|

विराटनगर : बालखैमा दिल बस्यो गौँथली

      नभागौँ त मनमा भो खुलदुली

      भागौँ भने बालविवाहको मुद्दा चलनी’

गीतका हरफ र प्रकाश विक (नाम परिवर्तन) को जीवन कहानी उस्तै—उस्तै भन्दा फरक नपर्दो हो।  उनलाई उमेर नपुगी विवाह गर्दा मुद्दा चल्छ भन्ने ज्ञानसमेत थिएन। त्यही अन्जान र अनभिज्ञताका कारण अहिले उनी दोषी ठहर भएका छन्।  

धनकुटाका २० वर्षीय जीवन र संखुवासभाकी १४ वर्षीया दुर्गा (नाम परिवर्तन) को ख्यालख्यालैमा माया बस्यो। दुर्गा कक्षा ७ मा अध्ययन गर्दै थिइन्। प्रकाश गाडी चालकको काम गर्थे। घरको जेठा छोरा बुवाआमा र भाइबहिनीको जिम्मेवारी कलिलो काँधमा बोकेर हिँडेका उनी किताब बोक्ने हात गाडीको ‘स्टेरिङ’ सम्हाल्न पुगे।

उनी त्यही आफूले सम्हालेको जिम्मेवारी पुरा गर्दै र कमजोर परिवारको भरथेग बनेको गाडी लिएर संखुवासभा पुग्ने गरेका थिए। यात्रुलाई गन्तव्यमा पुर्‍याउने जिम्मेवारीको क्रममा संखुवासभा पुगेको प्रकाश र दुर्गाको समान्य बोलचालबाट कलिलो उमेरमा झाँगिदै गरेको प्रेम विवाहमा परिणत भएको थियो।

सुखद दाम्पत्य जीवन र उज्ज्वल भविष्यको सपना सजाएर विवाह बन्धनमा बाँधिएका उनीहरू विवाह गरेको केही समयपछि वियोग र प्रशासनिक सजाय बेहोर्नुपर्छ भन्ने उनले सोचेको पनि थिएनन्। विवाह गरेको ११ महिनापछि उनको श्रीमतीको बुबाले दिएको जाहेरीका आधारमा पक्राउ परेका प्रकाश धनकुटा जिल्ला अदालतको आदेशमा पूर्पक्षका लागि बाल सुधार गृह विराटनगरमा छन्।

उनी बाल सुधार गृहमा आँउदा १८ वर्षका थिए। अहिले दुई वर्षदेखि सजाय काट्दै आइरहेका छन्।  ‘मैले मेरी श्रीमतीलाई अहिले नै विवाह नगरौँ भनेको थिएँ, उनीसँग जर्बजस्तीले विवाह गरियो ठिकै चलिरहेको थियो ११ महिनापछि उनको बुबाले मुद्दा हाल्दिनुभयो’,उनी भन्छन्, ‘नानी पनि जन्मेको छ। श्रीमती माइत गइन् रे। म यहाँ छु।’

त्यसो त उनलाई उमेर नपुगी विवाह गर्नु हुन्न भन्ने थाहा नै नभएको बताउँछन्।  श्रीमतीको बुवाले ससुराली घरमा बोलाउँदा आफ्नो घरको समस्याले बोलाएको समयमा जान नसक्दा रिसले मुद्दा हाल्दिएको उनले सुनाए।

प्रेम र सम्बन्धलाई आफन्तले नबुझ्दा सजाय बेहोर्नुपरेको बताउने उनी अदालतले १८ वर्षको सजाय तोकेको थियो तर घटेर १२ बनाइदिएकाले २ वर्ष बित्दै गर्दा झै १० वर्ष वर्ष सजाय जीवन काट्नुपर्ने उनी बताउँछन्।

जीवनको उर्जाशील उमेर सजायको भागेदार हुँदै बिताउनुपर्ने बाध्यता आइलागेको प्रकाशलाई आफू कुन कसुरमा सजाय बेहोरिरहेको छु भन्ने अझै भ्रम हो या यथार्थ भन्ने दोधारे प्रश्नले सताउने गरेको बताउँछन्। उनी भन्छन्,‘म यहाँ छु, नानीको बिजोग परिवारको जिम्मेवारी मेरो काँधमा थियो।’ अहिले सुधार गृहमा पाँच कक्षामा अध्ययन गर्दै गरेको प्रकाश सजाय बेहोरेर बाहिर निस्किएपछि के गर्ने भन्ने लक्ष्यविहीन रहेको सुनाउँछन्।

यस्तै, पाँचथरका नवीन तामाङ (नाम परिवर्तन) १६ वर्षको उमेरमा एउटै विद्यालयमा अध्ययन गर्ने १६ वर्षीया विमला (नाम परिवर्तन) सँग विवाह बन्धनमा बाँधिएका थिए।

