|

दाङ : दंगीशरण गाउँपालिका– १ रामपुरका युवराज विष्टलाई खेतीपाती गर्नको लागि आकाशे पानीमा भर पर्नु पर्थ्यो।

घर अगाडि नै नदी भए पनि त्यहाँबाट पानी ल्याएर सिँचाइ गर्न सम्भव छैन। नदीको पानी ल्याएर सिँचाइ गर्न धेरै लगानी लाग्ने भएपछि उनी मात्र नभई त्यहाँका सबै स्थानीय आकाशे पानीको भर पर्नु पर्थ्यो। तर, गाउँको उत्तर भेगमा बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाले सिँचाइका लागि बागधैला कृत्रिम पोखरी बनाइ दिएपछि रामपुरका स्थानीयलाई खेतीपाती गर्न सहज भएको उनले बताए।  

ड्याम निर्माण भएपछि अहिले करिब ४०/५० बिगाहा जमिनमा सिँचाइ सुविधा पुगेको छ। ‘अहिले व्यक्तिले आफैँ पाइप किनेर  पानी लगेका छन्। अब बृहत् कार्यालयले गाउँसम्म पक्की नहर अर्को वर्ष बनाइदिने भएको छ। त्यो निर्माण भएपछि यहाँका सबै बासिन्दा लाभान्वित हुन्छन्’ उनले भने। उनका अनुसार गाउँमा नदी  भए पनि त्यहाँबाट पानी ल्याएर सिँचाइ गर्न सक्ने अवस्था थिएन। गाउँमा ड्याम निर्माण भएपछि मौसमअनुसारको खेती गर्न सहज हुने भन्दै किसान खुशी भएका छन्।

‘गत वर्ष पानी नपर्दा हामीले यही ड्यामको पानीले धान खेती गरेका थियौँ। अहिले पनि राम्रोसँग पानी परेको थिएन’, उनले भने, ‘गाउँमा सबैले धानखेती रोपेर सक्ने लागेका छन्। पानी नपर्दा पनि ड्याम जम्मा भएको पानीले गाउँका किसानहरूलाई खेती गर्न पुगेको छ। ’

यस्तै सोही ठाउँमा बृहत् सिँचाइ आयोजनाले अर्को  भरिया जलाशय बनाइदिएको छ। करिब ५० लाखको निर्माणमा सिँचाइका लागि ड्याम निर्माण भएपछि स्थानीय निमबहादुर खत्री खुशी भएका छन्। समयमै खेतीपाती गर्न सहज भएको समेत उनले बताए।

‘यहाँका सबै बासिन्दा खेती गर्न आकाशेपानीको भरमा बस्नु पर्थ्यो। तर, यहाँ अहिले  पानी पोखरी निर्माण भएपछि अहिले सिँचाइको सुविधा पुगेको छ’, उनले भने, ‘यहाँका धेरै जमिनमा अब खेती गर्न सहज हुने भएको छ। अहिले गनारमा यहीको पानी पुगेको छ। उता डबरा भन्ने ठाउँमा पुगेको छैन। त्यसका लागि यो पानी लिफ्टबाट लैजानु पर्छ। कार्यालयले अर्को वर्ष बनाइदिने भनेको छ। त्यो भयो, भने हामीलाई सिँचाइको लागि आकाशे पानीको भर पर्नु पर्दैन।’  उनका अनुसार पानीका कारणले धान, मकै मात्र खेती हुँदै आए पनि अब पोखरीको पानी गाउँमा पुग्न थालेपछि विभिन्न किसिमका तरकारी खेती गर्न पनि सकिन्छ।

यस्तै तुलसीपुर उपमहानगरपालिका १८ दुधरासस्थित पृथली कुइरे सोता जलाशय निर्माण भएको छ। अब त्यहाँ लिफ्टको काम भने बाँकी  छ। त्यसलाई  अर्को आर्थिक वर्षमा पूरा  गर्ने बृहत् दाङ सिँचाइ आयोजनाले जनाएको छ। अर्को वर्षसम्म त्यहाँका बाँझा  खेतमा सिँचाइ सेवा पुग्नेमा ढुक्क रहेको सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष खिमबहादुर  डाँगीले बताए। यो ड्यामले १.२७ हेक्टर जमिनमा  सिँचाइ  सुविधा पुग्ने बताइएको छ।  

