|

दाङ : गत जेठ १५ गते बारीमा रोपेको मकै नउम्रिएपछि दाङका किसान चिन्तित भएका छन्। शान्तिनगर गाउँपालिका-२ विष्णुपुरमा करिब साढे ४ बिघा बारीमा रोपेको मकै नजागेपछि किसानहरू चिन्तित भएका हुन्। राजकुमार नाम गरेको मकै रोपे पनि नजागेको किसानको भनाइ छ।

शान्तिनगरको चिराघाटमा रहेको अजिसा एग्रोभेटबाट ल्याएर मकै रोपेको उनीहरूको भनाइ छ। कृषक हुकुमी वलीका अनुसार गाउँका ९ जना किसानले ४० किलोग्राम राजकुमार नामको मकैको बीउ ल्याएका थिए।

गत जेठ १२ गते मकैको बीउ ल्याएर उनीहरूले १५ गते रोपेका थिए। बढीमा एक हप्तामा जाग्नुपर्ने मकै अहिलेसम्म नजागेको उनको भनाइ छ।

आफूले १६ कट्ठामा मकै रोपे पनि सबै बारी खाली रहेको उनले बताइन्। उनले भनिन्, ‘गत वर्ष यही मकै रोपेका थियौँ। राम्रो फलेको थियो। योपटक पनि यही रोप्दा यस्तो भयो ? हामी ९ घरले यही मकै रोपका हौँ। सबैको बारी खाली छ।’

प्रतिकिलोग्राम ४ सयका दरले आफूले ९ किलोग्राम मकैको बीउ किनेको समेत उनको भनाइ छ। उनका अनुसार गाउँमा अरूले त्यही समयमा रोपेका अन्य जातका मकै सबै जागेका छन्। आफूहरूले रोपेको मकै नजाग्दा चिन्ता लागेको उनले बताए। गतवर्ष मात्र उनले करिब ६० हजार रुपैयाँको राजकुमार मकै बिक्री गरेको समेत बताइन्।

उनले भनिन्, ‘माटोमा समस्या भए पनि एकजनाको जग्गामा होला। यहाँ त हामी ९ घरैमा यस्तो समस्या देखिनुमा मकैको बीउमा नै शंका लागेको हो। एकातिर हामी किसानले मल समयमा पाउँदैनौँ। अर्कातिर खेती गर्दा यस्तो अवस्था हुन्छ। हामी कसरी बाँच्ने ? बारीमा मकै जागेको छैन। धान रोप्नका लागि पानी परेको छैन। मल पनि एकदुई किलोग्रामको हिसाबले पाइन्छ।’

यस्तै आफूहरूको यस्तो समस्या भएपछि एग्रोभेटलाई जानकारी गराएपछि एग्रोभेटले गत जेठ २५ गते अलराउण्ड नामक अर्को मकैको बीउ दिएको समेत उनले बताइन्। उनले एग्रोभेटले हामीलाई अर्को कम्पनीको मकैको बीउ दिए पनि अब मकै रोप्ने सिजन गइसकेको बताइन्।

उनले भने, ‘हामीसँगै अरू छिमेकीले रोपेका मकै भरर जागेका छन्। हाम्रा बारीमा गन्दा पनि १५-२० वटा बोट मात्रै भेटिन्छन्। अहिलेसम्म राम्ररी पानी पनि परेको छैन। केही दिनसम्म लगातार पानी परेपछि मकै रोप्न पाइँदैन। फेरि रोपेको मकै जाग्छ भन्ने पनि केही ठेगान छैन। हामी किसानहरू राजकुमार मकैबाट पीडित भएका छौँ। हामीलाई उचित क्षतिपूर्ति चाहिन्छ।’

यस्तै उनले आफ्ना ससुराले पनि ११ कट्ठामा ६ किलो मकै रोपे पनि उस्तै अवस्था रहेको समेत खुलासा गरिन्। उनले मकैको बीउमा कुनै समस्या रहेको भए कम्पनीले किसानहरूलाई बिक्री गर्न नहुने समेत बताइन्।

गत वर्ष पनि यही मकै रोप्दा राम्रो फलेका कारण योपटक पनि यही मकै रोप्दा अहिले पछुतो लागेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.