विवाह गरेको भोलिपल्ट श्रीमतीको दिदीले जिल्ला प्रहरी कार्यालय पाँचथरमा दिएको जाहेरीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको थियो। सोहीअनुसार बाल विवाह र जबर्जस्ती करणीको अभियागमा जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि ४ वर्ष देखि बालसुधार गृहमा छन्।

११ कक्षामा अध्ययन गर्दै आएका उनी सजाय काटेर घर फर्किएपछि के गर्ने भन्ने सोच नै नभएको सुनाउँछन्। जीवनको उर्जाशिल उमेर र केही गरौँ भन्ने चाहना सुधारगृहको काँडेतार भित्रै बित्ने हुँदा पनि भविष्यको मार्ग चित्र कस्तो बन्ला भन्ने कल्पना नै नगरेको उनको अनुभव छ।

विवाह गरेपछि श्रीमतीसँग र परिवारसँग खुशी साट्न नपाई प्रहरी हिरासतमा दिन काट्दाका समय उनका लागि नमेटिने सम्झना बनेको छ।

‘एउटै स्कुलमा पढ्नेसँग माया बस्यो उनी १० मा पढ्थिन्। म ११ कक्षामा मैले नभागौँ त भनेको थिए तर विवाह गरिहाल्यो’, उनले भने,‘घरमा विवाहको खुशी राम्रोसँग बाँड्न नपाई मलाई भोलि पल्ट नै प्रहरीले पक्राउ गरेको थियो बाल विवाह गर्नु हुँदैन भन्ने थाहा थियो तर यस्तो सजाय पाइन्छ भन्ने थाहा थिएन।’

कथामा उल्लेखित प्रकाश र नबिन बाल सुधार गृहमा भेटिएका घटनाका प्रतिनिधि पात्र मात्रै हुन्। उनीहरू जस्तो धेरैले सानै उमेरमा प्रेममा परेर विवाह बन्धनमा बाँधिएपछि सुशी र जीवनको उर्जाशिल उमेर सुधारगृहको काँडेतार र चारकोठा भित्र तिलाञ्जली दिनुपर्ने अवस्था छ।

कतिको लक्ष्य, गन्तव्य त्यहीभित्र गुमनाम भएका भेटिन्छन् त कति परिवारको प्रेम र साथबाट वियोग हुँदा आँखाका डिलमा खस्न नसकेको आँशुभित्र नै लुकाउन बाध्य भएको भेटिन्छन्।

जनचेतनाको अभाव

धेरै जस्तो जनचेतना र अशिक्षाका कारण बल विवाह गर्ने गरेको सुधार गृहका प्रमुख मिलन चौहान बताउँछन्। उनले बालबालिकासँगै अभिभावकलाई समेत सचेतना मूलक कार्यक्रम प्रदान गर्नुपर्ने बताए। ‘धेरै जस्तो चेतनाको कमी र अशिक्षाका कमी पनि छन्। यस्तो केसमा यससँगै अभिभावकलाई समेत चेतनाको कार्यक्रम गराउन जरुरी छ’, उनले भने,‘कानुनी सजायतर्फ जाँदा दुवै पक्षका बालबालिकाको भविष्य डामाडोल हुने अवस्था सृजना हुन्छ यसले गर्दा सबै सचेत हुन जरुरी छ।’

बाल सुधार गृह मोरङको तथ्यांक अनुसार जर्बजस्ती करणीमा १०४ वटा मुद्दा रहेको छ, जसमा बाल विवाहमा एकजना छन्।

ऐन संशोधन गर्नुपर्छ

ऐन संशोधन नभएसम्म बालविवाह र जबर्जस्ती करणीको दोहोरो मुद्दा लाग्ने व्यवस्था भइरहने अधिवक्ता शंकर लिम्बू बताउँछन्।

उनी भन्छन्,‘यसमा ऐन नै संशोधन गर्नुपर्छ, संशोधन नगरेसम्म यस्तो भइरहन्छ।’ यो फौजदारी न्यायको त्रुटि रहेको बताउँदै उनले दुई वटा सजाय हुँदा ‘लाइफ ड्यामेज’ हुने बताउँछन् ।

‘अहिले बायलोजिकली कुरा उठाएको छ १८ वर्षमा परिपक्व हुन्छ भन्ने यसमा हेर्दा जानीजानी बाल विवाह गर्दा एउटा कुरा हुन्छ भन्ने छ’ उनले भने,‘एउटा सजाय पाएपछि त्यही मुद्दामा दोहोरो मुद्दा नलाग्ने गरी बनाउँदा कम हुनसक्छ ऐन नै संसोधन गर्नुपर्छ ऐन संसोधन नगरेसम्म यस्तो सजाय भइरहन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.