|

बाँके : बैजनाथ गाउँपालिका–४ पिपलडाँडाका सुनिता परियारको विवाह भएको १२ वर्ष भयो। छिन्चु माइती भएकी उनको बैजनाथ–४ का रामबहादुर थापासँग विवाह भएको थियो।

तर अहिलेसम्म उनको विवाह दर्ता भएको छैन। दुई छोरी र एक छोरा छन्। विवाह दर्ता नभएका कारण तीनैजनाको जन्मदर्ता भएको छैन।

विवाह भएदेखि श्रीमान् र घरपरिवारले हेलाँ गर्दै आएको सुनिताले बताइन्। ​सामान्यदेखि घरको पूजाआजा र अन्य काममा समेत विभेद गर्दै आएको उनीको भनाइ छ। ‘विवाह गरेको दिनदेखि अहिलेसम्म पीडाबाहेक कुनै दिन सुख आएन’, सुनिताले  भनिन् ‘अहिले घर न घाटको भएकी छु। श्रीमानलाई परिवारले अन्यत्र भगाएका छन्। छोराछोरीका लागि कसरी जोहो  टार्ने भन्ने पिर छ।’

सुनिता अहिले राँझास्थित दिदीसँग बस्दै आएकी छिन्। ‘श्रीमानले घर छाडेपछि म दिदीसँगै बस्दै आएकी छु’, उनले भनिन्, ‘मेरो त यस्तै हो। छोराछोरीको चिन्ताले सताउँछ।’ 

विवाह दर्ता, नागरिकता र बच्चाको जन्मदर्ता बनाउन घरपरिवारले कहिले पनि सहयोग नगरेको सुनिताले बताइन्। ‘वडा कार्यालय, इलाका प्रहरी कार्यालय कोहलपुर र बैजनाथ गाउँपालिका धाउँदाधाउँदै हरेश खाइसकेँ। कतैबाट आश्वासन आएन’, उनले भनिन्, ‘जहाँ जाँदा पनि श्रीमान् ल्याउन भन्छन्। सम्पर्कमै नभएको श्रीमान् कहाँबाट खोजेर ल्याउने।’

सुनिताका आमा विष्णु परियारले सानो उमेरमै मन पराएर अन्तरजातीय बिहे गर्दा छोरीले दुःख पाइरहेको पीडा सुनाइन्। ‘बिहे गरेदेखि नै छोरीको दुःख देखेर घरमा शान्तिको महसुस कहिल्यै भएन’, उनले भनिन्, ‘छोरीको पीडा देखेर उराठ लाग्छ। सधैँ चिन्ताले सताइरहन्छ। यसको विवाह दर्ता बन्यो र नातिनातिनीहरूको जन्मदर्ता बनेको हेर्न इच्छा छ।’

बैजनाथ–४ का वडासचिव तिलक खत्री नागरिकता र विवाह दर्ताका लागि श्रीमान् स्वयं उपस्थित हुनुपर्ने बताउँछन्। बालबच्चाको जन्मदर्ता बनाउन सचिवले नै बालबालिकाको आफन्त र गाउँ समाजलाई साक्षी राखेर बनाउन सकिने उनको भनाइ छ।

वडासचिव खत्रीका अनुसार रामबहादुर थापालाई वडा कार्यालयसम्म ल्याउने व्यवस्था गरेपछि आफूहरूले सबै प्रक्रिया पुर्‍याएर विवाह दर्ता र नागरिकता सिफारिसका साथै जन्मदर्ता बनाउन मद्दत गर्ने जानकारी गराए।
 
श्रीमान नभएको खण्डमा विवाह दर्ता र नागरिकताका लागि अदालतबाट नाता प्रमाणित कायम गरेको प्रमाणका आधारमा पनि बनाउन सकिने वडासचिव खत्रीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.