|

काठमाडौं : विश्वभर हाल १११ देशमा फैलिसकेको मंकीपक्स भाइरस संक्रमण नेपालमा पनि देखिइसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  ६० वर्षीया विदेशी महिलामा मंकीपक्सको संक्रमण देखिएको हो।

केही दिनअघि नेपाल आएकी ती विदेशी महिला ज्वरोसहित मंकीपक्स जस्तै लक्षण देखिएपछि चिकित्सकको सम्पर्कमा पुगेकी थिइन्। लक्षण सबै मिल्दोजुल्दो देखिएपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा उनमा मंकीपक्स पुष्टि भएको मन्त्रालयका स्वास्थ्य आपत्‌कालीन सञ्चालन केन्द्रका प्रमुख तथा सहप्रवक्ता डा. समीर अधिकारीले बताए।

मानिसबाट मानिसमा सर्ने एक किसिमको सरुवा रोग भएकाले यसबाट बच्न विशेष सावधानी अपनाउनुपर्ने अधिकारीले बताए। ‘मंकीपक्स संक्रमण देखिएको विरामीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ तर यो भाइरस संक्रमणबाट बच्न सावधानी अपनाउनु उत्तम विकल्प हो’‚ डा. अधिकारीले भने।

के हो मंकीपक्स?

मंकीपक्स भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो। यो रोग मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्छ। सन् १९८० मा बिफर उन्मूलन र विश्वव्यापी बिफर खोपको अन्त्यपछि मंकीपक्स मध्य, पूर्वी र पश्चिमा अफ्रिकामा निरन्तर देखापरिहेको छ।

सन् २०२२–२०२३ मा यसले विश्वव्यापी प्रकोपको रूप लिएको थियो। यो भाइरसको प्राकृतिक भण्डार अज्ञात छ तर लोखर्के र बाँदर जस्ता विभिन्न साना स्तनपायी यो रोगका लागि संवेदनशील हुने अध्ययनले देखाएको छ।

लक्षण

मंकीपक्स संक्रमण भएपछि मानिसमा ज्वरो आउनु, सामान्य ज्वरो शुरु भएको एकदेखि तीन दिनभित्र छाला, अनुहार, हत्केला र पैतालामा डाबर देखा पर्नु, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किनु, टाउको ढाड र मांसपेशी दुख्नु, शरीरका ग्रन्थि बढ्ने जस्ता लक्षण देखिने गर्छ।

सामग्रीको प्रत्यक्ष, संक्रमित बाँदर, मुसा, लोखर्के लगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्छ। सामान्यतया ज्वरो सुरु भएको १ देखि ३ दिन भित्र छाला, अनुहार, हत्केला र पैतालामा डाबर देखा पर्ने, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थिहरू बढ्ने हुन्छ।

मंकीपक्स संक्रमणपछिका जटिलता

विश्व स्वास्थ्य संगठनका अनुसार मंकीपक्स संक्रमण सार्नेमध्ये ९७.५ प्रतिशत सङ्क्रमण पुरुष पुरुषबीच हुने यौन सम्पर्कबाट सर्ने गरेको पाइएको छ। तीमध्ये ३८ प्रतिशतमा एचआइभी पोजिटिभ पाइएको छ।

यो संक्रमण मुख्यगरी श्वासनली आँखा नाक वा मुख, काटिएको टोकिएको वा फुटेको छाला,यौनाङ्ग/गुदद्वार‚ बाँदर‚ मुसा‚ लोखर्के लगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट यो भाइरस फैलिन सक्छ। संक्रमण भएपछि यसबाट हुने मुख्य जटिलतामा आँखामा सङ्क्रमण र दृष्टि गुम्नु, अन्य जीवाणुको सङ्क्रमण, निमोनिया, मस्तिष्कज्वर, गर्भ खेर जाने जस्ता जटिलता देखा पर्छन्।

कसरी बच्ने?

यसको रोकथामका लागि मंकीपक्सको शंका वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, संक्रमित व्यक्तिलाई घर वा अस्पतालमा आइसोलेशनमा राख्ने, संक्रमित व्यक्तिको हेरचाह गर्नेले पूर्ण रूपमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने, घाउसँग प्रत्यक्ष सम्पर्क हुनसक्छ भन्ने जोखिम छ भने पन्जा लगाउने, नियमित रूपमा साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, संक्रमित व्यक्तिका लुगा, तौलिया, ओछ्यान र भाँडा तातोपानी, साबुन वा डिटर्जेन्टले धुने,मंकीपक्सको संक्रमण पुष्टि भई बिरामी भएका वा मरेका जनावरको सम्पर्कमा नजाने, संक्रमितको सम्पर्कमा आएका व्यक्तिले परीक्षण गराउने, संक्रमितको सम्पर्कमा आएको सतह स्थान वा कोठा डिटर्जेन्टले निःसंक्रमण गर्ने, मांसजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने, फोहोरलाई उचित स्थानमा व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.