गफमै सीमित सरकार, पानी ल्याउँदै बन्द गर्दै

|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार १३ गते प्रतिनिधिसभाका बैठकमा सरकारको ६ महिने रिपोर्ट कार्ड सदनमा प्रस्तुत गर्दै भनेका थिए, ‘मेलम्ची खानेपानी आयोजनाका आवश्यक संरचनाहरूको मर्मतसम्भार सम्पन्न भई बाह्रै महिना नियमित पानी वितरणको सुनिश्चितता गरिएको छ।’ 

उनले विभिन्न आयोजनामार्फत १ लाख ६६ हजार थप जनसंख्यालाई प्रशोधित खानेपानीको प्रत्याभूत गरिएको पनि बताएका थिए तर उनको यो अभिव्यक्तिको ७ दिनमै मेलम्ची खानेपानी ठप्प भएको छ। मेलम्ची खानेपानी विकास समितिले धमिलो पानी आएको भन्दै उपत्यकामा पानी पठाउन बन्द गरेको छ।

विकास समितिका सूचना अधिकारी राजेन्द्र पन्तले ४ दिनअघि नै मेलम्चीको पानी बन्द गरिएको जानकारी दिए। उनले धमिलो पानी आए पनि थिंग्र्याउने संरचना नभएकाले बन्द गरिएको बताए।

‘बाढीले गर्दा धेरै संरचनामा क्षति पुगेको छ, हामीले वैकल्पिक विधिबाट पाइप हालेर पानी पठाएका थियौँ, अहिले वर्षा लागेकाले धमिलो पानी आयो त्यही भएर बन्द गरेका हौँ,’ उनले भने।

उनका अनुसार धमिलो पानीमा बालुवा आउने गरेको छ। ‘हामीसँग धमिलो पानी शुद्धीकरणको लागि संरचना छैन, त्यही भएर बन्द गर्नुपर्ने बाध्यता नै लाग्यो,’ उनले भने। 

गफमै सीमित सरकार, पानी ल्याउँदै बन्द गर्दै

उपत्यकाभित्र पहिलो पटक मेलम्चीको पानी २०७७ चैत १५ गते वितरण थालिएको थियो। पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण भयो। तर ०७८ सालको असार र साउनमा मेलम्ची र इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुग्यो।

क्षति भएको ९ महिनापछि अर्थात् २०७९ वैशाख ११ गते अस्थायी रूपमा फेरि पानी काठमाडौं ल्याइयो। तर सरकारले पहिला जस्तो बाढीबाट क्षति हुन नदिन भन्दै २०७९ जेठ १७ गतेबाट मेलम्चीको पानी ल्याउन बन्द गर्‍याे।

बर्खा सकिए पनि सरकारले समयमा पानी ल्याउन सकेन। बन्द गरेको ६ महिनापछि मात्र मेलम्चीको पानी सरकारले काठमाडौं ल्यायो।

क्षति मर्मतपछि गत मंसिर २३ गतेदेखि पानी वितरण भएको थियो। फेरि मेलम्ची खानेपानी विकास समितिले यो वर्षामा पनि मेलम्चीको पानी ल्याउनको लागि संरचना मर्मतको काम गरिने भन्दै गत जेठ ५ गतेदेखि १५ गतेसम्म १० दिन बन्द गरेको थियो। उक्त संरचना मर्मतपछि पानी उपत्यकामा आयो।

विकास समितिले अब यो वर्षातभरि नै पानी आउने जनाएको थियो तर पुनः बन्द गरियो। सरकारले अब नियमित पानी आउने गफ दिए पनि दीर्घकालीन समस्या समाधान भने गर्न अझै सकेको छैन।

केयुकेएलका अनुसार उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ। जसकारण फेरि उपभोक्ताहरू पानीको सास्ती खेप्न बाध्य भए। 

पानी वितरणमा पनि बेथिति

मेलम्ची खानेपानी उपत्यकामा आउँदा पनि वितरणमा बेथिति देखिएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) बानेश्वर शाखाले असार १२ गतेदेखि नै मेलम्चीको पानी वितरण गरेन।

उक्त शाखाले ‘दुःखद सूचना’ भन्दै एउटा सूचना जारी गर्‍यो। जसमा भनिएको छ, ‘मेलम्चीको पानी उपलब्ध नभएको र बोडे सिस्टमबाट पनि मीनभवन ट्यांकीमा पानी उपलब्ध नभएको हुँदा मीनभवन ट्यांकीबाट वितरण हुने क्षेत्रहरूमा र मेलम्चीको नयाँ धाराबाट वितरण हुँदै आएको क्षेत्रहरूमा केही दिन खानेपानी वितरण गर्न नसकिने व्यहोरा सम्बन्धित उपभोक्ताहरूको जानकारीका लागि अनुरोध छ।’

