|

पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्तासँग प्रमाणसहितको उजुरी माग गरेको छ।

भक्तपुरमा केन्द्रीय कार्यालय रही विभिन्न जिल्लामा शाखा विस्तार गरेको सहकारीले पोखरा महानगरपालिका–५ पस्र्याङ र वडा नं. १४ चाउथेबाट पनि आर्थिक कारोबार गर्दै आइरहेको छ। 

पोखरामा रहेका शाखाहरूबाट सहकारीका पदाधिकारीहरूले निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना गरेका आरोप लगाएपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो। 

रकम हिनामिना गरेको भन्दै सूर्यबहादुर नेपाली सार्की लगायतका व्यक्तिहरूले जिल्ला प्रहरी कार्यालय कास्कीमा सहकारी ऐन शीर्षकमा जाहेरी दरखास्त पेस गरेका छन्। 

जाहेरी दरखास्त दर्ता भई अनुसन्धानको क्रममा रहेकोले उक्त सहकारी संस्थामा बचतकर्ता रही उक्त संस्थाले ठगी गरेको भए सम्बन्धित व्यक्तिले आ–आफ्नो नागरिकतासहित सहकारीमा रकम जम्मा गरेको आधार देखिने पास बुक, भौचर, स्टेटमेन्ट, मुद्दती प्रमाण पत्र लगायतको प्रमाणको सक्कल सहित जिल्ला प्रहरी कार्यालय कास्कीमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको हो।

सहकारीको पोखरामा रहेका दुई ओटा शाखामा मात्रै ७ हजार २ सय बचतकर्ताको ५३ करोड ५० लाख रुपैयाँ जोखिममा छ। अहिले बचतकर्ताहरूले आफूले खाई नखाई जम्मा गरेको रकम फिर्ता पाउनुपर्ने भन्दै सङ्घर्ष गरिरहेका छन् । 

साढे २ वर्षअघि पर्स्याङमा शाखा खोलेको सहकारीले गत असारदेखि पोखरा–१४ चाउथेमा अर्को शाखा सञ्चालनमा ल्याएको थियो। सहकारी सञ्चालक गत माघदेखि नै सहकारी बन्द गरेको सूचना टाँसेर सम्पर्कविहीन छन्।

सहकारीले गत २७ माघमा सूचना नै टाँस गरेर केही दिनका लागि कारोबार बन्द गरेको बताएको थियो। 

सहकारीका अध्यक्षले हस्ताक्षर गरेको सूचनामा हालको आर्थिक मन्दीका कारण सबै बचतकर्ताहरू एकै पटक चल्ती, मुद्दती र सेयर रकम झिक्न आउँदा पुँजी व्यवस्थापन हुन नसकेकोले वित्तीय सेवा केही दिनका लागि बन्द गरिएको उल्लेख छ। त्यस्तै संस्थाको मर्जर प्रक्रियाका कारणले पनि अर्को सूचना नआएसम्म कार्यालय बन्द हुने सूचनामा उल्लेख छ।

लामो समयसम्म कारोबार सुरु नहुँदा र बचतकर्ताको रकम फिर्ता नहुँदा पछिल्लो समय बचतकर्ताले सहकारी कार्यालय धाउने गरेका छन्। 

सहकारीले ३ तले घर भाडामा लिएर माथिल्लो तलामा सहकारी चलाएको छ। पहिलो र दोस्रो तलामा गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर सञ्चालन गरेको छ।

सहकारीको कारोबार रोकिए पनि डिपार्टमेन्ट स्टोर सञ्चालनमै छ। सहकारीमा कार्यरत कर्मचारीहरूले सहकारी सञ्चालक सम्पर्कमा नभएको बताउँदै आएका छन्।

कर्मचारीको तलब सेवा सुविधा पनि भुक्तानी नभएकोले बचतकर्ताको गुनासो सम्बोधन र कर्मचारीको सेवा सुविधाका लागि कानुनी कारबाही प्रक्रिया अघि बढेको कर्मचारीहरूको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.