जलाशयको सम्पूर्ण वितरण प्रणालीको समेत काम सम्पन्न भएपछि उपभोक्ताले बाह्रै महिना  सिँचाइ सुविधा पाउने अध्यक्ष डाँगीले बताए। ‘यो ड्यामबाट सिँचाइको लागि मात्र नभई पानीको सञ्चिति पनि बढाएको छ। जलचरहरूको बासस्थानसँगै विभिन्न जंगली जनावर र चराचुरुंगीले पनि पानीको प्यास मेटाउने गरेका छन्’, उनले भने।

यस्तै तुलसीपुर उपमहानगरपालिका  ८ मा  बृहत् दाङ सिँचाइ आयोजनाकै दुधेना टिकरी कुलो सतह सिँचाइ आयोजना शुरु भएको छ। सिँचाइ कुलो सतह सिँचाइ  योजना उपभोक्ता समितिका अध्यक्ष केशव सापकोटाका अनुसार यो आयोजना किसान लागि वरदान भएको छ। बाह्रै महिना किसानले थोरै भए पनि सिँचाइ सुविधा पाउनको उनको भनाइ छ। उनका अनुसार यो योजनाले १४०  हेक्टर जमिनमा सिँचाइ सेवा पुगेको छ। यसबाट ३०७ घरधुरी लाभान्वित भएका छन्।

त्यसैगरी तुलसीपुर उपमहानगरपालिका– १ मनकामना देवी स्थित जम्मु चिरा सिँचाइ जल उपभोक्ता समितिबाट पनि  सिँचाइ शुरु भएको छ। यसबाट ६० हेक्टर जमिनमा सिँचाइ सुविधा  पुग्नेछ।  १०५ घरधुरी  लाभान्वित हुने छन्।  यो आयोजनामा पनि लिफ्टको काम बाँकी छ।  स्थानीय गोकर्णलाल खत्रीका अनुसार गाउँमा एक चरणमा मात्र सिँचाइ हुने भए अब ड्यामको पानी प्रयोग गर्न पाए धेरै राहत पुग्ने छ।

‘तरकारी खेती, गहुँ, तोरी खेती गर्नलाई यो तलाउको पानीले गर्दा राम्रो हुने भयो। अहिलेसम्म हामीले  खोलाको वर्षमा एक पटक मात्र सिँचाइ गर्ने गरेका छौँ। यो पानी दुई ठाउँबाट वितरण गर्ने तयारी भइरहेको छ’, उनले भने। यस्तै उनले यहाँ पर्यटकीय स्थल बनाउने योजना रहेको समेत बताए। उनले  भने,‘ यहाँ नजिकै मन्दिर पनि रहेको छ। अब ठूला ताल पनि बनेको छ।  यसमा हामीले डुंगा चलाउने योजना बनाएका छौँ। सिँचाइ मात्र नभई यसलाई पर्यटकीयस्थल पनि बनाउन सकिन्छ।’

ड्यामले किसानको आयआर्जन बढाउँछ : वडाध्यक्ष सापकोटा

तुलसीपुर उपमहानगरपालिका १ का  वडाध्यक्ष हुमकान्त सापकोटाका अनुसार ड्याम निर्माण भएसँगै यहाँका किसानको आयआर्जन बढ्ने छ। सिँचाइका  कारण यहाँका किसानहरूले माटो अनुसारको आम्दानी गर्न नसकेको अवस्थामा अब ड्यामको पानीले धेरै राहत पुग्ने उनको भनाइ छ। ‘यहाँ सिँचाइको कठिनाइ एकदमै रहेको थियो। मेरो पहलमा बृहतले यहाँ ड्याम बनाइ दिएको हो’, उनले भने, ‘यो ड्याम निर्माण हुन लागेको दोस्रो वर्षको भयो। अब लिफ्टबाट पानी वितरण गर्न मात्र बाँकी छ। त्यसो भएमा यहाँ बाह्रै महिना पानी सिँचाइका लागि पुग्नेछ।’  

