइन, देशभक्ति हो। कोकाहको पनि डिपिआर छैन।’

खानेपानीको सन्दर्भमा डिपिआर बनाएको ३५ वर्ष हुँदा पनि कार्यान्वयन नभएको बताउँदै उनले आफूले श्रमदानबाट पानी दिएको बताउँछन्। 

उनी बजेटबाट बनेको योजना पनि थुप्रै रहेको बताउँदै उनले कोशीबाट पानी ल्याउने श्रमदान नभएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.