यद्दपि विकास समितिका अनुसार उक्त समयसम्म मेलम्चीको पानी नियमित आएको थियो तर वितरण गरिएन। उक्त सूचनापछि हालसम्म पनि पानी दिएको छैन। यही कारण केयुकेयल र ट्यांकर व्यवसायीको मिलेमतो छ कि भन्ने आशंका उत्पन्न भएको छ। 

मेलम्ची पानी नआउँदा ट्यांकर व्यवसायीलाई फाइदा

मेलम्ची खानेपानी नआउँदा ट्यांकर व्यवसायीहरूलाई फाइदा पुगेको छ। काठमाडौं उपत्यका ट्यांकर तथा बोरिङ व्यवसायी संघका अध्यक्ष हरि कँडेलले मेलम्चीको पानी बन्द हुँदा धेरै नै ट्यांकरको पानीको माग बढ्ने गरेको बताए।

उनका अनुसार मेलम्ची पानी आउँदा ट्यांकर पानीको माग घटेर ५० प्रतिशत झर्छ। पानी नआएको बेला ट्यांकरको पानीमा माग ७५ प्रतिशत पुग्यो।

अहिले वर्षातको सिजन छ। धेरैले वर्षातकै पानी उपयोग गर्ने गरेकाले अहिले कम अर्थात ५० प्रतिशतसम्म माग ट्यांकरको रहेको संघका अध्यक्ष कँडेलले जानकारी दिए।

ट्यांकर व्यावसायीहरूको मिलेमतोमा मेलम्चीको पानी बन्द गरिएको आरोप लाग्ने गरेको छ।

बाहिर सर्वसाधारणहरूले पनि त्यही तर्क राख्ने गरेका छन् तर यो आरोप नै गैरजिम्मेवार रहेको संघका अध्यक्ष कँडेलले दाबी गरे।

‘त्यस्तो कुरा गैरजिम्मेवार हो, पानी रोक्नेमा कुनै हात छैन, हामी त मेलम्ची खानेपानी आउनुपर्छ भन्नेमा छौँ, उपत्यकावासीको पानीको मुख्या आधार नै मेलम्ची हो, पानी आउँदा खुसी हुन्छौँ,’ उनले भने।

उनले मेलम्ची पानी आउँदा पनि नआउँदा पनि ट्यांकरबाट पानी वितरण गर्ने काम नरोकिएको बताए।

‘मेलम्ची पानीको भर छैन, त्यही भएर उपभोक्ताहरूले ट्यांकरको पानी मगाएर राख्ने गर्छन्,’ उनले भने। विकास समितिका सूचना अधिकारी पन्तले पनि त्यस्तो कुनै मिलेमतो नरहेको दाबी गरे।

‘सरकारले संरचना निर्माण नगरेसम्म दीर्घकालीन रूपले पानी आउँदैन’

पूर्व खानेपानी मन्त्री एंव नेकपा एमालेका नेता मणि थापाले आयोजनामा बाढीले धेरै क्षति पुर्‍याएकाे र यसका लागि राज्यले संरचना निर्माण गरेमात्रै बाह्रै महिना उपत्यकामा पानी आउने बताए। तर संरचना निर्माणमा सरकारले चासो नदेखाएको उनको भनाइ छ।

‘बाढीले हेडवर्क्समा धेरै क्षति पुगेको छ, म मन्त्री हुँदा पनि पटक पटक त्यहाँको स्थलगत अनुगमन गरेको छु, यसमा सामान्य ढंगले संरचना निर्माण हुँदैन, धेरै खर्च लाग्छ, यसमा सरकारले गम्भीर रूपले लाग्नुपर्छ,’ उनले भने।

यसको दीर्घकालीन समस्या समाधान गरेमात्रै उपत्यकावासीले नियमित पानी उपभोग गर्न पाउने उनको भनाइ छ। त्यहाँको क्षति संरचनाको निर्माण नगरी बाह्रै महिना पानी आउने भन्दै गफमात्रै दिएर यसको समाधान नहुने उनले बताए।  

सङ्लो पानी आए पुनः पठाउँछौँ : विकास समिति

मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी पन्तले पानी सङ्लो आएमा पुनः उपत्यकामा पठाउने जानकारी दिए। उनले यति समयको लागि भनेर पानी बन्द नगरिने बताए।

‘सङ्लो पानी आएमा पुन: उपत्यकामा पठाइहाल्छौँ, यति समय बन्द गर्ने भन्ने समय तोकिएको छैन,’ उनले भने। मेलम्चीको पानी नआएपछि अहिले केयुकेयलले ६ दिनसम्म बिराएर पानी वितरण गर्नेगरि तालिका नै सार्वजनिक गरेको छ।

(याे पनि )



तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.