यसको पानी प्रयोग गर्दै यहाँका किसानले आयआर्जनका लागि बेमौसमी तरकारी तथा अन्य खेती गर्नेमा  आफू आशावादी रहेको समेत उनले बताए। यस्तै उनले सिँचाइ पानीको लागि व्यवस्था भए पनि अब यहाँका किसानलाई विभिन्न खेतीको लागि तामिल दिन आवश्यक रहेको जानकारी दिए।

३५ वटा कृत्रिम जलाशय बनाइयो  

दाङमा सिँचाइका कारण क्रमश: खेती योग्य जमिन घट्दै गएको अवस्थामा २०७३ साल मंसिर १२ गते जिल्लामा ५६ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्‍याउने  उद्देश्यले बृहत् दाङ उपत्यका सिँचाइ आयोजना स्थापना भएको थियो।  यो आयोजना २०७४/७५ सालदेखि जिल्लामा शुरु भएको आर्थिक वर्ष २०८३/८४ सम्म रहने अनुमान गरिएको छ, यसको कुल लागत ४० अर्ब  अनुमान गरिएको भए पनि आयोजनाको डीपीआर निर्माण कार्य चरणमै रहेको हुँदा पूरा हुन बाँकी रहेको कार्यालयले जनाएको छ। 

यस्तै जिल्लामा आयोजना शुरु भएदेखि यस आर्थिक वर्षको अहिलेसम्म जिल्लाका विभिन्न ठाउँमा ३५ वटा जलाशय निर्माण गरेको आयोजना प्रमुख विराट ज्ञवालीले बताए। घोराही उपमहानगर, शान्तिनगर र दंगीशरण गाउँपालिकामा जलाशय निर्माण भएको र यसको माग धेरै भएकाले जिल्लामा करिब २०० ठाउँमा साना जलाशय  निर्माण गर्न सकिने समेत उनले बताए। यस्तै यो चालु आर्थिक वर्षमा आठ जलाशय निर्माण भएको समेत उनले बताए। अहिलेसम्म जिल्लामा ६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको जानकारी उनले दिए। यो आर्थिक वर्षमा मात्रै करिब एक हजार हेक्टरमा पुगेको छ।

आयोजनाले ड्याम निर्माण मात्र नभइ बबई कोरिडोर तथा अन्य स्थानमा लिफ्ट सिँचाइ तथा भूमिगत सिँचाइ समेत बनाएको उनको भनाइ छ। उनका अनुसार बबई नदीको दायाँ बायाँ सिँचाइ अभाव  रहेका स्थानहरूमा लिफ्ट सिँचाइ प्रविधिबाट किसानको जमिनमा सिँचाइ पुर्‍याउने  लक्ष्य अनुसार हालसम्म २६ वटा लिफ्ट सिँचाइ आयोजना सम्पन्न भएका छन्। यस्तै २० वटा  निर्माणधीन अवस्थामा रहेको र १८ वटा लिफ्ट सिँचाइका लागि  डीपीआर तयार भएको समेत उनले बताए।

यस्तै भूमिगत सिँचाइ अन्तर्गत हालसम्म ४२ वटा डिप ट्युबबेल निर्माण भएका र १६ वटा निर्माणका लागि बोलपत्र आह्वान गरिएको समेत आयोजना प्रमुख ज्ञवालीको भनाइ छ। यस्तै जिल्लाको पहाडी भिरालो कृषियोग्य भूमिमा नयाँ प्रविधिको सिँचाइ प्रणाली विकास गर्ने उद्देश्यका साथ फोहरा सिँचाइ, थोपा, पाइप लाइन र पोखरी सिँचाइ हालसम्म ३६  वटा निर्माण भएको समेत उनले बताए।  अन्य जलाशयलाई पनि प्राप्त बजेटका आधारमा क्रमश: वितरण प्रणालीमा लैजाने उनको भनाइ छ।

कृत्रिम जलाशयमा डुबेर धेरैको ज्यान गएपछि अहिले आयोजनाले तारबार सहितको  निर्माण हुने गरेका छन्। आयोजनालाई  चालु आर्थिक वर्षमा करिब ३० करोड बजेट आएको थियो। तर, काम भने करिब ५० करोड बराबरको भएको समेत उनको भनाइ छ। यस्तै आयोजनामा आगामी आर्थिक वर्षका लागि जम्मा १८ करोड बजेट परेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.