|

विराटनगर : दिउँसो १२ बजे चर्किएको घाममा कोही छाता ओडेर त कोही कागजातका फाइलले अनुहार छेक्दै लामो ताँतीमा आफ्नो पालो कुरिहेको भीड थियो जिल्ला प्रशासन कार्यालय मोरङमा। त्यसो त सधैंभन्दा आज अर्थात सोमबार प्रशासन परिसरको माहोल नै भिन्नै रहेको अनुभूति गर्न सकिन्थ्यो।  

त्यही भीडमा नियाल्दै जाँदा भेटिएका अनुहारहरुमा अनेक खालका भाव झल्किएको अनुभूति छर्लङ्गै महसुस गर्न सकिन्थ्यो। सर्वोच्च अदालतमा परेको रिट टुंगो लागेसँगै जिल्ला प्रशासन कार्यालय मोरङले सोमबार जन्मको आधारमा नागरिकता प्राप्त गरेकाका सन्तानलाई नागरिकता वितरण सुरु गरेपछि नागरिकता लिनेको लामो लाइन देखिएको हो।

सोहीअनुसार नागरिकता लिने भीडमा भेटिएका मोरङ कटहरी-४ का २६ वर्षीय निरज कामतको हातमा नागरिकता परेसँगै मरिसकेको सपना फेरि जागृत भएको थियो। उनी भन्दै थिए, ‘जुन समयमा मैले नागरिकता पाउनुपर्ने थियो पाइनँ, ५ वर्षको संघर्षपछि बल्ल न्याय पाएको छु।’

प्रहरी बनेर आफ्नै देशवासीको सुरक्षा गर्ने उनको ठूलो सपना रहेछ तर नागरिकता नभएकै कारण सपनालाई तिलाञ्जली दिनुको विकल्प नरहेको उनले दुखेसो सुनाए।

‘मैले जुन समय नागरिकता पाउनुपर्ने थियो त्यो समयमा पाइनँ र मैले मेरो सपना गुमाएँ, भविष्य गुमाएँ। बल्ल पाँच वर्षपछि  न्याय पाएँ‚’ उनले हर्षित हुँदै सुनाए, ‘ २६ वर्षको भएँ, बिबिएस तेश्रो वर्षमा अध्ययन गर्दैछु। यो बेला प्रहरी जवानमा भर्ती हुने मेरो सपना थियो तर नागरिकता नभएर सपना त्यसै तुहियो।’

प्रहरी बन्ने सपना अधुरो भए पनि नेपाली नागरिक हुँ भन्नुमा नै गर्व रहेको बताउँदै उनले अब कुनै निजी कम्पनिमा रोजगारी गर्ने योजना रहेको सुनाए।

सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि माइतीघर मण्डलामा नागरिकताविहीन संघर्ष समितिले गरेको प्रदर्शनीमा उनले जेठ ३१ गते सर्वोच्च अदालत परिसरमा शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्न खोजेका थिए।

उनै कामतले लामो संघर्षपछि  जिल्ला प्रशासन कार्यालय मोरङबाट सोमबार नागरिकता प्राप्त गरेका हुन्।

२२ वर्षका रोहित जाजुले मोरङबाट सबैभन्दा पहिले नागरिकता प्राप्त गरेका थिए। नागरिकता पाउनासाथ राष्ट्रिय परिचयपत्र समेत बनाइहालेको उनले खुशी हुँदै सुनाए।

रोहितले नागरिकता पाउँदै गर्दा उनीमात्र खुशी  थिएनन्। उनीसँगै खुशी साट्न उनको बुवा र काकाकाकी पनि साथै जिल्ला प्रशासन कार्यालयमा थिए। विराटनगर-९ का रोहितले २२ वर्षको उमेरमा नागरिकता प्राप्त गर्दा उनका बुवा नन्दकिशोर जाजुको आँखा खुशीले रसाएको थियो।

उनी छोरालाई अंगालोमा बेर्दै भन्दै थिए, ‘मैले यही माटोमा २७/२८ जनालाई रोजगार दिएको छु, मेरो छोराले त्यसको डब्बललाई रोजगार दिन्छ।’

नागरिकता पाएसँगै नेपाली माटोमा नै छोराले केही गरोस् भन्ने सपना बुनेका नन्दकिशोरका लागि छोराले नागरिकता पाउनु नेपालमा अर्को उद्योगी उत्पादन गर्नु जस्तै रहेको सुनाउँछन्। पढाईका लागि विदेश पठाए पनि बाहिर देशबाट सिकेर आएको शिपलाई नेपालमा नै प्रयोगमा ल्याउन छोरालाई प्रेरित गराउने उनले बताए।

‘म आज एकदम खुशी छु, मेरो छोराले २२ वर्षको उमेरमा नागरिकता प्राप्त गरेको छ। मैले एउटा मिस्टेक गरें‚ नागरिकता रोज्दा जन्मसिद्ध रोजें, मैले लिनुपर्ने बंशजको नागरिकता थियो। मेरो मिस्टेकले गर्दा आजसम्म छोराले दुःख पायो‚’ उनले खुशी भरिएको स्वरमा भने, ‘उसलाई विदेश पढाउने रहर थियो पूरा भएको थिएन, नागरिकता पाएसँगै बल्ल सपना पूरा भयो। विदेश पढाएर त्यहाँको अनुभव नेपालमा प्रयोग गर्न प्रेरित गर्छु।’

त्यसो त नागरिकता नहुँदा रोहित विचलित नै बनेको थिए। आफ्नो नामको बैंक खाता नहुँदा, लाइसेन्स नहुँदा धेरै झमेला बेहोर्नुपरेको उनी सुनाउँछन्।

नागरिकता नपाएसम्म आफूलाई कुन देशले स्विकार्ने हो भन्ने प्रश्नले दैनिकजस्तो सताउने गरेको बताउँदै उनले भने, ‘अब नागरिकता पाएसँगै म पनि नेपाली भएँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.